logo-img

आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ

जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । 

पहिलो इनिङमा सस्तैमा अलआउट भएको आर्मीले दोस्रो पारीमा केही सुधारिएको प्रदर्शन गर्‍यो । यस इनिङमा आर्मीका लागि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । उनले १३८ बलमा १० चौका र एक छक्कासहित अविजित ८२ रनको पारी खेले ।

यस्तै, तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन जोडे । पुलिसका लागि कुशल भुर्तेलले चार, गुलशनकुमार झाले तीन, ललित राजवंशीले दुई तथा राशिद खानले एक विकेट लिए ।  



वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा पहिलो इनिङमा आर्मी क्लब ३४.४ ओभरमा १ सय २१ रनमै अलआउट भएको थियो । 

उसका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२ र पवन कार्कीले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 



आर्मीको इनिङ ध्वस्त पार्नेक्रममा पुलिस क्लबका बायाँहाते स्पिनर ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले १४।४ ओभरमा ४ मेडनसहित ४७ रन दिएर सर्वाधिक सात विकेट लिए ।



यस्तै, पुलिस पहिलो इनिङमा १ सय २५ रनमै अलआउट भयो । ऊ पहिलो इनिङमा ३३.१ ओभरमा १ सय २५ अलआउट भएको हो । योसँगै पुलिसले ४ रनको अग्रता लिएको थियो । 

उसका लागि गुलशन झाले ५४ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर रानाले १३, दिलिप नाथ र प्रेम तामाङले १०/१० रन जोडे । 

आर्मीका लागि बलिङमा स्पिनर साहब आलमले सानदार प्रदर्शन गरे । उनले १५.१ ओभरमा एक मेडनसहित ५९ रन दिएर ८ विकेट लिए । यस्तै, सोमपाल कामी र पवन कार्कीको नाममा एक/एक विकेट रह्यो । 

  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया