logo-img

सिङ्गापुर र अमेरिकाबीच गैर-सैनिक परमाणु ऊर्जा सहयोग सम्झौतामा हस्ताक्षर

संयुक्त राज्य अमेरिका र सिङ्गापुरले बुधबार परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेको छ ।  

एसियाको भ्रमणको क्रममा वासिङ्टनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनको सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैर–सैनिक परमाणु उर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।

‘यो सम्झौता संयुक्त राज्य अमेरिका र सिङ्गापुरबीच लामो समयदेखि रहेको सहकार्यमा आधारित छ । यसले आपसी प्रतिबद्धतामा आधारित शान्तिपूर्ण गैरसैनिक परमाणु उर्जा सहयोगका लागि गहिरो सम्बन्ध बनाउने विस्तृत ढाँचाको रूपरेखा बनाउँछ,’ सम्झौतापछि दुवै देशका प्रतिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

क्षेत्रीय वित्तीय केन्द्र र विश्वव्यापी सेमिकन्डक्टर उद्योगको एक प्रमुख उत्पादक सिङ्गापुर हाल तेल र प्राकृतिक ग्यासमा भने निर्भर छ ।  यसले सन् २०५०  सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न परमाणु उर्जासहितका विकल्पहरूको अध्ययन गरिरहेको छ ।

अमेरिकी संसदले समीक्षा गरेपछि सन् २०२४ को अन्त्यसम्ममा यो सम्झौता लागु हुने अपेक्षा गरिएको छ । 

‘यो सम्झौता ३० वर्षसम्म चल्नेछ र सिङ्गापुरलाई अमेरिकी ऊर्जा प्रविधि र निर्यात नियन्त्रणमा रहेको विशेषज्ञताबारे विस्तृत जानकारीको पहुँचमा सहजीकरण गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।   



वासिङ्टनले चीन, इन्डोनेसिया, फिलिपिन्स र भियतनामलगायत २२ वटा देशका साथै युरोपेली आणविक ऊर्जा समुदाय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी गरी दुई संस्थाहरूसँग सक्रिय ‘१२३ सम्झौता’ गरेको छ ।   



  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया