हाम्रा महान् पर्वहरू तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालिको दसैँ त्यस्तै थियो भने तिहारको भाइटिका पनि त्यस्तै परेको छ । यसपालिको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजेसम्म द्वादशी छ । अनि त्यसपछि त्रयोदशी सुरु हुन्छ । त्रयोदशी सुरु हुँदा धनतेरसको पूजाआजा र खरिदारी गरिन्छ । त्यो ११ बजेपछिको समयलाई निर्धारण गरिन्छ । उदय त द्वादशीमा भएको थियो तर साधना अनुष्ठान बेलुकाको छ । बिहान गाई पूजा गरेर त्यही दिनको बेलुका दिपामालिका गर्ने चलन छ । तर यस पटक चाहिँ औँसीको तिथि जुन हुन्छ त्यो दिनमा नै यसलाई सुखरात्री भनेर भनिएको छ । यस पटक सुखरात्री एक दिन पहिले लक्ष्मीपूजा परेको छ ।
यदाकदा यो अशुभ स्थितिहरू बन्न सक्छ । विषेशगरी हाम्रो धर्मशास्त्रमा चार वटा महारात्रिहरू छन् । त्यसमा कालरात्री, महारात्री, मोहरात्री र सुखरात्री । महारात्रीलाई शुभरात्री भनिन्छ । भगवान श्रीकृष्णको जन्म भएको दिनलाई मोहरात्री भनेर भनिन्छ । अनि दसैँको अष्टमीको रातलाई कालरात्रीको रूपमा मान्छौँ । त्यसै गरी, लक्ष्मीपूजाको दिनलाई सुखरात्रीका रूपमा मनाउने गरेका छौँ ।
कार्तिक कृष्णपक्षमा यमपञ्चक पर्दछ । यो कहिल्यै पनि दाँयाबाँया हुँदैन । यसका शास्त्रीय तीन वटा कारणहरू छन् । शास्त्रको मर्यादाहरू पनि छन् । यसमा एउटा त देवासुत्संग्राम भएपछि जब देवदानवको युद्ध भयो तत्पश्चात् एउटा सम्झौता भयो । समुन्द्रमन्थनको प्रस्ताव दुई वटै पक्षले स्वीकार गर्यो । समुन्द्रमन्थन हुँदाखेरि १४ वटा रत्नहरू प्रकट भएका हुन् । अनि त्यहाँ एकातिर देउता र अर्कोतिर दानव भए । त्यहाँ एउटा नागलाई बनाएर विष हुने टाउकोतिर दानवहरू र पुच्छरतिर देउताहरू बसे । त्यहीबाट १४ रत्न पत्ता लागेका हुन् ।
लक्ष्मीजी पनि १४ रत्नबाट प्रकट भएकी हुन् । भगवान धनवन्तरी समुन्द्र मन्थनबाट नै प्रकट हुनुभएको हो । अनि भगवान धनवन्तरी लोक कल्यणका लागि, आफ्ना देव देवतालाई अमर बनाउनका लागि अमृत घडा लिएर प्रकट हुनुभयो । अनि यही त्रयोदशी र यशी प्रदोषकाल पनि त्यतिबेलै प्रकट हुनुभएको हो । त्यसैले यो त्रयोदशीलाई प्रदोष पनि भन्ने गरिन्छ । देवताहरूले अमरत्व प्राप्त गरेको दिनलाई धनवन्तरी भनेर पनि मान्ने गरिन्छ । शास्त्रमा हेर्ने हो भने मृत्युका देवता भनेर यमराजलाई भन्ने गरिन्छ । यमदेव मृत्यका देवता हुनुहुन्छ । र सुर्यपुत्र हुनुहुन्छ शनी । यम र शनी दाजुभाइ हुन् ।
काग तिहारको प्रसङ्ग उल्लेख गर्दा मृत्युको प्रसङ्ग पनि जोडिन्छ । मृत्युले म आउँछु तयार भएर बस्नु भनेर त भन्दैन । मृत्युको सन्देश अप्रिय हुन्छ । कागले आखिरमा आफ्नो कर्तव्य पूरा गर्ने गर्छ । कागलाई सञ्चार माध्यमको रूपमा मानिन्छ । अहिले पनि गाउँघरमा काग आएर कतै बसेर करायो भने अशुभ मानिन्छ । त्यसले यमराजलाई सन्देश पुर्याउने काम गर्छ भन्ने विश्वास छ । साथै प्रकृतिको लागि पनि काग महत्त्वपूर्ण छ ।
विशेष गरी यमराजको दूतको रूपमा काग आउने गर्छन् । एउटा प्रकृतिको स्रोतको रूपमा अथवा संवाहकको रूपमा पूजा गरिन्छ । हरेक दिदीबहिनीलाई आफ्नो दाजुभाइले बोलाएको हुन्छन् । त्यो बेला केही अशुभ समाचार लिएर नआओस् भनेर खुसी बनाउनको लागि प्रसादहरू दिएर कागको पूजा गर्ने गरिन्छ ।
त्यसै गरी कुकुरलाई भैरव र यमराजको द्वारपालको रूपमा पनि मानिन्छ । त्यही भएर यमसँग सम्बन्धित भएकाले पूजा गरिन्छ । त्यसपछि गौ पूजा गर्छौ । तिहारका हरेक दिन मृत्युसँग सम्बन्धित छन् । गाई भनेकै लक्ष्मी पनि मानिन्छ, गाईलाई लक्ष्मीलाई अर्को एउटा नाम मध्यमा सुरभी पनि भनिन्छ । गाईलाई सनातनमा जन्मदेखि मृत्युसम्मको सम्पूर्ण कर्महरूमा शुद्धताको रूपमा पुजिन्छ । गाईको गहुँतलाई जुनसुकै कर्ममा पनि प्रयोग गरिन्छ । त्यसैले वैतरणी गर्दा पनि धर्म शास्त्रमा गाइको महत्त्व छ र सांसारिक जीवनमा पनि लक्ष्मीको महत्त्व छ । गाईको सासदेखि दूध, गोबर जति पनि गाइबाट प्राप्त हुने बस्तुहरू छन् । ती सबै लोकको कल्याण र जीवनको हितको लागि छन् ।
हाम्रो घरआँगन गाइको गोबरले लिप्ने चलन छ । पञ्चकको पहिलो पञ्चक नै घरमा गाइको गोबरले लिपेर शुद्ध गर्ने चलन छ । तेस्रो दिन भने हाम्रो देह, भाव, चरित्र, कर्म र आत्माशुद्धीको लागि पनि गाइको पहिले पूजा गरेर त्यसपछि लक्ष्मीको पूजा गरिन्छ ।
त्यसको भोलिपल्ट गोवर्द्धन पूजा गर्छौ त्यहाँ हाम्रो भगवान कृष्ण गोवर्द्धन पर्वत उठाएर सबैको रक्षा गर्नु भन्ने प्रसङ्ग छ । त्यो दिन अन्नकुट पर्वत र गोवर्द्धन पर्वत दुबैको पूजा हुन्छ । त्यस दिन अभावमा भएका मान्छेहरूको लागि अन्न दान गर्नु र अभाव भएकाहरूको लागि वस्त्र दान गर्नु, विशेष गरी अन्नको भोजन गराउनु, दिनदुखीहरुको कल्याण गर्नु, चाडपर्व मनाउनको लागि सामान जुटाएदिनु राम्रो हुन्छ । त्यसै गरी नन्दी भगवान शिवसँग नजिक भएका हुनाले गोरुपूजा पनि गरिन्छ । गोरुलाई नन्दीको रूपमा र उसमा भएको धैर्यता, पराक्रम, बल सबैको लागि गोरु पूजा गरिन्छ । पूजा गर्नुको कारण एउटा प्रकृतिको पूजा पनि । अन्य धर्म, संस्कारमा गोरुको पूजा गरिदैँन् । सर्प, काग, कुकुरको पूजा गरिदैँन् । साथै नदी, पिपल, तुलसी, कुश सबै प्रकृतिमा भएका हितकर कुरा सबैलाई हामीले देवता मानेका छौँ ।
