भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७औँ वार्षिक साधारण सभामा उनले अब सहकारी चाहिँदैन भन्नेलाई चुनौती दिनको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुस गराउने गरी काम गर्नुपर्ने बताए ।
‘अहिले सहकारी एउटैखाले हुन् । सहकारी ठिक छैनन् । अब सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ । तिनीहरूलाई चुनौती दिनको लागि र सहकारी ठिक छन्, वास्तविक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवन स्तर उकास्ने ठाउँ भनेको सहकारी हो । किनभने सहकारीमा बचत जम्मा गर्छौँ, त्यही परिचालन गर्छौँ । अनि व्यवसाय निर्माण गर्छाैँ । त्यसकारण हामी सहकारीमा फिँजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ,’ मन्त्री अधिकारीले भने ।
उनले सरकारले विभिन्न संघसंस्था र सहकारीलाई अपेक्षा गरेअनुसारको सहयोग गर्न नसकेको बताए । सबैले सरकारको मुख ताक्ने मात्र नभइ आ–आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनको भनाइ छ ।
‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्था अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ । त्यो हुन सकेको छैन । त्यसैले सरकारको मुख ताक्ने मात्र होइन हामी सबल भएको छौँ । हामीले पनि पहल गर्नुपर्छ,’ मन्त्री अधिकारीले भने ।
उनले ऐन कानुन पुरानै हुँदा पुराना कानुनले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।