हाल एउटा कुरो खुब चर्चामा छ। अमेरिकाको दुई प्रसिद्ध विश्वविद्यालयमा पढेका र हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा एक केन्द्रीय सदस्य र अर्को उपाध्यक्ष भएर कार्यरत दुई व्यक्तिबीचको सार्वजनिक कुराकानी। सुविधाजन्य अन्तर्वार्ता भनौँ। प्रश्नले भन्दा उत्तरले तरङ्ग नै ल्याएको छ। एमआइटीबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी पूर्व मन्त्री सुमना श्रेष्ठले सोधेको एउटा प्रश्नमा हार्वर्डमाबाट स्नातकोत्तर गरेका पूर्व योजना आयोगको उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको जवाफले। प्रश्न थियो नेपालको राष्ट्रगान बारे। जवाफ आयो बिल्कुल गलत। नेपालको अहिलेको राष्ट्रगान न राष्ट्र कविले लेखेका हुन्, न गोपाल योञ्जनले सङ्गीतबद्ध गरेका। तर वाग्लेले बडो नाटकीय ढङ्गबाट पुरै जानेको जस्तो गरी स्फूर्त गलत जवाफ दिए।
मान्छे दुइटा कुराबाट बनेको हुन्छ। एउटा फ्याक्ट अर्थात् तथ्यबाट। अर्को मिथ अर्थात् भ्रम या मिथकबाट। यी दुईको सन्तुलन कस्तो हुन्छ र कुन बढी या घटी हुन्छ त्यसले व्यक्तिको आचरण र व्यवहारमा धेरै नै फरक पार्दछ। फ्याक्ट नभइकन मिथ जन्मिन सक्दैन। फ्याक्ट भन्दा मिथक कम छ भने त्यो व्यक्तिलाई कुनै समस्या पर्दैन। उसले कुनै नाटक गर्नु पर्दैन। उ एकलव्य भएर आफूले जानेको काम गरिरहेको हुन्छ। दाग धक्कु लगाउनु पर्दैन। आफू उभिएको धरातलले धान्न नसक्ने महत्त्वाकाङ्क्षा उसको प्राय हुँदैन। तर समस्या त्यति बेला आउँछ जब फ्याक्ट भन्दा मिथ धेरै बढी चुलिएर गएको हुन्छ। अहिले स्वर्णिमको पनि भएको यही हो।
नेपालको बुढानीलकण्ठ, एउटा राम्रो स्कुल। बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स अझ राम्रो। अमेरिकाको हार्वार्ड विश्वविद्यालय झन् राम्रो, विश्वको पहिलो नम्बरको उत्कृष्ट शिक्षण संस्था। विश्वविद्यालयहरू बारे प्रकाशित समग्र श्रेणीकै आधारमा यो भन्न सकिन्छ। फेरि पनि समग्रकै कुरा। समग्रमा राम्रो ठाउँमा पढेको मान्छे राम्रो मान्छे नै हुनु पर्छ भन्ने चाहिँ होइन। तर साधरणतया राम्रो सिप हासिल गरेको चाहिँ हुन्छ। फेरि यहाँनिर पनि यो नै अन्तिम सत्य भने होइन। साधारण ठाउँमा, साधारण पढेका मानिसहरूले धेरै ठुलो काम गरेका पनि छन् विश्वमा। नेपालकै कुरा गर्ने हो भने मेरो आफ्नै पिता जसले साधारण ठाउँमा, साधारण पढेको मान्छे। तर उनी नै नेपालमा सिमेन्ट ढलान सुरु गर्ने पहिलो नेपाली बन्न सके।
