logo-img

बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध दोस्रोपटक पक्राउ पुर्जी जारी
फाइल तस्बिर

बंगलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बितारहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । 

उनको १५ बर्से कार्यकालमा उनका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू भएको र व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको आरोप लागेको छ । 

घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का मुख्य अभियोजक ताजुल इस्लामले दोस्रो पक्राउ पुर्जी उहाँको शासनकालमा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूसँग सम्बन्धित रहेको बताए । 



बङ्गलादेशी सुरक्षाकर्मीले ५०० भन्दा बढी व्यक्तिलाई गैरकानुनीरूपमा नियन्त्रण गरेका थिए भने तीमध्ये केहीलाई वर्षौंदेखि गोप्य स्थानमा राखिएको थियो ।

पूर्व प्रधानमन्त्री हसिनाले सत्ता छोडेसँगै पीडितहरूले भोगेका कष्टदायी घटनाहरू सार्वजनिक गर्न थालेका छन् ।



‘अदालतले शेख हसिना र उहाँका सैन्य सल्लाहकार, सैनिक कर्मचारी र अन्य कानून प्रवर्तन अधिकारीहरू सहित ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ,’ इस्लामले पत्रकार सम्मेलनमा भने । 

बङ्गलादेशले गत डिसेम्बरमा भारतलाई हसिनालाई मुद्दाको सामना गर्न फिर्ता पठाउन आग्रह गरेको थियो तर दिल्लीले त्यसको जवाफ दिन अस्वीकार गरेको थियो ।



इस्लामले अदालतले मुद्दाको सुनुवाइ अघि बढाउन चाहेको बताएका छन् । 

‘हामी जतिसक्दो चाँडो मुद्दाको सुनुवाइ टुङ्ग्याउन चाहन्छौं, तर यसको अर्थ यो होइन कि हामी कानुन भङ्ग गर्छौँ वा उचित प्रक्रिया बिना नै फैसला दिन्छौं,’ उनले भने ।

हसिनाको सरकार ढलेपछि उनका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको छ । उनीहरूलाई प्रहरी नियन्त्रण र कारबाहीमा संलग्न रहेको आरोप लगाइएको छ । उक्त कारबाहीमा ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।  

  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया