नेपालको अर्थतन्त्र शिथिल भएको चर्चा सुरु भएको लामो समय भइसक्यो । २०७२ सालको भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीपछि देशको अर्थतन्त्रले लय समाउन नसकेको विज्ञको भनाइ छ । त्यसपश्चात् कोरोना महामारीले त नेपाल मात्र होइन, विश्वकै अर्थतन्त्र धराशायी बनायो । यसपछि पनि रुस–युक्रेन युद्धले नेपालजस्ता परनिर्भर अर्थतन्त्र भएका देशको अर्थतन्त्रलाई प्रभाव पर्यो ।
अझै पनि नेपालको अर्थतन्त्रलाई लिएर ढुक्क हुने अवस्था नरहेको विज्ञले बताउँदै आएका छन् । यद्यपि पछिल्लो समय अर्थतन्त्रको सूचक क्रमिकरूपले सुधार हुँदै आएको सरकारको दाबी छ । सरकारले दाबी गरेजस्तै बाह्य सूचक सकारात्मक नै देखिन्छन् । बाह्य अर्थतन्त्र सकारात्मक देखिँदा समग्र देशको अर्थतन्त्र राम्रो हुन्छ भन्ने होइन । तर, पछिल्लो समय बाह्य अर्थतन्त्रअन्तर्गत पर्ने विप्रेषण राम्रो देखिएको छ भने आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । यस्तै, पर्यटन व्यवसाय सकारात्मक हुँदै गएको छ । देशबाट बाहिर जाने र भित्रिने विदेशी मुद्राको अन्तर शोधनान्तर अनुकूल देखिएको छ । आयातमा नियन्त्रण गरिएकाले धेरै रकम बाहिरिएको अवस्था छैन । निर्यात केही मात्रामा बढेको छ ।
दिगो, भरपर्दो र आत्मनिर्भर हुनका लागि त आन्तरिक अर्थतन्त्र नै बलियो हुनुपर्छ । केही दिनअघि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताएका थिए । सरकारले अर्थतन्त्रका समस्यालाई सूक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एकएक कदम चाल्दै गएको उल्लेख गर्दै उनले भनेका थिए, ‘अर्थतन्त्रका सकारात्मक सूचकलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौँ ।’
अर्थमन्त्री पौडेल मात्र होइन, सरकारमा भएका जो कोही नेताहरूले पनि अर्थतन्त्रमा सुधार आएको बताउँदै मुलुकभित्र लगानीको वातावरण बनेको दाबी गर्दै आएका छन् । तर, सरकार र मन्त्रीले दाबी गरेजस्तो मुलुकभित्रैका लगानीकर्ता भने देशभित्रै लगानी गर्न आकर्षित छैनन् ।
स्वदेशी लगानीकर्ताको अवस्था
सरकारले अर्थतन्त्र सुध्रिएको दाबी गर्दै आए पनि पछिल्लो समय नेपालमा आर्थिक गतिविधि सुस्त हुँदै गएका छन् । उर्वर भूमि, प्रशस्त मात्रामा जलस्रोतको उपलब्धता, जैविक र जलवायु विविधता जस्ता सकारात्मक पक्ष भएपनि स्वदेशी लगानीकर्ता इच्छुक देखिँदैनन् । उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार, चालू आर्थिक वर्षको ५ महिनामा २९२ साना, मझौला तथा ठूला उद्योग दर्ता भएका छन् । जसमा २१ वटा ठूला, १५ वटा मझौला र २५६ वटा साना उद्योग दर्ता भएका छन् । जसबाट ९० अर्ब ९ करोड रुपैयाँको लगानीको प्रस्ताव आएको छ । साथै, १४ हजार १२१ जनाले रोजगारी पाउने बताइएको छ । यो तथ्यांक उद्योग विभागको मात्रै हो । प्रदेश उद्योग विभागमा दर्ता भएको उद्योगहरूको संख्या भने यहाँ समायोजन गरिएको छैन ।
दर्ता हुनेमा ऊर्जामूलक, पर्यटनमूलक, उत्पादनमूलक तथा पूर्वाधारमूलक उद्योग रहेका छन् । पछिल्लो वर्षहरूमा साना र मध्यमस्तरीय उद्योग दर्ता हुने तर सञ्चालन भने न्यून मात्रै हुने गरेको विभागका सूचना अधिकारी ओली बताउँछन् ।
विदेशिने तयारीमा लगानीकर्ता !
नेपालमा लगानी गर्ने वातावरण नै नभएका कारण ठूला लगानीकर्ता आकर्षित नभएको बताउँछन्, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरे । ‘लगानीकर्ताका लागि बजार र वातावरण सबैभन्दा बढी महत्वपूर्ण विषय हो,’ उनी भन्छन्, ‘नेपालजस्तो विकासशील देशमा लगानीका लागि वातावरणले सबैभन्दा बढी महत्व राख्छ । तर, नेपालमा लगानी गर्ने वातावरण नै छैन । सरकारले त्यो वातावरण तयार गर्न सकेको छैन ।’
पहिला लगानी गर्ने लगानीकर्ता पनि सुरक्षित नरहेको घिमिरे बताउँछन् । उनका अनुसार नेपालमा लगानी गर्नु भनेको अभिशाप जस्तो भएको छ । ‘सरकारले पटक–पटक लगानीको वातावरण बन्यो भन्दै आएको छ,’ उनी भन्छन्, ‘तर, सरकारले भाषण गरेजस्तो कुनै वातावरण बनेको छैन । सरकारले वैदेशिक मुद्रा सञ्चितीलाई आधार मानेर अर्थतन्त्र सुध्रियो भनिरहेको छ । रेमिट्यान्सले देश बलियो छ भन्नु भनेको ‘आफ्नो घर जलाएर आगो ताप्नु’ सरह हो । लगानी गर्ने हामीलाई थाहा छ, लगानी कर्ताको पीडा । उत्पादित वस्तु खपत ह्वात्तै घटेको छ । खपत गर्ने मानिस नै विदेश पलायन भएका छन् । लगानीको वातावरण त्यति सहज छैन ।’
बैंकहरूले ब्याजदर घटाउँदा समेत बैंकमा पैसा थुप्रिएर बसेको छ । यदि लगानीको वातावरण भएको भए ब्याजदर घटाउँदासमेत बैंकमा पैसा थुप्रिने अवस्था नहुने अध्यक्ष घिमिरेको भनाइ छ ।
‘पछिल्लो समय कतिपय साना तथा मझौला व्यवसायी नेपालको व्यवसाय छोडेर छोराछोरीको पछि लागेर विदेश पलायन हुन थालेको लगानी गर्ने होइन, उल्टै यहाँ भएको व्यापार व्यवसाय छोडेर मन लाग्दा नलाग्दै छोराछोरीको पछि लागेर विदेश पलायन हुनुपर्ने अवस्था रहेको छ,’ अध्यक्ष घिमिरे भन्छन्, ‘कतिपयले यो बाटो अपनाइसकेका छन् भने कोही अपनाउने तयारीमा छन् ।’
नेपाली उत्पादनहरूले भारत र चीनजस्ता पूर्वाधारमा अब्बल देशहरूका उत्पादनसँग प्रतिस्पर्धा गरिरहनु परेको छ । नेपालमा लगानी लगाउन चाहने र नयाँ युवा उद्यमशील बन्ने इच्छाशक्ति भएपनि सरकारले उपयुक्त वातावरण नबनाएर दिँदा नेपालमा आर्थिक क्षेत्रको विकास हुन सकिरहेको छैन ।
निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानुन नीति नियम बनाउने कानुन निर्माताको सोचमा सकारात्मक परिवर्तन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने अर्थविद्ले औंल्याउँदै आएका छन् । सरकारले नीतिगत र कानुनीरूपमा सहजीकरण गरिदिए मात्र विदेशी वा स्वदेशी लगानी बढ्छ ।
पर्ख र हेरको अवस्थामा छन् लगानीकर्ता !
पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख हुँदै गए पनि अझै लगानी कर्ता ‘पर्ख र हेर’ कै अवस्थामा रहेको बताउँछन्, अर्थविद् प्रा. डा. गोविन्द नेपाल । ‘पहिलाको तुलनामा बाह्य अर्थतन्त्र सकारात्मक देखिएको छ,’ उनी भन्छन्, ‘तर, यति हुँदाहुँदै पनि लगानीकर्ता उत्साहित छैनन् । लगानी ठप्पै छ । लगानीकर्ताको ‘कन्फिडेन्स’ वृद्धि हुन सकेको छैन ।’
स्वदेशी लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन सबैभन्दा ठूलो बाधक अस्थिर राजनीतिक रहेको उनी बताउँछन् । कुनै पनि दलको बहुमत नभएको अवस्थामा पटक–पटक सरकार परिवर्तन भइरहने हुनाले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने अवस्था छैन । सरकार फेरिनेबित्तिकै नीति फेरिने, कर्मचारी फेरिने र फाइल नै गायब हुने प्रवृत्तिले लगानीकर्ता उत्साहित नभएको उनको भनाइ छ ।
‘जबसम्म सरकार स्थिर हुँदैन । तबसम्म लगानीको वातावरण बन्दैन,’ अर्थविद् नेपाल भन्छन्, ‘कुनै पनि लगानीकर्ताले लगानी गर्नुअघि देशको राजनीतिक, आर्थिक, कानूनी अवस्थाका साथै लगानी र फाइदाका अवस्थाहरूको गहन विश्लेषण गर्छन् । यी अवस्था राम्रो नभए पछि कसले लगानी गर्ने ?’
अहिलेको अवस्थामा लगानीकर्ता उत्साहित नहुनुको अर्को कारण हो, भ्रष्टाचार । कम्पनी खडा गर्नेदेखि लगानी ल्याउने चरणसम्म कर्मचारीलाई घुस नबुझाइ फाइल अघि नबढ्ने प्रवृत्ति छ । नेपालको अस्थिर राजनीतिको मतलव नगरेर लगानी गर्छु भन्ने लगानीकर्ता पनि भ्रष्टाचारका कारण लगानी गर्न डराइरहेका छन् ।
साथै, अहिले पनि कयौँ ऐन कानुन लगानीका लागि बाधक छन् । केही नीति नियममा स्वार्थ समूहका कयौँ अनुकूल प्रावधान राखिएका छन्, जसले वास्तविक लगानीकर्तालाई आकर्षित हुन नसकिरहेको अर्थविद् नेपालको भनाइ छ । यस्तै, पछिल्लो समय युवा पुस्ता पलायनले पनि लगानी कर्ता लगानी गर्न डराई रहेको उनी बताउँछन् । ‘युवा पुस्ता सबै विदेश पलायन छन् । सबै वस्तुको खपत घटेको छ । पहिला गरिरहेको लगानीसमेत छोड्नुपर्ने अवस्था छ,’ नेपालले भने ।
एनका अनुसार नेपालमा लगानीको वातावरण नभएपछि पछिल्ला वर्षमा ठूलो पूँजी पलायन भइरहेको छ । नेपालबाट पैसा हुन्डी र अन्य अवैध माध्यमबाट बाहिर लैजानेको संख्या बढेको उनको भनाइ । साथै उनीहरू मलेसिया, दुबईलगायतका देशमा लगानी गर्न थालेका छन् । सानादेखि ठूला उद्यमी, व्यवसायी र सर्वसाधारण समेत भइरहेको व्यवसाय बिक्री गरेर विदेशीले मनसाय बनाइरहेको अर्थविद् नेपाल बताउँछन् ।
‘अहिले नयाँ लगानी गर्नेभन्दा पनि भइरहेको लगानी पनि कसरी बिक्री गर्न भन्ने मनसाय बनाइरहेका छन् । पछिल्लो समयमा नेपालमा ठूलो मात्रामा उद्योग व्यवसायमा संलग्न मारवाडी समुदाय त्रसित छन् । लगानीकर्ताहरू विदेश पलायन हुन आतुर छन् । अब पनि सरकारले भरोसा नदिए पलायन हुने खतरा अझै बढ्छ,’ उनले भने ।
अब सरकारले ढिला नगरी स्वदेशी लगानीकर्ता उत्साहित हुने वातावरण सरकारले बनाउनु पर्ने उनको भनाइ छ । ‘लगानीको वातावरण आजको भोलि बन्ने कुरा होइन,’ अर्थविद् नेपाल भन्छन्, ‘लगानीको वातावरण बनाउन सरकार आजैदेखि लाग्नुपर्छ । लगानी पलायन हुनबाट रोकेर लगानी सुरक्षाको भरोसा दिलाउनुपर्छ ।’
नेपालमा कृषि, पर्यटन, खानी, जलाशयलगायत क्षेत्रमा लगानीको सम्भावना व्यापक छ । सरकारले सही नीति र लगानी सुरक्षाको प्रत्याभूति लगानीकर्तालाई दिनुपर्ने उनको तर्क छ । आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन राज्यले राजनीतिक स्थिरता, सुशासन र भ्रष्टाचारमुक्त वातावरणको निर्माण गर्न विशेष ध्यान दिन आवश्यक रहेको अर्थविद् नेपालको जोड छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।