रौतहटमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बानेश्वर महादेवस्थल वरपर उत्खनन् गर्दा पुरातात्त्विक संरचना फेला परेको छ । गौर नगरपालिका–२ स्थित मन्दिर वरपरको क्षेत्रमा करिब सात सय वर्षअघिको भग्नावशेष संरचना भेटिएको हो ।
बानेश्वर महादेव मन्दिरको पछाडि र अगाडितर्फको भागमा उत्खनन् गर्दा सिम्रौनगढ राजाको समयका इटाहरू फेला परेको पुरातत्वविद् देवेन्द्र तिवारीले बताए ।
उनका अनुसार सोही समयका गाग्री, घोडाको मुकुटसहितका सामानहरू पनि भेटिएको छ । चार फिट तल उत्खनन् गर्दा २८ सेन्टिमिटर लम्बाइ, ३० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको इटा फेला परेको उनले जानकारी दिए ।
यो इटा सिम्रौनगढको तत्कालीन साम्राज्यका समयका भएको पुरातत्वविद् तिवारीको दाबी छ । पुरातात्त्विक विभागको प्रयासमा उत्खनन् थालेको दोस्रो सातामा ऐतिहासिक महत्वका भग्नावशेष भेटिएका हुन् ।
गौरमा रहेको बानेश्वर शिवालय र सोवर्णामाई मन्दिर धेरै बर्ष पुरानो मानिन्छ । यो राजा शिव सिंहले बेलामा बनाएको बताइन्छ । राजा शिव सिंह तत्कालीन तिरहुत राज्यको राजा थिए उनी सिम्रौनगढबाट शासन चलाउँथे ।
उनको शासन १३३५ ई सम्म चलेको इतिहास रहेकोले सो मन्दिर त्यसपूर्व नै बनाइएको जानकार बताउँछन् । लाल बकिया नदीभन्दा करिब ५ सय मिटर पूर्वमा रहेको सो मन्दिर निकै नै पुरानो र ऐतिहासिक मानिन्छ । यहाँ उत्खनन् गर्दा केही पुरानो भग्नावशेषहरू भेटिने अपेक्षाअनुसार पुरातात्त्विक विभागमा खबर गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।
पुरातात्त्विक विद्हरूको रोहबरमा निरीक्षण गरेर गएपछि तीन सदस्यीय टोली यहाँ उत्खनन थालेको उनको भनाइ छ । उनका अनुसार उत्खनन कार्य जारी रहेकाले अझै पुराना संरचना भेटिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।