चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का महसुस गरिएको भूकम्पबाट चीनमा मानवीय क्षति भएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार तिब्बती क्षेत्रमा हालसम्म ९ जनाको मृत्यु भएको छ ।
भूकम्पले तिब्बतको सिगात्से शहरका धेरै भवन भत्किएका छन् । मानिस भागेर सडकमा निस्किएका थिए ।
भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको थियो । यस्तै, भारतको उत्तरी राज्य बिहार र भुटानको राजधानी थिम्पूमा पनि भूकम्पको धक्का अनुभव गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसका अनुसार उक्त भूकम्पको म्याग्निट्यूड ७ दशमलव १ भएको र गहिराइ १० किलोमिटर रहेको जनाएको छ ।
नेपाली समयअनुसार आज बिहान ६ः५० तिर उक्त भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसपछि पनि नेपालको लोबुचे क्षेत्रभन्दा उत्तर पूर्वमा पर्ने चिनियाँ भूमिलाई केन्द्रविन्दु बनाएर आधा दर्जनभन्दा बढी भूकम्प गएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।