logo-img

कूटनीतिक नियोग नहुँदा अफ्रिकामा नेपालीले दुःख पाए : हिक्मत थापा [अन्तर्वार्ता]
‘अफ्रिकी मुलुक धेरै अघि बढिसके, नेपालले सिक्नुपर्छ’

हिक्मत थापा दुई दशकदेखि अफ्रिकाको नाइजेरियामा बसेर व्यवसाय गर्दै आइरहेका छन् । लेखक एवं साहित्यकारका साथै सामाजिक अभियन्ताको परिचय बनाएका थापा गैरआवासीय नेपाली संघ (एनआरएन) लाई अफ्रिका महादेशमा विस्तार गर्न, समस्या परेका नेपालीको उद्धार गर्न, नेपालको पर्यटन प्रवर्द्धन गर्न र प्रत्यक्ष वैदेशिक लगानी स्वदेश भित्र्याउने काममा समेत सक्रिय छन् । प्रस्तुत छ, अफ्रिकामा रहेका नेपालीको समस्याबारे केन्द्रित भएर थापासँग आकांक्षा धामीले गरेको कुराकानी :

लामो समयदेखि अफ्रिकामा हुनुहुन्छ । त्यहाँका नेपालीको अवस्था कस्तो छ ? कसरी जीवन निर्वाह गरिरहेका छन् ? 

१९ वर्षदेखि अफ्रिकामा बसोबास गरिरहेको छु । १० हजारभन्दा बढी नेपाली अफ्रिकामा बसोबास गर्छन् । धेरैजसो  नेपाली विभिन्न  सेक्टरमा विज्ञको रूपमा काम गरिरहेका छन् । दक्ष जनशक्तिका रूपमा क्रियाशील छन् । डाक्टरदेखि लिएर इन्जिनियर, एकाउण्टेन, सेफ, सेल्स मार्केटिङका विज्ञ र सेक्युरेटीमा थुप्रै नेपाली काम गरिरहेका छन् । अपेक्षाकृतरूपमा अफ्रिका राम्रो छ । पछिल्लो समयमा मानव तस्करले अफ्रिकालाई बाटो बनाएर बिचल्ली बनाएको समाचार आइरहेका छन् । मानवतस्करले अफ्रिकाका कतिपय देशमा नेपाली चेलीलाई रेष्टुरेण्टमा अवैधरूपमा नृत्य गर्न लगाइरहेका छन् । यो नयाँ समस्याको  रूपमा आइरहेको छ । त्यसबाहेक सबै नेपालीले राम्रो गरिरहेका छन् । धेरै नेपाली आफ्नै  बिजनेशमा व्यस्त छन् । कसैले उद्योग कसैले आफ्नै कम्पनी खोलेर व्यापारमा स्थापित हुनेक्रम बढिरहेको छ । 

नेपालीको रोजाइमा अफ्रिकाका कुन देश प्राथमिकतामा छन् ? 



पछिल्लो समय सेसेल्समा बढी नेपाली बसोबास गरिरहेको अवस्था छ । सेसेल्स भनेको अफ्रिकाको सबैभन्दा सानो देश हो । जहाँ एक लाख जनसंख्या छ । साथै सम्पन्न देश पनि हो । यसैगरी दक्षिण अफ्रिकामा पनि नेपालीको बसोबास राम्रो छ । नाइजेरियादेखि केन्या, युगान्डा अन्य थुप्रै देशमा पनि नेपाली छन् । 

अफ्रिका र नेपालबीचको  कूटनीतिक, व्यापारिक र  सांस्कृतिक सम्बन्ध कस्तो छ ? 



वास्तवमा भन्ने हो भने नेपाल र अफ्रिका जोडिएको छैन । नेपालका दुईवटा दूतावास छन् इजिप्टमा । महेन्द्र सरकारको पालामा मुख्यरूपमा इजिप्ट देश थियो । विशेषगरी त्यतिबेला त्यो दूतावासले अरब देशलाई हेर्ने गर्दथ्यो । साउथ अफ्रिकामा भर्खरै दूतावास खुलेको छ । नेपालमा अरू अफ्रिकन देशको दूतावास इजिप्टबाहेक छैनन् । अरू दिल्लीमा छन् । ती देशहरूसँग दोहोरो व्यापार वा दोहोरो पर्यटन प्रवर्द्धन खासै प्रभावकारीरूपमा भएको छैन । अहिले केही अफ्रिकन विद्याथी काठमाडौंमा पढिरहेका छन् । सामान्य व्यापार छ । नेपालको पनि अफ्रिकासँग खासै राम्रो व्यापार छैन । तर, अब नेपालीका लागि अफ्रिका रोजाइमा परिरहेको छ । यसबाट चाहिँ व्यापार र व्यवसाय बढ्छ भन्नेमा आशावादी हुन सकिन्छ । 

अफ्रिका आवतजावत गर्न नेपालीलाई कतिको सहज छ ?



सजिलो त पक्कै छैन । किनभने सिधै अफ्रिका जाने फ्लाइट छैन । नेपालीले  भारतबाट जानुपर्ने अवस्था छ । पहिलेभन्दा धेरै कुरा परिवर्तन भएकाले भिसामा चाहिँ सहजता छ । 

नेपालीको  सांस्कृतिक परम्परा र जीवनशैली  अफ्रिकी समाजसँग कसरी घुलमिल भएको छ ?

दक्षिण अफ्रिकामा त दोस्रो पुस्ताका नेपाली छन् । ४० वर्षभन्दा बढी वर्षका नेपाली स्थायीरूपमा अफ्रिका बसेका छन् । नेपाली संस्कृति दसैँ, तिहार कसैले बिर्सेका छैनन् । अरू देशमा पनि नेपाली पर्वको बेला सबै मिलेर मनाउने चलन छ । यसैगरी अफ्रिकामा पनि नेपाली कलाकार जाने चलन सुरु भएको छ । नेपाली संस्कृतिलाई पनि फैलाउने प्रयास भइरहेका छन् । अफ्रिकन समाज भनेको काला जातिका मानिस मात्र बसोबास गर्ने समाज हो । उनीहरू पनि प्रायः धेरै आदिवासी छन् । नेपाली जस्तै संस्कृति, खानपान र रमाउने प्रवृत्ति उनीहरूमा पनि छ । उनीहरू पनि हाम्रो संस्कृतिसँग धेरै नै घुलमिल भएका छन् । हाम्रो संस्कृति झल्काउने विषयमा कुनै असहज छैन । भाषा अंग्रेजी बोल्दा हुन्छ । त्यसैले अफ्रिकन समाजसँग घुलमिल हुन कठिनाइ छैन । त्यहाँको समाजमा संस्कृति र खानपानसँग घुलमिल हुन नेपालीलाई अलिक गाह्रो छ । त्यहाँका सांस्कृतिक पर्वहरू अप्ठ्यारो हुन्छन् । तर, उनीहरू हामीसँग घुलमिल हुन रुचाउँछन् । 

यतिबेला त्यहाँका नेपालीले भोग्नु परिरहेको समस्या र चुनौती के–के हुन् ? 

सबैभन्दा ठूलो चुनौती भनेको दूतावासको अभाव हो । अफ्रिकामा ५४ वटा देश छन् । पासपोर्टको समय सकियो भने या नयाँ पासपोर्ट लिनुपर्यो भने, श्रम स्वीकृति लिनुपर्यो भने दूतावास नहुँदा नेपालीले धेरै समस्यासँग जुध्नु परिरहेको छ । पीरमर्का पर्दा अरू देशका नागरिकलाई दूतावासले सहयोग गर्दा नेपालीलाई सहयोग गर्ने कोही हुँदैन । त्यहाँका देशमा नेपाली जनसंख्या बढ्दै गइरहेको छ । अब विस्तारै समस्या बढ्दै जान्छन् । त्यसैले नेपाल र अफ्रिकामा नेपाली र अफ्रिकी दूतावास खोल्न आवश्यक छ । अफ्रिकामा दुईवटा मात्र छन् । तर, नेपालमा एउटा पनि छैन ।  यसका लागि हामीले आवाज उठाउँदै आइरहेका छौँ । नाइजेरिया, केन्यालगायत देशमा एम्बेसी खोल्न ढिला भइसक्यो । यसले नेपाली व्यक्तिलाई मात्र सहज हुने होइन व्यापारका सम्भावना पनि बढ्दै जान्छन् । पर्यटनका सम्भावना पनि थुप्रै छन् । आर्थिक हिसाबमा थुप्रै देश अगाडि बढिरहेका छन् । यसैगरी नेपाली उत्पादित  वस्तु पनि आयात निर्यात गर्न सजिलो हुन्छ र अर्थतन्त्र बढाउन सकिन्छ । कूटनीतिक सम्बन्धबाट दुवै देशले समन्वय गर्यो भने नेपाललाई धेरै कुरामा फाइदा हुन्छ । 

अफ्रिकामा रोजगारी पाउन नेपालीलाई कतिको सहज छ ? 

खासै त्यस्तो गाह्रो छैन । तयारी र योजनाअनुसार काम गर्न सक्नुपर्छ । आफ्नो  काममा सीप हुनुपर्छ । जुनसुकै पेसा भए पनि त्यो पेसामा दक्ष हुनुपर्‍यो । जुनसुकै  पेसामा पनि दक्षलाई काम पाउन गाह्रो छैन । आफैं खोजेर अथवा हायरिङ् एजेन्सीमार्फत काम पाउन सकिन्छ । 

सुरक्षाको अवस्था चाहिँ कस्तो छ ? 

नेपालीलाई सुरक्षाको समस्या छैन । अफ्रिकामा ५४ वटा देश छन् कुनै देश सम्पन्न छन् भने कुनै देश धेरै गरिबीमा छन् । कुनै देशमा तीव्र गतिमा विकास भइरहेको छ, कुनैमा अझै पनि लडाइ छ । युद्धग्रस्त क्षेत्रमा नेपालीसँगै त्यहाँको नागरिकलाई पनि समस्या हुन्छ । नत्र भने सुरक्षा राम्रो नै छ । विगतमा युद्धको समयमा केही नेपालीले ज्यान गुमाउनु परेको थियो । यस्ता घटना कहिलेकाहीँ हुन्छन् ।  नभए त्यस्तो खतराको अवस्था छैन । 

तपाईंको अनुभवमा नेपाल र अफ्रिकाबीच के कस्तो भिन्नता पाउनुभयो ?

धेरै देशहरू छन्, जसमध्ये कुनै धेरै राम्रा छन् । कुनै नेपालको जस्तै ढिलो विकास, भ्रष्टाचार, राजनीतिक व्यवस्था राम्रो नभएका देशहरू पनि छन् । राम्रो देशको उदाहरण हेर्ने हो भने नेपालले सिक्ने धेरै कुरा छन् । २०–२५ वर्ष अगाडि हाम्रो देशजस्तै द्धन्द्धमा फसेका अझ नेपालभन्दा पनि नराम्रो अवस्थामा रहेका, नेपालभन्दा गरिब देश अहिले एकदमै तीव्र गतिमा अगाडि बढिरहेका छन् । नेपालको तुलनामा धेरै कम कच्चा पदार्थ भएका देश पनि अगाडि लागेका छन् । त्यसैले हामीले सिक्ने कुराहरू धेरै छन् । 

अफ्रिकामा रहेका नेपाली युवालाई स्वदेशमै फिर्ता गर्न सकिन्छ ? के चाहन्छन् उनीहरू ? 

अफ्रिका मात्र होइन संसारभर नै रहेका पहिलो पुस्ताका नेपालीहरू नेपाल नै फर्कन चाहन्छन् । तर दोस्रो पुस्ता उतै जन्मेको हुनाले उनीहरुलाई उतै राम्रो लाग्छ । सबैको नेपाल आउने सोच हुन्छ तर नेपालमा बस्ने, रोजगारी दिने वातावरण नै छैन । त्यो वातावरण बनेको भए हुन्थ्यो । नेपालमा बस्न पाए हुन्थ्यो भन्ने सबैको धारणा छ । नेपालमा पछिल्लो दिनमा केही सकारात्मक कामहरू भइरहेका छन् । यस्तै हुने हो भने सबै आउन चाहन्छन् । 

तपाईं लामो समयदेखि एनआरएनएको अभियानमा हुनुहुन्छ । यतिबेला यो संस्थाको अवस्थालाई कुनरूपमा हेरिरहनु भएको छ ? 

म लामो समय एनआरएनएमा रहेर काम गरेँ । अफ्रिकाका थुप्रै देशमा एनआरएनएका शाखा विस्तार गर्न मैले पहल गरेको हुँ । एनआरएनएको दुईवटा काम हो । एउटा बाहिर भएका नेपालीलाई अप्ठ्यारोमा सहयोग गर्ने र नेपाली साहित्य, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने हो । अर्को कुरा भनेको नेपालको समृद्धिका लागि एक अंशका रूपमा काम गर्ने हो । आफूले कमाएको पैसा मात्र होइन ज्ञान, अनुभव सबै नेपालमा लगानी गरेर नेपाललाई पनि समृद्धिको बाटोमा लाने हो ।  एनआरएनएको उद्देश्य पनि त्यही हो । एनआरएनए सही बाटोमा थियो । संस्था ठूलो भएपछि, सम्पन्न भएपछि गलत नियत भएका मान्छेहरूले आफ्नो व्यक्तिगत पैसा र राजनीतिक शक्ति प्रयोग गरेर संस्थामा आउन खोजे । जसले गर्दा राम्रो मनसाय लिएर काम गरिरहेकाहरू पछाडि परे ।  

यसमा दुई नम्बरका तस्कर जसले मानवदेखि आर्थिक तस्करी गरिरहेका छन् । राजनीतिमा लागेका मान्छे अगाडि आउन खोज्दा झन् समस्या हुँदै गयो । जसका कारण गलत प्रवृत्ति संस्थामा भित्र्यायो । त्यसपछि संस्था अहिले तीन, चारवटा समूहमा विभाजित छ । दुःख लाग्छ एनआरएनए भनेर गर्वका साथ हिँड्ने हामी निराश छौँ । हामी चाहन्छाैँ, प्रयास पनि जारी छ–एनआरएनए नेपालीका लागि बलियो बन्नुपर्छ । हुन्छ पनि होला, सधैं गलतको मात्र विजय हुँदैन ।  

संस्थालाई जोगाउन र सबैको साझा बनाउन के विधि अपनाउनुपर्छ होला ? 

अदालतले पनि एउटा निकास दिन खोजिरहेको छ । तर, विशेषरूपमा एनआरएनएका नेतृत्वले जसले संस्था स्थापना गरेको थिए उहाँहरूले आफ्नो व्यक्तिगत स्वार्थ अथवा नेपालको राजनीति जस्तै मेरो कब्जामा हुनुपर्यो अथवा मेरो मात्र नाम र फ्रेम हुनुपर्छ भन्ने छ तर त्यसरी हुँदैन । संस्था सबै नेपालीको हो । गैरआवासीय नेपालीले जे आर्जन गरे त्यसलाई नेपालको समृद्धिको लागि लगानी गर्नुपर्छ । 

यस्तै, संस्था स्थापना गरेका अध्यक्षहरूले गलत तथ्यलाई हातमा नलिने हो भने संस्था राम्रो भएर जान्छ । त्यो बाटोमा पनि गएको छ, राम्रो हुन्छ भन्ने आशा र विश्वास पनि छ । हामीले हाम्रोतर्फबाट गर्ने काम गरिरहेका छौँ । 

नेपाल–अफ्रिका कूटनीतिक र व्यापारिक सम्बन्धलाई सुधार गर्नको लागि के–के कुरामा ध्यान दिनुपर्छ ?

विशेषतः दूतावासलाई नै बढाउनुपर्छ । अफ्रिकासँग धेरै कुरामा सहकार्य गर्न सक्छौँ । लगानी, उद्योग, कृषि र विशेषगरी पर्यटनका विषयमा, कूटनीतिक उपस्थिति बढाउनुपर्छ र उनीहरूको कूटनीतिक उपस्थिति नेपालमा बढाउनुपर्छ । नेपालमा उत्पादित सामग्री धेरै मात्रामा अफ्रिका गएको थाहा छैन । हाम्रा उत्पादनहरू के हुनसक्छ भनेर सोच्नुपर्छ । जस्तैः भारत र चीनबाट धेरै कुराहरू अफ्रिकामा गएको हुन्छ । नेपाली कच्चा पदार्थ, नेपाली हर्बलहरूदेखि थुप्रै सम्भावना छन् । तीनिहरूलाई लान सक्नुपर्छ अथवा अफ्रिकाबाट पनि नेपालमा सोझै व्यापार हुने व्यवस्था गर्नुपर्छ । अहिले सबै भारत हुँदै ल्याउनुपर्ने अवस्था छ । साथै आयात र निर्यात गर्दा व्यापार पनि बढ्छ । यसका लागि सबैले पहल गर्नुपर्छ ।  एनआरएनएका तर्फबाट पनि  पहल गरिरहेका छाैँ । अफ्रिकामा केही नेपाली कम्पनी खोल्न सुरु पनि भएका छन् । मैले पनि ठूलो लगानी ल्याउन खोजिरहेको छु । 

अन्य कम्पनी पनि नेपालमा आउन खोजिरहेका छन् । त्यसको लागि लगानीमैत्री वातावरण राज्यले बनाउनुपर्छ । सरकार सहयोगी र लगानीमैत्री छैन । यसमा ध्यान दिनुपर्छ । विदेशी प्रविधि, पुँजी ल्याउनैपर्छ । त्यसका लागि वातावरण बनाउनुपर्छ । राज्यले प्रत्यक्षरूपमा लगानी गर्ने वातावरण पनि बनाउनुपर्छ । देशको आर्थिक सुधार नै व्यापार र उद्योगले हुन्छ भन्ने कुरा सरकारले बुझ्नुपर्ने हुन्छ । 

तपाईंले देखे/भोगेको अफ्रिका र अरूले भन्ने गरेको अफ्रिकामा के फरक छ ? 

भन्ने र सुन्ने गरेको अफ्रिकामा बिलकुलै फरक छ । एकदमै गरिबी, भोकमरी, युद्ध र द्वन्द्व मात्र छ भनेर बुझ्ने गरिन्छ । तर, देखेको र भोगेको अफ्रिका फरक छ । अहिले धेरै परिवर्तन आइसकेको छ । द्वन्द्वबाट पनि अगाडि बढिसकेको छ र समृद्धिमा पनि धेरै अगाडि बढेको छ । अफ्रिकामा सम्पन्न मानिस पनि छन् । आर्थिक समृद्धि नै देश र नागरिकलाई चाहिने पहिलो कुरा हो भन्ने त्यहाँका धेरैजसो सरकारले बुझेका छन् । प्रयास गरिहरहेको छन् । जुन हाम्रोमा छैन । हाम्रोमा मात्र राजनीति कलह र सत्ता कुर्सी मात्रै छ । भिजन नै छैन । आर्थिक समृद्धिको उपाय बाटोको निम्ति प्रतिबद्धता अथवा त्यसका लागि सोच्दै सोचेको छैनौँ । 

आर्थिक समृद्धि पहिलो कुरा हुनुपर्छ । हामीसँग स्रोत छ साधन छ, सबै छ । अप्ठ्यारोबाट सिकेको पाठ मैले पनि त्यही हो । सम्भव हुँदो रहेछ । हाम्रोभन्दा बढी द्वन्द्व भएको ठाउँ वा बढी मानिस मारिएको ठाउँमा वा बढी गरिबी, कम स्रोत–साधन भएको ठाउँमा पनि सहज आर्थिक समृद्धि सम्भव छ । मैले सिकेको पनि यही हो ।  

  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया