दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न प्रहरीसँग आग्रह गरेका छन् । राष्ट्रपतिबाट निलम्बित युनले सुनुवाइका लागि उपस्थित हुन अस्वीकार गरेका छन् ।
गत हप्ता प्रहरीले पक्राउ गर्ने प्रयास गरे पनि उनी आफ्नै निवासमा लुकेको र सेनाले मानव पर्खाल खडा गरेर प्रहरीलाई उनीसम्म पुग्न अवरोध गरेको थियो । सेनाको कारण उनलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएको थियो । अनुसन्धानकर्ताहरूले वारेन्टको सोमबारको समयसीमा बढाउने प्रयास गरिरहेका छन् र मद्दत मागिरहेका छन् ।
भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) का अनुसन्धानकर्ताहरूले आफूहरूले भोग्नुपरेको कठिनाइका कारण प्रहरीलाई जिम्मा लिन आग्रह गरेको बताएका छन् । युनको कानुनी टोलीले उनलाई पक्राउ गर्ने सीआईओको अधिकार नभएको भनी विरोध जनाएका छन् ।
वारेन्टको म्याद आज सकिँदै छ । सीआईओका उपनिर्देशक ली जे–सेउङले पत्रकारसँगको ब्रिफिङमा भने, 'हामी आज अदालतबाट म्याद थपका लागि अनुरोध गर्ने योजनामा छौँ ।' उनले वारेन्टको म्याद थप गर्ने भन्ने विषयमा प्रहरीसँग परामर्श गर्ने बताए । प्रहरीले उक्त अनुरोध स्वीकार गरेको छैन । गत हप्ता सयौं सुरक्षा बलसँग घण्टौँ लामो तनावपूर्ण गतिरोधपछि अनुसन्धानकर्ताहरूले सुरक्षाको कारण देखाउँदै फिर्ता भएका थिए ।
केही समयका लागि नागरिक शासन निलम्बन गरेको र दक्षिण कोरियालाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा फसाएको अभियोगमा दोषी ठहरिएमा युनलाई जेल वा मृत्युदण्डको सजायसम्म हुन सक्नेछ । ‘प्रेसिडेन्सियल सेक्युरिटी सर्भिस’ले मध्यरातसम्म राष्ट्रपतिको सुरक्षा गर्नेछ । सोमबार मध्यरातपछि युनविरूद्धको पक्राउ आदेश निष्क्रिय हुनेछ र अर्को आदेश भएमा फेरि हामी आफ्नो जिम्मेवारीका लागि तैनाथ हुनेछौँ,' प्रेसिडेन्सियल सेक्युरिटी सर्भिसलाई सहयोग पुर्याउँदै आएका युनको समर्थनमा प्रदर्शनका आयोजकमध्येका एक किम सो योङले भने ।
'उनीहरूले अर्को वारेन्ट जारी गरे भने हामी फेरि आउनेछौँ,' उनले दोहोर्याए । बिहानीपखको कुहिरोमा युनको पिपुल पावर पार्टीका दर्जनौँ सांसद राष्ट्रपति निवासअगाडि उभिएका थिए । अघिल्लो दिनदेखि युनको पक्ष र विपक्षमा दर्जनौँले रातभर पहरा दिएपछि पक्राउका लागि गएको प्रहरीको अभियान विफल भएको थियो ।
'म अहिले सीआईओभन्दा लामो समयदेखि यहाँ छु । तिनीहरूले किन त्यसो गर्न सक्दैनन् भन्ने कुराको कुनै अर्थ छैन । उनीहरूले उनलाई तत्काल पक्राउ गर्न आवश्यक छ,' युनविरोधी प्रदर्शनका आयोजक ३० वर्षीय किम अह–योङले भने । प्रारम्भिक पक्राउ पूर्जी यूनले आफ्नो ‘मार्शल ल’ जारी गर्ने कदमका लागि जारी गरिएको थियो यसबारे सोधपुछको लागि उपस्थित हुन उनले इन्कार गरेका छन् ।
युनका वकिलले पक्राउ पूर्जी जारी गरिनु ‘गैरकानुनी’ भएको पटक–पटक बताउँदै आएका छन् । युनको राष्ट्रपति सुरक्षा सेवाका प्रमुखले पनि आइतबार निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्न अनुसन्धानकर्तालाई अनुमति नदिने बताए । यसैबीच, कोरियाली विवादबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार बिहान सियोल पुगेका छन् । उनले कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकलगायत विभिन्न सरकारी अधिकारीसँग छलफल गरे ।
ब्लिन्केनले युनलाई भेट्ने कार्यक्रम नभए पनि विदेशमन्त्री चो ताइ–युलसँग संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन सुरु हुनुभन्दा केही समयअघि उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा खसालेपछि उनको ध्यान आन्तरिक राजनीतिबाट हटेको देखिएको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले युनविरुद्धको महाभियोगबारे सुनुवाइ सुरु गर्न जनवरी १४ तारिखका लागि समय तोकेको छ। उक्त दिन युनको उपस्थिति बिना नै सुनुवाइ सुरू गरिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।