logo-img

सन्दीप-दीपेन्द्रआबद्ध भ्यानकुभरको चौथो हार, सेमिफाइनल सम्भावना कठिन

क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी–२० मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीसम्मिलित भ्यानकुभर नाइट्सले लगातार चौथो हार बेहोरेको छ । चौथो हार बेहोर्नेक्रममा भ्यानकुभर बिहीबार बिहान सम्पन्न खेलमा ब्राम्पटन वल्भ्सविरुद्ध ६ विकेटले पराजित भयो । 

यो हारपछि भ्यानकुभरको सेमिफाइनल सम्भावना निकै कठिन बनेको छ । उसले अब बाँकी तीनवटै खेल जिते पनि सेमिफाइनलको टिकट हात पार्ने सम्भावना न्यून छ ।

भ्यानकुभरसँगको जितपछि ब्राम्पटनको सेमिफाइनल सम्भावना भने जीवितै छ । आफ्नो चौथो खेलमा भ्यानकुभरले दिएको १ सय ५० रनको लक्ष्य ब्राम्पटनले १८.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।  उसका लागि बेउ वेबस्टारले ३७ बलमा तीन छक्का र दुई चैकासहित सर्वाधिक ४९ रन बनाए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनायो । उसका लागि अविजित रहेका रिची बेरिङ्टनले ३८ र आसिफ अलीले ३६ रन बनाए । 

यस्तै, रीजा हेन्ड्रिक्सले २७, मुनिर अहमदले २१ र कप्तान उश्मान ख्वाजाले १७ रन जोडे । ब्राम्पटनविरुद्ध दीपेन्द्र सिंह ऐरीले भने ब्याटिङको मौका पाएनन् । ब्राम्पटनविरुद्ध उनले बलिङमा भने मौका पाए ।  उनले यस खेलमा ४ ओभरमा बिनाविकेट १८ रन दिए  

ब्राम्पटनविरुद्ध सन्दीपले तीन ओभरमा ३९ रन खर्चिएर एक विकेट लिए । जारी संस्करणमा उनले चार म्याच खेल्दा ५ विकेट लिएका छन् । उनले पहिलो र तेस्रोमा एक/एक तथा दोस्रो खेलमा दुई विकेट लिएका थिए । 



हालसम्म सन्दीपले ग्लोबल टी–२० को इतिहासमा २१ खेलमा २८ विकेट लिएका छन् । जारी सिजनमा उनी र दीपेन्द्रआवद्ध भ्यानकुभरले पाचौं खेल शनिबार बिहान खेल्ने तालिका छ ।

यस्तै, नेपाली कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरन्टो नेसनल्सले पाचौं खेलमा बिहीबार राति मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ ।



  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया