logo-img

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ भएको छ । बिहान ११ : ०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।

बिहान ११ ः ०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिए। तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

कात्तिक १५ गते दिउँसो १५:१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गरे । उनका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।



गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।

कात्तिक १८ गते आइतबार भाइ टीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११:३७ बजे भाइ टीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । भाइ टीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।



सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उनले सुनाए। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइ पूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइ टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । 

  • प्रकाशित मिति : कात्तिक १३, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया