logo-img

जब विद्यालय सहयोगीले प्रधानाध्यापक र लेखापालको कीर्ते दस्तखत गरी चार लाख झिके...
फाइल तस्बिर

झापा, १७ साउन : काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार रुपैयाँ झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो ।

विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनाधिकृत रुपमा रकम निकाल्ने गरेको खुलेको छ । घटनानारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिए । 

प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए । बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गते यता एक वर्षमा २० पटक कीर्ते हस्ताक्षर गरेर रकम निकाले खुलेको छ । मल्लिकले प्रधानाध्यापक र लेखापाल दुवैको कीर्ते हस्ताक्षर गरेको पाइएको जनाइएको छ । 

मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नामा अनधिकृत रुपमा चेक काट्ने गरेका थिए ।  





  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया