logo-img

दुई सातामा चार गैँडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चार वटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी थियो । अनुसन्धानपछि उक्त गैँडा कालगतिले मरेको पाइएको उनले बताए ।

कात्तिक ६ गते निकुञ्जको कलकत्ता टापुमा एउटा बच्चा र एउटा वयस्क गैँडा सडेगलेको अवस्थामा र कात्तिक १३ गते अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जको भिम्ले पोष्ट नजिक मृत अवस्थामा भेटिएको उनले बताए । उक्त पोथी गैँडा दलदलमा फसेर मरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

‘चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ६ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा करेन्ट लागेर र अन्य प्राकृतिक कारणले मरेका हुन् । यीसहित चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको संख्या १० पुगेको छ’, सूचना अधिकारी मगरले भने ।

यसैबीच, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्न गतिविधि गर्ने १० जनालाई पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले कात्तिक १ गतेदेखि हालसम्म उनीहरूलाई पक्राउ गरी कारबाही गरेको हो ।

निकुञ्जका सूचना अधिकारी मगरका अनुसार अनुमतिबिना निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्ने तीन, बालुवा चोरी निकासी गर्ने चार र तयारी जालको प्रयोग गरी माछा मार्ने तीन जनालाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको छ ।





  • प्रकाशित मिति : १२ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया