logo-img

देशभर हैजा र डेंगु संक्रमण तीव्र, सचेत रहन चिकित्सकको सुझाब

देशभर मौसम बदली भएसँगै डेंगु संक्रमण र हैजाका बिरामी बढेका छन् ।  मनसुनजन्य रोगका कारण जनजीवन आक्रान्त बनेको छ । यतिखेर काठमाडौं उपत्यका हैजा र डेंगु संक्रमणको चपेटामा पर्ने जोखिम बढ्दै गइरहेको छ । 

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार सन् २०२४ जनवरीयता जुलाई २९ सम्म देशभर डेंगु संक्रमितको संख्या दुई हजार ६१ जना पुगिसकेको छ । सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा छन् ।

काठमाडौंमा दुई सय ४९, ललितपुरमा २९ र भक्तपुरमा ३८ जना गरी हाल काठमाडौं उपत्यकामा तीन सय १६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो तीन सातायता संक्रमितको संख्या ह्वात्तै बढेको हो । डेंगु संक्रमितको संख्या बढ्दै गएको यो समयमा उपत्यकाका ठाउँ–ठाउँमा हैजाका बिरामी पनि भेटिएका छन् । पछिल्लो एक सातामा मुलुकभरका तीन जिल्लामा हैजा पुष्टि भएको छ ।

पहिलोपटक ८ साउनमा ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित थैबको एक पुनस्र्थापना केन्द्रमा एकजना हैजाका बिरामी भेटिएकोमा केही दिनमै सातजना पुगे । त्यसपछि कैलालीमा तीनजनामा देखिएकोमा आइतबार मात्रै काठमाडौंको कालिमाटीमा थप तीनजनामा हैजा संक्रमण पुष्टि भएको थियो । 

‘आइतबार मात्रै कालिमाटी क्षेत्रमा बसोबास गर्ने तीनजनामा गम्भीर खालको झाडापखाला देखिएपछि उपचारका लागि अस्पताल आउनुभएको थियो । हैजाको लक्षण देखिएपछि परीक्षण गर्दा पुष्टि भयो । अहिले उहाँहरूको टेकु अस्पतालमा उपचार भइरहेको छ’, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशषेज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 



केही सातायता हैजाका बिरामीको संख्यामा वृद्धि भएको छ । हाल देशभर हैजाका बिरामी २२ जना पुगिसकेका छन् । यति मात्रै होइन, इडिसिसीका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार ललितपुरकै चापागाउँ क्षेत्रमा पनि हैजाका शंकास्पद बिरामी भेटिएका छन् । उनीहरूको हाल नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

सतर्क रहन मन्त्रालयको अपिल



हैजाका बिरामी देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भए पनि उमालेर पिउन आग्रह गरेको छ । हैजाका बिरामी २२ जनामध्ये सबैभन्दा बढी ललितपुरमा १४ जनामा हैजाको संक्रमण देखिएको इडिसिडीको रिपोर्टमा उल्लेख छ । यसैगरी, ललितपुरपछि कैलालीमा सातजनामा हैजाको संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शीघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरेका हुन् ।

डा. बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ । यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगढीमा पनि हैजा संक्रमित भेटिएका छन् । खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाइमा प्रायः सबै सजग रहे पनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वधारलाई हानी पुर्याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ ।

‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित पातलो चौलानी पानीजस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन् । डा. बुढाथोकीका अनुसार हैजाको जीवाणुबाट संक्रमित भएकाहरूले समयमा नै उचित स्वास्थ्योपचार नपाएमा मृत्यु हुने जोखिम उच्च रहेको छ । 

‘हैजा भनेको सामान्य झाडापखालाजस्तो होइन । तुरुन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मुत्युदर हुन्छ,’ उनले भने, ‘हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण नहुने, तर उनीहरूको दिसामा संक्रमित भएको १० दिनसम्म हैजाको जीवाणु हुनसक्ने भएकाले त्यस्ता संक्रमितले अरूलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ ।’

उनका अनुसार हैजा संक्रमितको दिसाले पानीको स्रोत प्रदूषित गरेको खण्डमा यसले ठूलो महामारीको रूप लिन सक्ने जोखिम रहेकाले मन्त्रालयले सजगता अपनाउन आग्रह गरेको हो ।

डा. बुढाथोकीका अनुसार देशका अन्य स्थानबाट पनि हैजा संक्रमित भेटिएको खबर आए पनि त्यो र्यापिड किटको परीक्षणमा मात्रै देखिएको र प्रयोगशालामा कल्चर गरेर हेर्दा ‘भिब्रियो कोलेरा’ नभेटिएको समेत जनाए । एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो र सजिलै सर्नुका साथै मानिसको मृत्युसमेत हुने हुँदा हैजाको एउटै केसलाई पनि जनस्वास्थ्यका हिसाबले महामारीसरह मानिन्छ । 

हैजा मात्रै होइन, यतिखेर काठमाडौंमा झाडापखालाका बिरामी पनि बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल अस्पतालका अनुसार अस्पतालको ओपिडीमा दैनिक २५ जनाभन्दा बढी झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हैजा एक गम्भीर प्रकारको झाडापखाला भएको र यसले बिरामीमा छोटो समयमा नै जटिल प्रकारका स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले हैजा देखिए थप फैलनबाट जोगिन विभिन्न खालका स्वास्थ्य जनचेतनाका कार्यक्रम गर्नुका साथै शंकास्पद बिरामीको खोजी तीव्र पारेर उपचारको पहुँचमा ल्याउनुपर्ने हुन्छ ।

विशेषगरी दूषित पानी र खानपिनमा सरसफाइ नहुँदा र शौचालयको प्रयोग नगर्दा हैजा संक्रमण फैलने सम्भावना बढी हुन्छ । काठमाडौं उपत्यकालाई सरसफाइको हिसाबले सकारात्मक मान्न नसकिने र यहाँको दूषित पानीकै कारण हैजा देखिने गरेको डा. पुनको भनाइ छ । ‘हैजा दूषित पानीको सेवनले गर्दा हुन्छ भने डेंगु घरवरपर पानी जम्न थालेपछि लामखुट्टेको फैलावट र त्यसले मान्छेलाई टोक्न थालेपछि फैलिन्छ,’ डा. पुनले भने । 

इडिसिडीका अनुसार डेंगु र हैजा संक्रमण रोकथामका लागि अहिले इडिसिडीको टोलीले प्रदेश, जिल्ला र स्थानीय पालिकासँग समन्वय गरेर थप खोज, संक्रमितको उपचार र संक्रमणको स्रोत पत्ता लगाउने काम गरिरहेको छ । डा. पुनका अनुसार हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनुपर्छ । 

यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानुहुँदैन । पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका सहायताले निर्मलीकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । यस्तै, शौचालयको प्रयोग गरेपछि तथा खाना खानुअघि अनिवार्य रूपमा साबुनपानीले मिचिमिची हात धुने बानी बसाल्न उनको सुझाब छ ।

  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया