logo-img

अध्यक्ष लिङदेनले हेर्दै छन् गणित र राष्ट्रिय राजनीति, के राप्रपा सरकारमा जान लागेको हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभागी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने/नजाने निर्णय गर्नुपर्ने बताएका छन् । 

बिहीबार जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गरेर निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने भन्दै व्यक्तिगत चाहनाले निर्णय हुने विषय नभएको बताए । 

उनले भने, ‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितिले निर्धारण गर्छ । हाम्रो चाहनाले मात्र हुँदैन । गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेर्दा सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ । व्यक्तिगत चाहनाले मात्र अथवा अरू कसैको चाहनाले निर्णय हुने विषय होइन । त्यस कारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन ।’

यस्तै, उनले कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उनले संविधानको आधारभूत मान्यतामा एकमत नभए पनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताए । 

उनले भने, ‘प्रदेश सभामा सहभागी भएपछि अथवा खास गरी सभामुखका रूपमा सहभागी भएपछि जिल्ला अध्यक्षहरू समक्ष स्पष्ट भन्छु खास गरी कोशी प्रदेशमा सभामुखमा हाम्रो सहभागिता भयो, तत्काललाई सहभागी हुनुहुन्न भन्ने पक्षमा नै थिएँ । त्यही कुरा निर्देशन पनि दिएको थिए तर विदेशमा भएको बेला साथीहरू सहभागी हुनुभयो । संविधानको आधारभूत मान्यतामा पनि एकमत छैन । तर सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएका छौँ । सरकारमा पनि त्यही आवश्यकता अनुसार सहभागी हुन्छौ र ठिक लागेन भने बाहिर हुन्छौ ।’ 





  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया