मेडिकल जर्नल ल्यान्सेटको प्रकाशित एक अनुसन्धान रिपोर्टअनुसार विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका छन् । सन् २०२० मा विश्वभर प्रोस्टेट क्यान्सरको नयाँ केस १४ लाख थियो । यो संख्या बढेर सन् २०४० सम्म २९ लाखसम्म पुग्ने अध्ययनको निष्कर्ष छ ।
प्रतिवेदनअनुसार एकसय १२ देशमा पुरुषमा यो क्यान्सर आमरूपमै देखिएको छ । ती मुलुकमा कुल क्यान्सरका बिरामीमध्ये १५ प्रतिशत प्रोस्टेट क्यान्सरका छन् । सन् २०२० पछि प्रोस्टेट क्यान्सरबाट मृत्यु हुने दर पूर्वी एसिया, दक्षिण अमेरिका, पूर्वी युरोप, उत्तर अमेरिकाका मुलुकमा बढिरहेको छ ।
विश्वभर बढिरहेको प्रोस्टेट क्यान्सरको अवस्था नेपालमा के छ भनेर क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तरसँग फरकधारकर्मी रेश्मा सिंहले गरेको कुराकानीको सम्पादित अंश :
प्रोस्टेट ग्रन्थी भनेको के हो ?
प्रोस्टेट पुरुषको प्रजनन प्रणालीको एक भाग हो । मूत्राशय (ब्लाडर)को मुनि रहेको यो सानो ग्रन्थी प्रोस्टेटको आकार ओखरको दानाजस्तै हुने भए पनि उमेरसँगै बढ्न थाल्छ । यसले गाढा र सेतो तरल पदार्थ बनाउँछ । यसले अण्डकोषद्वारा निर्मित शुक्राणुसँग मिलेर वीर्यको उत्पादन गर्छ र तरल बनाउँछ ।
४५ देखि ५० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या देखिने गर्छ । तर, यसो भन्दैमा सबैलाई यसको समस्या हुन्छ भन्ने हुँदैन ।
प्रोस्टेट क्यान्सर कसरी हुन्छ ?
प्रोस्टेट ग्रन्थीको पछाडिको भाग गुदद्वारको नजिक रहेको हुन्छ । जब यो ग्रन्थीका कोषिका असामान्य रूपमा बढ्छन्, तब प्रोस्टेट क्यान्सर हुने गर्छ । प्रोस्टेट क्यान्सरलाई तीन प्रकारमा विभाजित गरिन्छ ।
सुरुवाती प्रोस्टेट क्यान्सरलाई स्थानीय प्रोस्टेट क्यान्सर पनि भनिन्छ । यो अवस्थामा क्यान्सर प्रोस्टेट ग्रन्थीमा हुन्छ र अरू ठाउँमा फैलिँदैन ।
एडभान्स प्रोस्टेट क्यान्सरको स्थितिमा क्यान्सर प्रोस्टेट ग्रन्थीको वरिपरिको टिस्युमा फैलिन्छ । मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा क्यान्सर प्रोस्टेट ग्रन्थीबाट अगाडि शरीरको अन्य भागमा समेत फैलिन्छ ।
प्रोस्टेट क्यान्सरका लक्षण कस्ता हुन्छन् ?
सुरुवाती अवस्थामा यो रोग पूर्ण रूपमा लक्षणविहीन हुन्छ । तर, पिसाब लागेपछि रोक्न गाह्रो हुने, मूत्र तथा वीर्यमा रगत देखापर्ने, वीर्य स्खलन हुँदा पीडादायी हुने, यौन इच्छामा कमी आउनेजस्ता लक्षण देखापरे प्रोस्टेट क्यान्सरको कारण हो होइन भनी यकिन गर्न आवश्यक स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
प्रोस्टेट क्यान्सर ग्रन्थिबाहिर फैलिएको अवस्थामा भने कम्मर तथा हड्डी दुख्ने, थोरै चोट लाग्दा पनि हड्डी भाँचिने, शरीरको तौल घट्ने, मिर्गौला फुल्ने, स्वाँस्वाँ हुने, मांसपेशी–मिर्गौलाको कार्यमा ह्रास आउनेजस्ता अस्पष्ट तथा अनिश्चित लक्षण देखापर्न सक्छन् ।
प्रोस्टेट क्यान्सर हुनुको मुख्य कारण के–के हुन् ?
व्यापक रूपमा देखापर्ने रोग प्रोस्टेट क्यान्सर के कारणले हुन्छ अझै पनि वैज्ञानिकहरूका निम्ति अस्पष्ट छ । पुरुष हर्मोनले कुनै न कुनै रूपमा यो रोगको उत्पत्तिमा महत्वपूर्ण भूमिका खेल्छ । त्योबाहेक मनुष्य जातीय, भौगोलिक पर्यावरणीय तथा आनुवंशिक विविधता, अस्वस्थकर जीवनशैलीको पनि केही न केही भूमिका पनि हुन्छ । प्रोस्टेट मांसपेशी, रेशायुक्त र ग्रन्थीक तन्तुहरू मिलेर बनेको हुन्छ ।
प्रोस्टेट क्यान्सर ग्रन्थीका तन्तुबाट उब्जने रोग हो । सुरुको अवस्थामा यो व्यथा प्रोस्टेट ग्रन्थीभित्रै फैलिने हुन्छ । तर, रहँदा–बस्दा यो ग्रन्थी बाहिर लिम्फाटिकग्लाण्ड, हड्डी, फोक्सो, मस्तिष्क, कलेजोतिर फैलिन सक्छ । प्रोस्टेट क्यान्सर कति चाँडो शरीरमा फैलिन सक्छ भन्ने प्रश्नको उत्तर तन्तु जाँचको परिणाममा भर पर्छ ।
के प्रोस्टेट क्यान्सर वंशाणुगत रोग हो ?
यो वंशाणुगत पनि हुन्छ । त्यसैले परिवारमा कसैलाई एकपटक प्रोस्टेट क्यान्सर भएको छ भने आफूलाई शंका लागेको अवस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्छ । प्रोस्टेट ग्रन्थी भनेको महत्वपूर्ण ग्रन्थी हो । उमेरसँगै बढ्न थाल्छ । उमेरसँगै वयस्कभन्दा वृद्ध पुरुषमा बढ्दै जाने गर्छ । टेस्टोरोन हर्मोनका कारणले पनि प्रोस्टेट ग्रन्थीमा समस्या पैदा हुने गर्छ ।
प्रोस्टेट क्यान्सरको जोखिम कुन उमेर समूहलाई बढी छ ?
प्रोस्टेट क्यान्सर ४५ वर्षभन्दा माथि उमेर समूहका पुरुषमा हुनसक्ने सम्भावना हुन्छ । उमेर बढेमा प्रोस्टेट क्यान्सरको जोखिम पनि उच्च हुने गर्छ । ५० वर्षभन्दा कम उमेरका पुरुषमा यसको जोखिम कम हुन्छ ।
प्रोस्टेट क्यान्सर कसरी पत्ता लाग्छ ?
मूत्र लक्षणबाट पीडित खासगरी ५० नाघेका पुरुषमा प्रोस्टेट क्यान्सर छ कि छैन भनेर विभिन्न जाँच गर्नुपर्छ । पुरुषको वंशमा प्रोस्टेट क्यान्सर कसैमा भए विशेष तवरले जाँच गर्नुपर्छ । सामान्य रक्त परीक्षण, पेटको युएसजी, पिएसए रक्त परीक्षण इत्यादि गर्नुपर्छ । त्यसैगरी अन्य विधि भनेको एक्स–रे, अल्ट्रासाउन्ड र एमआरआईद्वारा पनि क्यान्सर भए–नभएको पत्ता लगाउन सकिन्छ ।
प्रोस्टेट क्यान्सरको उपचार पद्धति कस्तो हुन्छ ?
प्रोस्टेट क्यान्सरको उपचारमा रोगको अवस्था र गम्भीरता अनुसार विभिन्न विधि समावेश हुन्छन् । प्रोस्टेट सुरुवाती चरणमा छ भने त्यसलाई रोबोटिक शल्यक्रियाबाट उपचार गरिन्छ । तर, दोस्रो चरणभन्दा बढी भएमा बिरामीलाई हार्मोन थेरापी दिइन्छ र त्यसपछि बिरामीको अवस्था अनुसार उपचार गरिन्छ । यो निको हुन सक्ने क्यान्सर हो । बिरामीको उमेर, अरू जीर्ण रोगको असर, पिएसएको नतिजा, मूत्र अवरोधको स्थिति र सुझाइएको उपचारप्रति बिरामीको धारणा र गहन परामर्शमा ध्यान दिनुपर्छ ।
प्रोस्टेट क्यान्सरका रोगीलाई अनावश्यक उपचारको बोझ नपरोस् तर भविष्यमा यो रोगकै कारणबाट पीडा तथा सास्ती पाएर मृत्यु हुन सक्ने अवस्था नआओस् भनेर चिकित्सक र बिरामी पक्षबीच परामर्श आवश्यक हुन्छ । कोही व्यक्तिलाई पनि आफूलाई प्रोस्टेट क्यान्सर भएको शंका लागेमा तुरुन्तै चिकित्सककहाँ गएर जचाउनुपर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।