logo-img

ओली भन्छन्- देशभक्त एकजुट हुँदा प्रतिक्रियावादी आतंकित बने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतंकित भएको बताएका छन्  । आइतबारदेखि ललितपुरको च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुटाे प्रचारमा लागेकाे टिप्पणी गरेका छन् ।

एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरू लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गरेका हुन् ।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै संगठनहरू उत्साहित भएर व्यक्ति(व्यक्ति र घर-घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ ।’

पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुसी मनाउ गर्नेहरू पश्चाताप गरिरहेका टिप्पणी गरे ।



बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको परराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेटेका छन् ।

नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्य गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास-निर्माणले गति लिएको मुख्य जानकारी गराए ।



एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा सहभागी सदस्यहरु

बैठकमा राजनीतिक प्रतिवेदनका साथै सांगठनिक कामको संक्षिप्त जानकारी, गत वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरूको सम्बोधन र समसामयिक विषयमा महासचिव शंकर पोखरेलले बैठकमा जानकारी गराएका थिए ।



  • प्रकाशित मिति : पुस २१, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया