नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठूलो विषय नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यति सानो विषयलाई ठूलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरूबाट भएको भन्दै आक्रोश व्यक्त गरे ।
‘संघीय निजामती विधेयकभित्रको ट्रेड युनियनको विषय भनेको निकै सानो विषय हो । तर, यसलाई सबैभन्दा ठूलो विषय बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास अहिलेका ट्रेड युनियनका साथीहरूले गरिरहनु भएको छ । यो ठिक भएन । ट्रेड युनियनको कानुन र अधिकारको कुरालाई यति धेरै बलशाली तरिकाले उठाउनुपर्ने अवस्था थिएन । यो विषय सांसदको तर्फबाट उठेको होइन, ट्रेड युनियनको आन्दोलनमा लागेका साथीहरूका तर्फबाट बढी उठेको हो यसरी उठ्नुपर्ने कुनै आधार देख्दिन,’ उनले भने ।
उनले संसदमा वा संसदीय समितिमा सांसदले उठाएका विषयमा अदालतले पनि प्रश्न उठाउन नमिल्ने भन्दै ठूलो ट्रेड युनियनको रूपमा रहेको युनियनका अध्यक्षले धम्कीपूर्णरूपमा विज्ञप्ति निकाल्नु गलत भएको बताए ।
‘संसदमा वा संसदीय समितिमा सांसदहरूले उठाएका विषय अदालतको पनि मसला बन्न सक्दैन । अदालतमा पनि प्रश्न उठाउन पाइँदैन । तर, बोलेर बाहिर नआउँदै मिडियाको हेडलाइनलाई आधार बनाएर नेपालको सबैभन्दा ठूलो ट्रेड युनियनको रूपमा रहेको युनियनको अध्यक्षले हस्ताक्षर गरेर जे विज्ञप्ति निकाल्नुभयो त्यो धम्कीपूर्णरूपमा थियो । त्यो गलत कुरा हो । सांसदले बोलेको कुरालाई केन्द्रित गरेर विज्ञप्ति निकाल्ने र चेतावनी दिने कुरा बेठीक हो,’ बर्तौलाले भने ।
सरकारले महत्व दिएर अगाडि बढाएको विधेयकमाथि यस्तो प्रश्न उठ्नु राम्रो नभएको भन्दै राम्रो काम गर्न खोज्दा पनि गलत भएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।