logo-img

एमालेमा सबै नेताको जिम्मेवारी हेरफेर, कसले के पाए ?

नेकपा एमालेको सचिवालय बैठकले सबै नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको छ ।  

बैठकमा अध्यक्ष ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखे । उनले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षाअनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिका विषयमा प्रकाश पारेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

यस्तै, बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजना सम्बद्ध विभागको संयोजन, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानीय तह समन्वयको संयोजन, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र सामाजिक विकास सम्बद्ध विभागको संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी तोकिएको छ । 

यस्तै, उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको संगठनात्मक कामको अनुगमनको र पार्टी सम्बद्ध विभागहरूको संयोजन, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला तथा पूर्वाधार तथा विकास सम्बद्ध विभागहरूको संयोजन र  उपाध्यक्ष गुरु बराललाई संसदीय मामलाको संयोजन, सुशासन र सेवाप्रवाह सम्बद्ध विभागहरूको जिम्मेवारी तोकिएको छ । 

पार्टी महासचिव शंकर पोखरेललाई पार्टीको संगठनात्मक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको प्रमुख, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी तोकिएको प्रचार विभाग गौतमले जानकारी दिए । 

सचिवहरू गोकर्णराज विष्टलाई भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुख, योगेश भट्टराईलाई संसदीय विभाग प्रमुख, रघुवीर महासेठलाई परराष्ट्र मामिला विभाग प्रमुख, छविलाल विश्वकर्मालाई स्थानीय विकास विभाग प्रमुख जिम्मेवारी दिइएको छ । 



यस्तै, सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज र अर्का सचिव पद्मा अर्याललाई लुम्बिनी प्रदेशको इन्चार्ज तोकिएको छ । बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन गर्नुको साथै अनुशासन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज, जनवर्गीय संगठनको इन्चार्ज, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकिएको छ । 



  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया