२०३९ सालतिरको कुरा हो । एकपटक घण्टाघरमा आगलागी भयो । त्यसपछि राम्रोसँग चलेको थिएन । त्यसबेला घडीको सुई र घण्टा बजेको सुनेर टुँडिखेलमा नेपाली सेनाले तोप पड्काउने गर्दथ्यो । आगलागी भएपछि त्यहाँ प्राविधिकको अभाव भयो । पहिला एकजना अस्थायी मिस्त्री थिए । आगलागी भएको एक डेढ वर्षपछि उहाँको म्याद थप भएन । उहाँ जानुभयो ।
उहाँ गएपछि घण्टाघर सञ्चालन गर्ने प्राविधिकको अभाव भयो । तर, त्यसको लामो समयपछि ०४४ सालमा कमलादीको प्रज्ञा भवनमा सार्क सम्मेलन हुने भएपछि एक घण्टाका लागि भए पनि घण्टाघर खोल्नुपर्ने आदेश आयो । खोल्नुपर्यो भनेर दौडधूप सुरु भयो । अञ्चलाधीशको कार्यालयले कसरी चलाउने भनेर मिस्त्रीको खोजी सुरु गरेको थियो । सोहीबेलादेखि घण्टाघरसँग मेरो सम्बन्ध जोडिन पुगेको हो ।
घण्टाघरसँगको सम्बन्ध
घण्टाघर चलाउन सक्ने प्राविधिकको खोजी गर्ने काम गर्न डेढ महिनाजति लाग्यो । तर, चलाउन सक्छु भन्ने कोही भेटिएन । म चाहिँ सबै मेसिन मर्मत गर्ने काम गरिरहेको हुन्थेँ । जागिरका अतिरिक्त समय म यस्तै पार्ट टाइम पनि गर्थेँ । सार्क सम्मेलन सुरु हुन १५ दिन बाँकी थियो । सोहीबेला कतैबाट मलाई घण्टाघर चलाउन सक्छौँ भन्ने प्रस्ताव आयो । मलाई आपत पर्यो । तर, बच्चा बेलादेखि नै म टेक्निकल काममा रुचि राख्ने गर्दथेँ । जुनसुकै काम पनि हुन्न नभनी हात हालिहाल्ने बानी थियो । त्यसैले मैले सक्छु भनेँ । सक्छु त भनिहाले तर मैले घण्टाघरको मेसिन देखेको थिएन । सक्छु भनेर माथि चढे । माथि जाँदा त मेसिन देखिन । डर लाग्यो । एक–दुई घण्टासम्म चारैतिर हेरेर मात्र बसिरहेँ ।
बस्दै गएपछि भएका यन्त्रहरू यताउता हेर्न र छुन थालेँ । त्यहाँ रहेको पेन्डुलम भन्ने मेसिन हल्लाए । त्यो मेसिन एकपटक हल्लाएपछि पाँच–सात मिनेट चलेर बन्द हुने रहेछ । पटकपटक हल्लाए । गर्दागर्दै १३ दिन १३ रात २४ सै घण्टा त्यहीमाथि नै बसेँ ।
विशिष्ट तहका कर्मचारी, मन्त्री, प्रधानमन्त्री न्यायाधीश त्रिचन्द्रकै उत्पादन छन् । तर, तिनीहरूका आँखा घडीमा पुगेन । शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगन थापाजस्ता धेरैजना त्रिचन्द्रमै पढेका हुन् । तर, तिनीहरूको आँखा कहिल्यै त्यहाँ पुगेन ।
कति मिनेटमा कहाँनेर गएर काँटा अड्डिन्छ हेरेरै बसेँ । गहिरो अध्ययन गरेर १३ दिन बिताए । भएका दाँतीहरू सबै गहिरो अध्ययन गरेर बिताए । हुँदाहुँदा १३ दिनमा चाहिँ एकचोटी चलाएपछि दुई–तीन दिन चल्न सक्ने बनाए । सार्क सम्मेलन कात्तिकको १९–२० गतेतिर थियो । सम्मेलनपछि म तल ओर्लिए । त्यहाँ मैले घन्टाका रोगहरू पत्ता लगाए । पछि ती पार्टहरूलाई बनाएर ल्याए र फिट गरेँ । त्यसपछि दुई–चार महिना चल्ने भयो । त्यसपछि फेरि बिग्रिन्छ बनाउँदै जाने गरेँ । यसरी मेरा तीन दशक घण्टाघरमै बित्यो ।
