नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले आफ्नो धर्ना तोडेका छन् । नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहेका चापागाईँले सोमबार शिक्षामन्त्री विद्या भट्टराईको भेटपछि धर्ना तोडेका हुन् ।
शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई माइतीघर मण्डला गएकी थिइन् । चापागाईंलाई भेटेपछि मन्त्री भट्टराईले सबै मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएकी छन् ।
उनले भनिन् ,‘तपाईंले गरेका धेरै मागहरू सम्बोधन गर्न सकिने छन् । सरकारले पूरा गर्ने छ । मैले यो सब बोल्नको लागि मात्र बोलेको होइन । केही कुराहरू कार्यदल बनाएर सुरु भइसकेका छन् । कार्यदलले दिएको सिफारिसका आधारमा आउने बजेटमा नीति कार्यक्रमहरूलाई लगेर जान्छु । मैले गरेका कुराहरू भए की भएन भनेर भोली जबाफदेहिता खोज्ने अधिकार मसँग रहन्छ । मन्त्री हुँदा कार्यान्वयन गर्छु, भएन भने पनि संसदमा रहन्छु र सरकारलाई काम गर्नको लागि अगाडि बढाउँछु ।’
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईँ सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौँ दिन हो । खुट्टा सुन्निएपछि उनी वैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।
विद्यार्थीको छात्रवृत्ति पाँच हजार बनाउनुपर्ने, विद्यालयमा सय युनिट बिजुली र पानी निःशुल्क गर्नुपर्ने उनको माग थियो । यसै गरी उनले विद्यार्थी, शिक्षक र कर्मचारीसँग सम्बन्धित सार्वजनिक शिक्षा सुधारका १५ सूत्रीय माग राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।