logo-img

छठ नजिकिएसँगै बाँसका सामान बनाउन व्यस्त डोम समुदाय : भन्छन्- ‘भारतको पटनासम्म निर्यात गर्छौँ’

वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने महोत्तरीको जलेश्वर नगरपालिका–१ का रामजी डोम अहिले आफ्नै घर अगाडि मुसुमुसु हाँस्दै हातमा बाँस र बेतका भाँडाकुँडा बनाउँदै गरेको भेटिन्छन् ।

उनीसहित उनका छोरा, नाति र घरका अन्य महिला पनि प्रसन्न मुद्रामा आपसमा विभिन्न कुराकानी गर्दै हातहातमा बाँस र बेतको भाँडाकुँडा बनाइरहेको दृश्य हेर्दा जो कोहीलाई पनि खुसी हुन्छ ।

सायद यसैले भनिन्छ, ‘दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ ।’ हो यस कुरालाई छठपर्वको बेला बाँस र बेतबाट डालो, नाङ्लो र टपरी बनाउन जुटेका महोत्तरीका डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईबासीको प्रमुख पर्वको रूपमा रहेको छठको तीन साता मात्रै बाँकी रहेको बेला सधैँ खान, लाउन धौधौ पर्ने डोम जातिको मुहारमा पनि हाँसो र मनमा उल्लास छाएकाले साँच्चिकै ईश्वरको बास दुखियाको हाँसोमा रहेको देखिन्छ । 

गरिबी र विपन्नतामा पिल्सिएका वर्षैभरि गाउँगाउँमा सुङ्गुर डोर्याएर चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले छठपर्व नजिकिदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ भएको छ । गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभर आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मनरासिस्वा नगरपालिकाका– ५७ वर्षीय हरिदेव डोमले बताए ।

गाउँ, शहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६२ वर्षीया मरनी डोमिनले बताइन् ।

डालो बुन्दै गरेकी जिल्लाको गौशाला नगरपालिकाकी ७० वर्षीया घुरनी डोमिनले गहभरि आँसु लिएर भनिन्, 'कात्तिक लाग्नेबित्तिकै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौं भने बजारमा बेच्दा राम्रै आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छौं ।' तर, वर्षभरि काम नपाउने हुँदा फेरि केही दिनपछि उनीहरूको दुःख सुरु हुन्छ । 



छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्दछ । सम्सी गाउँपालिकाका ६५ वर्षीय बेचना डोमले आफूहरू सोही कारण दिनरात व्रतालुहरूको निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाइन् ।

त्यस्तै, जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका इन्दल डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर कात्तिकमा वर्षभरिकै सबै ऋण चुक्ता गरेर केही रकम बचाउने गरेको बताए । जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमका अनुसार घरका बालकदेखि बुढासम्मले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति ५०/६० देखि ७०/८० हजार र प्रत्येक परिवारले दुई/तीन लाखको हाराहारीमा आम्दानी गर्ने गर्दछन् ।



यतिबेला जिल्लाको प्रत्येक पालिकाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । दिनदिनै छठपर्व मनाउनेहरूको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई भ्याइनभ्याइ भएको छ । 

पछिल्लो केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौंसहित पोखरा, हेटौंडाजस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने गरेको छ । छठपर्वको बेला महोत्तरीको विभिन्न १५ वटै पालिकामा उत्पादन गरिएको बाँस र बेतका भाँडाकुँडा छठको बेला नेपालको राजधानी काठमाडौंसहित पोखरा, हेटौंडा, चितवन, बुटबल, धरान जस्ता पहाडी क्षेत्रका साथै भारतको मधुवनी, दरभङ्गा, सीतामढी, मुज्जफ्फरपुर र पटनासम्म पुग्ने गर्दछ । 

मिथिलाको प्रमुख पर्वको रुपमा रहेको छठपर्वका लागि प्रत्येक परिवारले अहिलेदेखि डोमको आँगन र पिँढीमा बाँस र बेतबाट बनेको भाँडाकुँडा खरिद गर्नका लागि पुग्न थालेको बताउँदै औरही नगरपालिकाका सुरेश डोमले आफू परिवारसहित राति अबेरसम्म काम गरेर बाँसका र बेतका भाँडाकुँडा बनाउने गरेको बताए । छठ व्रत सुरु हुनुदेखि अन्त्य हुनुसम्म छठव्रत मनाउने प्रत्येक परिवारले पूजा सामग्री तथा पूजाप्रसाद प्रयोग गर्न डोमले बनाएकै बाँसका भाँडाकुँडा प्रयोग गर्नुपर्ने हुन्छ ।

यस पर्वमा सूर्य देवतालाई चढाइने प्रत्येक वस्तु (प्रसाद) बाँस र बेतकै भाँडाकुँडामा राख्नुपर्ने प्रचलन रहेको र ती सामग्री डोम समुदायका व्यक्तिले नै बनाउने हुँदा उनीहरूको जीवनस्तरमा सुधार ल्याउने माध्यम बनेको पिपरा गाउँपालिकाका सुरेश डोम बताउँछन् । डोम समुदायले छठ पर्वको भाँडाकुँडा बनाएर व्रतालुलाई एकातिर सहयोग पुर्‍याएका छन् भने अर्कोतिर आर्थिक उपार्जन पनि भइरहेको छ ।

यसैबीच डोम समुदायका युवाहरूले आफूले छठपर्वको बेला बाँस र बेतबाट उत्पादन गरेको डालो, नाङ्लो, ढकिया, कोनिया जस्ता भाँडाकुँडाको व्यापार छठपर्वको बेला मात्रै चल्ने भएकोप्रति चिन्तित हुँदै यसको वर्षभरिको बजारीकरणको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँगसमेत माग गरेका छन् । यस पर्वपछि पुनः उनीहरू आफ्नो पैतृक पेसा सुङ्गुर पालनमै लाग्नुपर्ने बाध्यता रहेकाले उनीहरूले आफ्नो यस (बाँस र बेतबाट भाँडाकुँडा बनाउने) पेसालाई वर्षभरि सञ्चालन पेसाको रूपमा विकास गरिदिएमा आफ्नो समुदायको जीवनस्तरमा सुधार आउने उनीहरूको विश्वास रहेको छ । 

महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।

लोक कथनबमोजिम सोही समयदेखि सम्पूर्ण मिथिला क्षेत्रमा छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व पोखरी, नदी, तलाउ र अन्य जलाशयमा मनाउने गरिन्छ । धार्मिक आस्थाका साथै सामाजिक सद्भावको रूपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरूले पनि मनाउने गर्छन् । रासस

  • प्रकाशित मिति : कात्तिक ८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया