प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी र अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू)को सहकार्यमा सिन्धुपाल्चोकको सोल्सिङमा रहेको श्री महाकालेश्वरी आधारभूत विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई लक्षित गरेर ल्याब स्थापना गरिएको हो ।
विद्यार्थीलाई डिजिटल साक्षरता प्रदान गर्न र शैक्षिक अवसरहरू सिर्जना गर्ने उद्देश्यले विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले जनाएको छ ।
यो कर्पोरेट सामाजिक उत्तरदायित्व (सिआरएस)कार्यक्रमले प्रविधिमार्फत शिक्षा समानता र पिछडिएका समुदायहरूको सशक्तीकरण गर्ने प्रतिबद्धतालाई उजागर गर्दछ । कम्प्युटर ल्याबले विद्यालय र स्थानीय समुदायलाई आवश्यक कम्प्युटर ज्ञान तथा सीप विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
यस परियोजनालाई टेक्नोलोजी फर अल (टिएफए)ले कार्यान्वयन गरेको हो । टिएफएले पछिल्लो पाँच वर्षदेखि विद्यालयमा डिजिटल क्षमता निर्माणको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहेकाे छ । यसले उनीहरूको अनुभव र स्रोतहरू विद्यालयमा पूर्वाधार निर्माणदेखि शिक्षक प्रशिक्षणसम्मको काममा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
करिब तीन दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेको प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पिइसी)ले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसियु)सँगको सहकार्यमा सम्पन्न गरेको यो दोस्रो परियोजना हो । यसले शैक्षिक उत्कृष्टता र सामुदायिक संलग्नताको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।