कुञ्ज नाटक घरमा अहिले गुरुप्रसाद मैनालीद्वारा लिखित कथामा आधारित नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ । सबै खाले दर्शकलाई हुने गरी तयार गरिएको नाटक ‘कर्तव्य’ साउन ८ गतेबाट प्रदर्शन सुरु भएको हो । यो नाटक २३ गतेसम्म चल्नेछ ।
कक्षा दशको नेपाली विषयको पाठ्यक्रममा समेत समावेश यस कथालाई शिल्पशाला इन्टरनेशनलले निर्माण गरेको हो । पाठ्यक्रममा समावेश कथाको नाट्य रूपान्तरण भएकाले कथालाई लाइभ दृश्यमा हेरेर बुझ्न र कथाको थप व्याख्या विश्लेषण गर्न विद्यार्थी वर्गका लागी नाटक अति उपयोगी हुनेछ भने अन्य उमेर समूहका सबै दर्शकहरूले पनि सपरिवार नाटक हेरेर तत्कालीन नेपालको यथार्थ सामाजीक, आर्थिक, राजनैतिक, सांस्कृतिक र शैक्षिक परिवेश बुझ्न सहायक सिद्ध हुने विश्वास निर्माण पक्षले लिएको छ ।
साउन ८ गतेबाट मञ्चन भइरहेको नाटक कर्तव्य को नियमित प्रदर्शन हरेक बिहीबार , शुक्रबार, शनिबार र आइतबार साँझ ५:३० बजे भइरहेको छ भने शनिबार दिनको १:३० बजे अतिरिक्त प्रदर्शन पनि भइरहेको छ। साथै अन्य समयमा विद्यालयको सहज समयमा बुकिङ सोहरू प्रदर्शन गर्ने गरिएको छ ।
नाटक हेरिसकेपछि विद्यार्थी र अन्य उमेर समूहका सबै दशकले उत्साहित हुँदै नाटकको कथावस्तु , कलाकारहरूले निर्वाह गरेको भूमिका र अभिनयले नाटक एकदमै राम्रो र जीवन्त बनेको प्रतिक्रिया पाइरहेको छ । आगामी साउन २३ गतेसम्म कुञ्ज नाटक घरमा नाटक प्रदर्शन हुने छ ।
गुरुप्रसाद मैनाली नेपाली साहित्य मा चिरपरिचित नाम हो । तत्कालीन समयमा देश समाजका कुलिन र उच्च वर्गको समाज र शासन व्यवस्था मा मात्र होइन साहित्य मा पनि वर्चस्व थियो । समाजका निम्न तथा मध्यम वर्गका मानिसहरू को कथा व्यथाहरूले साहित्यमा उति स्थान पाउन नसकिरहेको बेला त्यस आवश्यकता को पूर्ति गर्ने काम गोपालप्रसाद मैनालीले आफ्नो कथा लेखन मार्फत गरे ।
उनले तत्कालीन परिवेशमा सामान्य र दूर दराज गाउँघर र समाजका सामान्य मानिसहरूका सामान्य जनजीवनका घटनाहरूलाई उनीहरूकै भाषा शैली , बोली, लबज र उखान टुक्का हरूको प्रयोग गरेर कथा लेख्न सुरु गरे ।
मैनालीको यस प्रकारको लेखन लाई पाठकहरू मन पराए । नेपाली साहित्यका पाठकहरूले नयाँ स्वादका कथा पढ्न पाए । यसै कारण मैनाली नेपाली भाषाका आधुनिक कथाकारका रूपमा नेपाली साहित्य तथा पाठकबर्गमा सधैँ अमर छन् ।
उनले सीमित कथा लेखेका छन् । उनले लेखेका सहिद , परालको आगो , कर्तव्य, लगायत अन्य कथाहरू उनको कथासङ्ग्रहमा नासोमा सङ्गृहीत छन्। सामाजिक यथार्थ मा आधारित भएर समाज सुधार, राष्ट्रियता र मानवतावादी दृष्टिकोणबाट आदर्श उन्मुख समाज निर्माणको परिकल्पना जस्ता विशेषताका कारण मैनालीका कथाहरू विशिष्ट बनेका छन् । सायद यसै कारण होला उनका कथाहरू विद्यालय देखि विश्वविद्यालय सम्मका पाठ्यक्रम मा समावेश गरी पठनपाठन गर्ने गरिएको छ ।
यस्तै सामाजिक यथार्थवादी घटनामा आधारित चर्चित मैनालीको कथा हो कर्तव्य । यस कथामा एकै बाबुआमाका दुई दाजुभाइलाई दुई विपरीत सिद्धान्तको प्रतिनिधि पात्रको रूपमा उभ्याएर उनीहरू बिचको द्वन्द्वको माध्यमबाट तत्कालीन समयको नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक लगायत सबै पक्षलाई देखाउन खोजेका छन् । कथाका मुख्य पात्रका रूपमा गंगाधर मुखियाका दुई छोराहरू मुरली धर पण्डित र श्रीधर शर्मा छन् । दाजुभाइ बिच द्वन्द्व को मुख्य कारणको रूपमा बाबु को देहावसान पछि जीउनिको जग्गालाई लिएर भए पनि यहाँ दाजुले परम्परागत संस्कार र संस्कृति, मान मर्यादा , नैतिकता, कुल खानदान को इज्जत जस्ता सिद्धान्त का आधारमा पुरानो पुस्ताको प्रतिनिधित्व गर्छन् भने भाइ श्रीधर ले ऐन, कानुन, नित नियम, नयाँ सोच, परिवर्तन आदीका आधारमा प्रगतिशील र नयाँ पुस्ताको प्रतिनिधित्व गर्छ।
