दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ । लामो संघर्षपछि निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएपछि पक्ष र विपक्षमा सडकमा मानिसले प्रदर्शन गरिरहेका छन् ।
चिसो मौसमको बाबजुद, स्थानीयको ठूलो भीडले देशको दक्षिणपूर्वको शहर डेगुमा प्रदर्शन गरेको छ । उनीहरूले संवैधानिक अदालतले युनको महाभियोग मुद्दा पारित गर्न माग गरेका छन् ।
युनमाथि शक्तिको दुरुपयोग गरेको र मार्सल कानुन लागु गर्न खोजेको भन्दै महाअभियोग प्रस्ताव संसदमा पुगेपछि निलम्बित छन् । तर, संसदको महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्ने भएकाले महाअभियोग पारित हुनुपर्छ माग बढेको हो ।
सरकारी अधिकारी र युनको महाभियोगको लागि दबाब दिनेहरू बीचको तनाव बढ्दै गएकाले गहिरो राजनीतिक संकट निम्तिँदै गएको छ ।
युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो रोकेको आरोप लागेको छ । पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ ।
सीआईओ अन्वेषक र प्रहरी अधिकारीको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।
अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो । तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्न असमर्थ भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।