गोरु पूजा सम्पन्न भएपछि भाइलाई पूजा गर्ने चलन छ । सम्पूर्ण कर्म पूरा गरेको छु, अनुष्ठानमा बसेको छु र भाइको सेवाको लागि म एकदम समर्पित छु भन्ने भाव प्रकट गरिन्छ । सबै अन्न मिष्ठानका सामानहरू लिएर दिदीबहिनीले दाजुभाइलाई दिने र दाजुभाइले पनि दिदीबहिनीलाई चाहेको वस्तुहरू दिने चलन छ । जसले भाइटीकाका दिनमा आफ्नो बहिनिले बनाएर दिएको मिष्ठान अथवा पानी नै भएपनि श्रद्धाले दिएको छ भने श्रद्धाको साथै ग्रहण गर्नुपर्छ । उसको जीवनमा कहिले गरिबी आउदैँन, प्रेमको अभाव हुँदैन ।
अब तिहार मनाउने प्रचलनको कुरा गर्दा भारत र नेपालमा भिन्न रहेको पाइन्छ । भारतमा दिवाली भन्छन्, नेपाल दिपावली भन्छौ । हाम्रो दसैँ र अन्य हिन्दुको दसैँ फरक छ । संस्कृति एउटै हो भने पनि धेरै कुराहरू फरक छन् । हाम्रो मौलिक पर्व हो भने उनीहरूको उत्सव मात्र हो ।
धन्तेरस हाम्रो होइन । त्रयोदशी तिथि त सबैको हो । जुन विश्वव्यापी मानिएको छ । प्रकृतिमा रहेको क्यालेन्डरलाई सबैले पलो गर्नै पर्छ । यमपञ्चकको प्रथम दिवस भनेको यमपञ्चकको प्रथम दिवस नै हो । त्यसलाई मान्ने तवर तरिकामा फरक होला । शास्त्रमा फलामका चिजहरू, औजारहरू नकिन्नु, केमिकलहरू नल्याउनु भनिएको छ । सकेसम्म पाँच दिन यमको र शनिको चिजहरू घरमा नल्याउनु सेलरोटी हाल्ने तेलपनि पहिले नै किन्नु भनिन्छ ।
अर्को रोचक कुरा के छ भने लेदर अर्थात छाजाजन्य पदार्थबाट बस्तुहरू उपहार दिनु हुँदैन । लेदरका चिजहरू शनिमा पर्छन् । यस्तो उपहार कहिल्यै दिनुहुँदैन । घडी कहिल्यै पनि उपहार दिनु हुँदैन । किनकी काल पुरुषको केन्द्रबिन्दु हो । कसैलाई सिध्याउनु छ भने जुत्ता या घडी दिनु आफै एक वर्षमा सिधिन्छ । कसैसँग सम्बन्ध टाढा राख्नु छ भने शनिबार छाता या जुत्ता उपहार दिनु उ आफैं टाढा भएर जान्छ । रत्न, कमलको आसनका चिजहरू सुगन्धीत अख्तरहरु घरमा ल्याउँदा राम्रो हुन्छ । फलाम छाडेर नयाँ केही न केही तामा, पित्तल, चाँदी, सुन जे सकिन्छ एउटा खरिद गर्दा राम्रो हुन्छ । धनियाँ ल्याएर यमपञ्चकभरी पूजा गरिन्छ । यसको अलग्गै महत्त्व छ ।
लक्ष्मीलाई बोलाउँदा नारायणसहितको आह्वान गर्यो भने घरमा राम्रो हुन्छ । नत्र दुई दिन आउनुहुन्छ पाहुनाको रूपमा फर्कनुहुन्छ । पूजा गर्दा लक्ष्मी नारायणसहित गर्नुपर्छ । विशेष गरी नवरत्नहरू नौ जिचहरु ,अमृतहरू र विभिन्न किसिमका जडीबुटीहरू अमृत घडा थापना गर्दा राम्रो हुन्छ । कालो हलेदो, सेतो हलेदो, पहेँलो हलेदो, बेसार, धतुरोको विशेष महत्त्व छ । जसलाई भाइ टीकामा जलले अभिषेक गरेर दिर्घायूको कामना गरिन्छ ।
डा. अधिकारी वरिष्ठ ज्योतिष एवम् संस्कृतविद् हुन्
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।