हार्वार्ड पढेर निस्किएका विद्वानहरूको लिस्ट लामो छ। त्यस्तै प्रसिद्धि कमाएका हरूको। तर लन्ठूहरूको लिस्ट पनि छोटो छैन। हार्वर्डमा नै पढेका राष्ट्रपति क्यानेडीको कान्छो भाइ एड्वार्डले पनि हार्वर्डमा पढेको तर लन्ठू मान्छे भएर निस्के। हुन त उनी सिनेटर पनि भए त्यो अर्को कथा हो। एड्वार्डको बारे यो कुरा सार्वजनिक रूपमा आइसकेको हुनाले मैले भन्न हिचकिचाउनुपर्ने छैन। तर उनी जस्तै केही हार्वर्ड लन्ठूहरूको नाम मलाई राम्ररी थाहा छ। तर भन्न मिल्दैन।
स्वर्णिमको भन्दा धेरै नै कम फ्याक्ट तर पनि धेरै नै बढी मिथकीय स्वरूप बनाउन सफल एउटा मान्छेले धेरै लामो समय यो मुलुकमा धाक धक्कु लगाए। हाबी नै भए तिनी। राजकाज नै गरे। मेरै कानले अनेक पटक सुनेको छु, के बुद्धिजीवी के मुलुक हाँक्नेहरूले भनेको, - ‘वा ! फलानो छ जे छ, गजबको छ त्यो मान्छे'। धेरै वर्ष अगाडि कौतूहलवश मैले उनको सहायकलाई सोधे, के छ यिनको यस्तो गुदी ? इमानदार मान्छे थिए उनी इमानदारीपूर्वक फ्याट्ट भनिहाले- ‘उनी स्वफुर्ती रूपमा झुट बोल्न सक्छन्। यति स्फूर्त हुन्छ कि सुन्ने मान्छेको लागि त्यो नै सत्य बन्छ’। आज स्वर्णिमको यो घटनाले त्यो मान्छेलाई सम्झाइ दियो।
तर स्वर्णिम त्यस्तो होइनन्। उनी एउटा राम्रो अर्थशास्त्री हुन्। एउटा संस्कृतमा भनाइ छ नि - ‘प्रत्यक्षं किम् प्रमाणं’। प्रत्यक्ष छ यो, केको प्रमाण? अर्थात् , प्रमाण उनले देखाइसकेका छन्। तर कति प्रकाण्ड अर्थशास्त्री उनी हुन् त्यतापट्टि चाहिँ नलागौँ। त्यसैले उनी जे छन् त्योभन्दा धेरै चुलिएको मिथक नबनाऊ। यो मेरो विनम्र आग्रह हो। आफूलाई थाहा नभएकै कुरामा पनि मिथकले जे पनि पचाउँछ यो अल्पज्ञानी समाजमा भन्ने उनको विभ्रम हो भने यतिखेर त्यो नराम्रोसँग घाइते भएको छ। नेपालको राष्ट्रगानको सन्दर्भमा व्याकुल माहिलालाई राष्ट्रकवि र गोपाल योञ्जनले सङ्गीतबद्ध गरेको भन्ने हुँदै नभएको कुरा उनले जसरी अन्तिम सत्य सरह भने, त्यसले उनको विश्वसनीयतामा नराम्रोसँग चोट लागेको छ। म चाहन्छु यो विभ्रम टुटोस्।
अर्थशास्त्रमा पनि यो विभ्रमले काम गर्दैन। हो, अर्थशास्त्रीले वकिलले जस्तो केही हदसम्म जताबाट पनि आर्थिक सिद्धान्तको तर्क र बहस गर्न सक्छन्। त्यो अर्कै कुरा हो। यो पनि धेरै कम भइसक्यो अब जति जति अर्थशास्त्र मजबुत शास्त्र बनेर गएको छ। तर पनि स्वर्णिमले हेक्का राखुन् कि अर्थशास्त्रमा पनि मिथकीय स्वरूपले गलत कुरो पचाउन सक्ने दिन अब गइसके। आजको दिनमा अर्थशास्त्र राम्ररी जानेका तर पनि हल्लाखल्ला गर्न नरुचाउने मान्छेहरू पनि यो मुलुकभित्र निकै छन्। भरिएको गाग्रीले बजिरहनु पर्दैन। पर्छ र?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।