नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
यससँगै बंगलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।
साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बंगलादेशसँग दुई पटक पराजित भयो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बंगलादेशले लियो । खेलको ५२औँ मिनेटमा बंगलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १-१ गोलको बराबरी ल्याइन् ।
खेलको ८१औ मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । बंगलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बंगदेशको पोल्टामा पुग्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।