गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा १ सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी ५ सय ३६ जना घाइते भएका छन् । जम्मा ३ सय ९ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उनले जानकारी दिए ।
उनका अनुसार २ सय ७ मोटरसाइकल, ५० जिप/कार, ४० ट्रयाक्टर, २४ बस, १७ टेम्पो, १९ ट्रक/ट्याङ्कर, ९ टिपर, सात माइक्रो, तीनवटा डोजर र ३० अन्य सवारी साधन गरी ४ सय ६ वटा सवारी साधन दुर्घटना भएका थिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
गत आवमा ६ हजार ६ सय २६ वटा जनचेतनामूलक कार्यक्रम गरेको तथा उक्त कार्यक्रमबाट ३ लाख ८९ हजार २ सय ६६ जना लाभान्वित भएका छन् । गत आवमै ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजार ४ सय ७९ जना सवारी चालक कारबाहीमा परेको र उक्त कारबाहीबाट ४ करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।
‘मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले बढी दुर्घटना हुने गरेको पाइएको छ’, उनले भने, ‘अघिल्लो वर्षको तुलनामा नियम उल्लङ्घन गर्नेको सङ्ख्या घटेको छ । दुर्घटनाको सङ्ख्या भने घट्न सकेको छैन । ज्यान गुमाउनेको सङ्ख्या घटेको छ ।’
आर्थिक वर्ष २०७९/८० मा २ सय ५५ सवारी दुर्घटना हुँदा १ सय ७७ जनाको मृत्यु भएको थियो । सो आवमा सामान्य र गम्भीर गरी ४ सय ७३ जना घाइते भएका थिए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख १२ हजार ६ सय ५५ सवारी चालक कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट ६ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको थियो । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।