यसरी नै घण्टाघर चलाउँदाचलाउँदै पोहोर सालसम्म अवकाश लिएँ । घण्टाघरबाट बिदा लिएको एक वर्ष बित्यो । जागिरे रहँदा धेरै अनुभव बटुल्ने मौका मिल्यो । किनकी त्यहाँका मेसिनहरूमध्ये कतिपयलाई तारले बाँधेको छु । कुनै दाँते नै रद्द गराएको छु । जबर्जस्ती पनि चलाएको छु । म त्रिचन्द्रमा प्रवेश गर्दा शिवशंकर सिंह क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले ०३९ सालतिर अवकाश लिनुभयो । झण्डै १२–१५ जना नै प्रमुख परिवर्तन भइसक्नु भएजस्तो लाग्छ । त्यसमध्ये धेरैलाई घण्टाघरबारे खासै चिन्ता लागेन ।
दम दिए चल्छ घण्टा
काठमाडौंको घण्टाघर सन् १८९४ मा राणा प्रधानमन्त्री वीरशमशेरको शासनकालमा निर्माण गरिएको हो भन्ने मलाई थाहा छ । परम्परागत र मौलिक पाराको घण्टाघरका अधिकांश यन्त्रहरू पम्प दिएका भरमा चल्छन् । यो ब्याट्री वा बिजुलीबाट चल्दैन । घण्टाघरको घडीमा हातैले दम दिनुपर्छ । दम दिने भनेको फलामको ह्यान्डलले मिलको चक्का घुमाएजस्तो घुमाउने हो । अर्थात् कुनै कुनै ट्याक्टर गाडीलाई पनि त्यसरी नै दम दिनुपर्छ नि । जेनरेटर चलाउँदा पनि ह्यान्डलबाट दम दिनुपर्छ नि । त्यस्तै हो ।
त्यहाँभित्रको घडी चलाउन झण्डै ३०–३५ किलोभन्दा अझ बढी सामान उचालेजस्तो हुन्छ । दम दिएपछि ८४ फिट तल जाने र दम दिएपछि माथि आउने गर्छ । माथि पुगेपछि एक हप्ता घडी चल्छ । जति घुमायो, फलामको डल्लोजस्तो चक्का उति माथि आउँछ । यसकै भारले घडीको सुई घुम्छ र सुई सर्दै जान्छ । त्यो फलामको डल्लो पनि तल झर्दै जान्छ । घण्टा हान्नका लागि नौवटा चक्का छन् । त्यो पनि तलबाट दम दिएर माथि उठाउने हो । क्वाटर हान्नका लागि पनि १३ वटा चक्का छन् । त्यसलाई नि दम दिएर माथि उठाएपछि एक हप्ता पुग्छ । सारै गाह्रो हुने भएकाले दुई–जनाले हप्ताको दुई दिन दम दिनुपर्दथ्यो । म चाहिँ बिग्रियो भने हेर्ने गरेको थिए । दम दिनका लागि अरू पनि साथीहरू थिए ।
कसैलाई माया छैन घण्टाघरको
विदेशतिर पनि यस्तो टावर अर्थात् घण्टाघर त हुने रहेछ । तर, ती व्यवस्थित छन् रे । तर, यहाँ हाम्रोमा यस्तो काम गर्नेलाई तालिम दिनुपर्छ भन्नेमा कसैले चासो दिएनन् । त्रिचन्द्र क्याम्पसमा पढेका धेरै विद्यार्थी देशको उच्च पदमा पुगे । तर, चासो दिएनन् । विशिष्ट तहका कर्मचारी, मन्त्री, प्रधानमन्त्री न्यायाधीश त्रिचन्द्रकै उत्पादन छन् । तर, तिनीहरूका आँखा घडीमा पुगेन । शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगन थापाजस्ता धेरैजना त्रिचन्द्रमै पढेका हुन् । तर, तिनीहरूको आँखा कहिल्यै त्यहाँ पुगेन ।
घण्टाघरलाई खासै खर्च त लाग्ने थिएन । मैले बुझेसम्म र अनुभव गरेसम्म वर्षमा दुईदेखि तीन हजार मात्र मर्मतको लागि खर्च हुन्थ्यो । एकचोटी १२ हजार रुपैयाँ खर्च भएको याद छ । ०७२ सालको भूकम्पमा घण्टाघरका धेरै संरचना भत्किएका र भाँचिएका थिए । त्यसबेला पनि बेला १५ हजार तिरेर ल्याइएको हो । पेस्की मैले नै १० हजार रुपैयाँ बुझेको हुँ । तर, पाँच हजार भुक्तानी नै भएन । पछि क्याम्पस प्रमुखसँग विवाद भएपछि भुक्तानी भयो । घण्टाघरका लागि पैसा नभएर होइन । सकेसम्म जिम्मा नलिऔँ भन्ने सोच भएकाले समस्या आउने गरेको हो । पछिपछि मिडियामा कुरा आउन थालेपछि सबैको नजर परेको हो । मेरै अन्तर्वार्ताका कारण पनि धेरैलाई प्रेसर परेको हुनुपर्छ ।
एकपटक अन्नपूर्ण पोष्टमा ‘घाँडो घण्टाघर’ शीर्षकमा समाचार प्रकाशित भएपछि महानगरपालिकाले चासो लिएको थियो । महानगरले छलफलका लागि भनेर त्यसबेला क्याम्पस प्रमुख हरि थपलियालाई समेत बोलाइएको थियो । मलाई पनि बोलाइएको थियो । छलफलमा महानगरपालिकाले अबदेखि घण्टाघर आफैं हेर्ने भनेको थियो । सम्पूर्ण जे जति मर्मत गर्नुपर्छ त्यो हामी गर्छौँ भन्नुभयो । र, सबै कुराको राय सल्लाह लिने काम भयो । त्यसपछि अवकाश हुनुभन्दा अगाडि एकजना मान्छे हामी दिन्छौं उसले पनि तपाईंले जस्तै चलाउन सक्ने बनाउनुपर्यो । तालिम दिनुपर्यो भन्नुभएको थियो । त्यसको हप्ता दिनमै महानगरका कर्मचारी आएर रंगरोगन गरेका थिए । तर, रंगरोगन गरेर फर्किएका आजसम्म फेरि घण्टाघरमा पाइला टेकेको थाहा छैन ।
३५ वर्ष खिचापोखरीमा डेरा
हुन त घण्टाघरको लागि आवश्यक पर्ने सामान सबै पाइँदैन । सबै आफैंले बनाउनुपर्छ । कुनै आफूले बनाउन नमिल्ने चाहिँ बनाएर ल्याउनुपर्छ । कुनबेला बिग्रिन्छ टुंगो हुँदैन । उसबेला पर्याप्त गाडी थिएनन् । बाटोघाटो थिएन । घर टाढा भएकाले म खिचापोखरीको एउटा अग्लो घरमा डेरा गरेर बसेको थिए । त्योबेला म बस्ने घर ६ तलाको थियो । त्यही घरको छतमा उक्लिएर राति सुत्नुभन्दा अगाडि घण्टाघरको घण्टी सुन्ने गर्थेँ । बिहानै सबेरै उठेर घण्टाघरमै पुग्थेँ । करिब ३०–३५ वर्ष सोही घरमा बिताए । सायद पिँजडामा थुनिएजस्तै जीवन थियो मेरो । जुनसुकै बेला घण्टाघर बिग्रिने भएकाले तयारी अवस्थामा बस्नुपर्दथ्यो । महिनौँ महिनासम्म घर जान पाउँदिन थिएँ ।
कुनै निकायले जिम्मा लिएर, मान्छे दिन्छौं, सिकाइ दे भनेर जिम्मा दिएमा तयार छु । अझै पनि म गएर सिकाउन तयार छु । मैले त्रिचन्द्र अर्थात् घण्टाघरमै जागिर खाएर छोराछोरी पढाए । काठमाडौं आएर र यहीँ बसेर दुःख सुख जीवन गुजारेँ । बुबा–आमाबाट अंश लिएको चार वर्ष मात्र हुँदैछ । नत्र पहिलै मैले घर घडेरी जोडिसकेको थिए ।
एकपटक प्रेस लो भएर ढलेछु । त्यसपछि घर परिवारले गाली गर्न थाले । अनि मात्र बल्ल घर जान थालेको हुँ । म बस्नका लागि डेरामै बसेको हो । तर, सधैं सत्य नै बोल्ने भएर होला मसँग कसैले कोठा भाडा मागेन । जुन घरमा बसेँ त्यो घरमा बिग्रिएका सामना बनाइदिन्थेँ । बिग्रेका कुराहरू मर्मत गर्थे र मर्मत गरेको पैसा लिँदैन थिए । उनीहरू पनि भाडा माग्दैन थिए । मैले ४२ वर्ष प्राविधिक वा इलेक्ट्रिसियनकै रूपमा काम गरेँ । सुरुमा मैले जागिर खाँदा मेरो तलब महिनाको १५० रुपैयाँ थियो, अवकाश हुँदाखेरी ४४ हजार चानचुन पुगेको थियो ।
बेवारिस हुने चिन्ता
तीन दशक संरक्षण गरेर राखेको घण्टाघर पूरै बेवारिस हुने चिन्ता लागिरहन्छ । कसैले जिम्मा लिनुपर्छ भन्ने लाग्छ । कसैले जिम्मा लिएर जगेर्ना गर्नुपर्छ । किनभने उबेला घडीको महत्व थियो । अहिले त मान्छेको हातहातमा घडी र खल्तीमा मोबाइल छ । समयको महत्व छैन । तर, घण्टाघर ऐतिहासिक भएकाले जोगाएर राख्नु हामी सबैको कर्तव्य हो । यो ऐतिहासिक सम्पदालाई पुरातत्व विभागले हेर्नुपर्ने हो तर हेरेन । सय वर्ष नपुगी पुरातत्वले पनि नहेर्ने भनेको रहेछ । बीबीसीले अन्तर्वार्ता लिँदा पनि पुरातत्वले जिम्मेवारी लिनुपर्छ भनेको थियो । तर, भएन ।
अहिले प्रवलीकरण भइरहेको घण्टाघर पहिलाको जस्तै निर्माण हुन्छ । तर, यहाँका सामग्री सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने चिन्ता छ । यतिका वर्ष घण्टाघरको सेवामा बिताएको मलाई भर्खरै मात्र सबैले चिन्न थाल्नुभएको छ । घण्टाघरलाई चिन्नु होला कि नहोला भन्ने चिन्ता छ । तर, हाम्रो समाजमा कामको मूल्यांकन हुँदैन । घण्टाघरलाई के गर्ने, कसरी अगाडि बढाउने भनेर कर्मचारी दिएको भए उसलाई सिकाएर तयारी अवस्थामा राख्न सक्थेँ ।
अहिले दुई–चार दिन, दुई–चार महिना सिकाएर सिक्ने कुरा होइन । दुई–चार वर्ष सिकाउन नै लाग्छ । यसलाई सरकार पक्षबाट कसैले वास्ता गरेको छैन । नगरपालिकाले पनि वास्ता गरेको छैन । अब क्याम्पसले आफ्नो हाताभित्र रहेर तलब दिलायो । तर, संरक्षणमा चासो दिएन । मैले ३ सय ६५ दिन नै ड्युटी गरेँ । २४ घण्टा नै हेर्नुपर्छ भनेर मौखिक सम्झौता भएका हुनाले रातदिन खटेँ । जिम्मेवारी लिएदेखि काठमाडौं बाहिर बसेको भनेको अवकाश लिएपछि मात्र हो । नत्र कुवाको भ्यागुतोजस्तै म घण्टाघरकै रेखदेखमा हुन्थेँ । साँच्चै भन्ने हो भने त एक किसिमले पिँजडामा बसेजस्तो गरी ३५ वर्ष कटाएँ । एक किसिमले गर्व पनि लाग्छ । घण्टाघरसँग मेरो नाम जोडिएकाले खुसी पनि छु ।
किरिया बस्दा मात्र बिदा
यतिका वर्ष घण्टाघरको जिम्मेवारी लिएर बसेँ । भाग्यले भन्नुपर्छ बिरामी भएर हस्पिटल भर्ना हुनु परेको रेकर्ड अहिलेसम्म छैन । त्यति ठूलो बिरामी नि परिएको छैन । भगवानको कृपा भनौं अहिलेसम्म सकुशल छु । नत्र ३ सय ६५ दिनमा ३ सय ६४ दिनै क्याम्पसमा हाजिर भएको छु । आमाको निधन भएका बेला १३ दिन बिदा बसेँ । बुबाको मृत्यु भएका बेलामा १३ दिन घर बसेँ । बुबा बितेको बेलामा त घण्टाघर बन्द नै भयो । आमाको किरियामा बसेकाबेलामा चाहिँ फाट्टफुट्ट चल्या थियो । आमा निधन भएको ०५१ सालमा हो । बुबाको निधन ०७९ सालमा हो । बीचमा छोरालाई नि दुई–चार महिना ल्याएर सिकाएको थिएँ । बन्द भएको बेलामा गएर चलाइदिनु भनेर सिकाएको हुँ । पछि छोराले नि इच्छा राखेन ।
घण्टाघरमा काम गर्दा उच्च पदका मानिससँग खासै भेट भएन । कसैलाई चासो नै छैन । त्यसमाथि म एउटा कामदार मात्र हुँ । भेट्न जरुरी ठानेनन् होला । मभन्दा अगाडि रत्नमान भन्ने व्यक्ति घण्टाघरको रेखदेखमा हुनुहुन्थ्यो । उहाँ नि पाको हुनुभयो होला । रामेश्वर ढकालले पनि काम गर्नुभएको हो । कर्मचारी नहुँदा इण्डियाबाट मिस्त्री ल्याएर पनि घण्टाघर चलाइएको थियो रे । त्यो सधैं सम्भव नहोला ।
मेरो इज्जत नै घण्टाघरमा जोडिएको छ । म बाँचुन्जेल घण्टाघर चलिरहोस् भन्ने लाग्छ । घडी चलिरहेको देख्न पाइयोस् भन्ने ठूलो इच्छा छ । इच्छा भएर र आफूले चाहेर पनि कतिपय कुराहरू हुँदो रहेनछ । पुर्याउन सकिँदो रहेनछ । अब म सधैं गएर बस्न नि सक्दिन । कुनै निकायले जिम्मा लिएर, मान्छे दिन्छौं, सिकाइ दे भनेर जिम्मा दिएमा तयार छु । अझै पनि म गएर सिकाउन तयार छु । मैले त्रिचन्द्र अर्थात् घण्टाघरमै जागिर खाएर छोराछोरी पढाए । काठमाडौं आएर र यहीँ बसेर दुःख सुख जीवन गुजारेँ । बुबा–आमाबाट अंश लिएको चार वर्ष मात्र हुँदैछ । नत्र पहिलै मैले घर घडेरी जोडिसकेको थिए । आफ्नै पसिनाले आफ्नो बन्दोबस्ती गरिसकेको थिए ।
अब सक्दिन
मलाई अब घण्टाघरको जिम्मेवारी दिए पनि मेरो उमेरले सक्दैन । म ६५ वर्षको भइसकेँ । घण्टाघरको माथि तल जान आउन नै म सक्दिन । ८०–९० फिट माथि छ । तलमाथि गर्नै गाह्रो हुन्छ । तर, पनि जिम्मेवारी लिने कुनै निकाय आयो भने चाहिँ सिकाइदिन म अझै पनि सक्छु । पुरा नै घण्टाघर चलाउने हो भने सिकाएरै मर्न तयार छु ।
घण्टाघरमा काम गर्दा उच्च पदका मानिससँग खासै भेट भएन । कसैलाई चासो नै छैन । त्यसमाथि म एउटा कामदार मात्र हुँ । भेट्न जरुरी ठानेनन् होला । मभन्दा अगाडि रत्नमान भन्ने व्यक्ति घण्टाघरको रेखदेखमा हुनुहुन्थ्यो । उहाँ नि पाको हुनुभयो होला । रामेश्वर ढकालले पनि काम गर्नुभएको हो । कर्मचारी नहुँदा इण्डियाबाट मिस्त्री ल्याएर पनि घण्टाघर चलाइएको थियो रे । त्यो सधैं सम्भव नहोला ।
अहिले घण्टाघरको रेट्रोफिटिङ गरिँदैछ । काम सकिएपछि महानगरले चासो लियो भने पुनः सुचारु होला नत्र घण्टाघर सधैंका लागि बन्द पनि हुनसक्छ । पुरानै यन्त्रहरू राखेर घण्टाघर चलाउनलाई मिस्त्री तयार गर्नलाई अब निकै कठिन छ । तर, पनि असम्भव भन्ने कुरा छैन । हुन त इलेक्ट्रिक घडी ल्याएर राख्न पनि सक्छन् । यसै भन्न सकिँदैन । ऐतिहासिक र पुरातात्त्विक महत्वको भएकाले पुरानोलाई नै चलाउनुपर्ने हो ।
(घण्टाघरका अनुभवी र अवकास प्राप्त प्राविधिक गणेश सापकोटासँग नेपाल न्यूज बैंकका युवराज गौतमले गरेको कुराकानीमा आधारित)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।