जग्गाको अंशबन्डा ,जीउनीको जग्गालाई लिएर दाजुभाइ बिच हुने झैझगडा र विवाद तत्कालीन नेपाली समाजको एक यथार्थ हो । दुई पुस्ताबिच हुने वैचारिक द्वन्द्व त हरेक समाजको प्रत्येक समयको वास्तविक चरित्र नै हो । कर्तव्य कथामा पनि जीउनीको जग्गा लाई लिएर सुरु भएको दाजुभाइको द्वन्द्वलाई दाजुले बाबुको बचन , धर्म नैतिकता,मर्यादा कुल खानदानको इज्जतको रक्षाको विषय बनाउँछन् । अर्को तर्फ भाइले यसलाई ऐन कानुन, परिवर्तन र प्रगतिशील विचारधारा का आधारमा दाजुसँग संघर्ष गर्छन् ।
कथामा द्वन्द्व समाधानका खातिर मैनालीले परिवर्तन अवश्यम्भावी भए पनि परिवर्तनको नाममा हुने विकृति, बिसंगती, उरन्ठेउला, उच्छृङ्खल र उत्ताउला गतिविधि गलतै हुन्छन् । नयाँ पुस्तामा नयाँ सोच आउनु स्वाभाविक भए पनि यसैका आधारमा पुरानो रीतिथिति चटक्कै बिर्सेर , पुरानो र अनुभवी पुस्ताको मान मर्दन गर्नु, अपमान गर्नु , सामान्य मानवीय नैतिकतालाई नै तिलाञ्जलि दिएर उद्दण्डता र असामाजिक कार्य गर्नुले परिवर्तन स्थायी नहुने बरु समाज विकृति र विसङ्गति तर्फ अगाडि बढ्ने भएकाले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको नवीन सोच सँगसँगै चल्न सके एक आदर्शवादी समाजको निर्माण गर्न सकिने तर्फ संकेत गरेका छन् ।
जतिसुकै मतभिन्नता भए पनि, झैझगडा नै भए पनि हामी मानव सामाजिक प्राणी भएकाले अज्ञानी पशुभन्दा माथि उठेर आफ्नो विवेकको प्रयोग गर्दै कम्तीमा पनि मानवीय कर्तव्य निभाउनुपर्छ। मानवीय कर्तव्य निभाउन कसैको अनुमति या जोर जबरजस्ती आवश्यक पर्दैन । यसका लागी मानिसले आफ्नो विवेकको ढक्कन खोलेर बेलाबखतमा उचित निर्णय गर्न सक्ने क्षमता राख्न सक्नुपर्छ भन्ने कुरालाई कथाले विशेष जोड दिएको छ । परिआउँदा परिवार नै चाहिन्छ । भाइलाई दाजु चाहिन्छ । दाजुभाइ भाइ नै चाहिन्छ । एक आपसमा जति नै ठुलो द्वन्द्व भए पनि एक व्यक्ति को रूपमा, परिवार वा समाजको सदस्यका रूपमा हरेकका केही कर्तव्य हुन्छन्, र परिआउँदा मानव ले आफ्ना यस्ता कर्तव्य पुरा गर्न चुक्नु हुँदैन भन्ने सन्देश दिएर कथाको अन्त्य हुन्छ ।
अधिकारका लागी लड्नु सबैको लागी जति स्वाभाविक लाग्छ आफ्नो कर्तव्य पूर्तिका लागी अग्रसर हुनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । नयाँ सोच , परिवर्तन, अधिकार प्रति जागरूक र विद्रोही चेतले ब्यतिलाइ प्रगतिवादी त बनाउला तर परिवार समाज देशमा अपनत्व, भ्रातृत्व, बचनबद्धता, नैतिकता, मर्यादा भएन भने हामी सामान्य मानवीयता लाई पनि न्याय गर्न सक्दैनौ । त्यस कारण अनुभव र नयाँ सोच सँगसँगै हिँडेमा मात्र हामी आदर्श परिवार, वा आदर्श समाज कायम गर्न सक्छौ भन्ने नै यस कथाको निचोड रहेको छ ।
दुई पुस्ताबिच हुने वैचारिक द्वन्द्व आजको पनि यथार्थ हो । यस नाटकमा रङ्गमञ्चमा लागेका कलाकारहरूले आफ्नो जीवन्त अभिनयमार्फत कथाको बिषयबस्तुलाइ दर्शक सामु प्रस्तुत गर्ने हुँदा कथाले दिन खोजेको सन्देश विद्यार्थी ले सजिलै बुझ्न र यसका प्रभावहरू न्यूनीकरण गर्ने सोचको विकास गर्न पनि नाटक सफल छ।
नेपाली रङ्गमञ्चमा नयाँ पुस्ता लाई जोड्न, नाटक लेखन ,अभिनयमा नयाँ पुस्ता लाई उत्प्रेरित गर्न पनि विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई विशेष ध्यानमा राखेर यो नाटक निर्माण गरिएको छ ।
तत्कालीन नेपाली समयको र आजको पनि नेपाली समाजसँग मिल्दोजुल्दो यथार्थ सामाजिक बिषयलाइ टपक्क टिपेर गुरुप्रसाद मैनालीले लेखेको यसै कर्तव्य कथामा आधारित नाटक कर्तव्य यति बेला कुञ्ज नाटक घर थापा गाऊँ बानेश्वरमा साउन ८ गतेबाट नियमित मञ्चन मञ्चन भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।