logo-img

बझाङबाट एमालेका उम्मेदवार महर पराजित

बझाङमा पनि आइतबार नै शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो । सोही दिन देखि नै पार्टीका नेता कार्यकर्तादेखि शुभेच्छुकहरू मत परिणाम सुन्न जिल्लाका ठाउँ ठाउँबाट सदरमुकाम चैनपुर पुग्न थाले । जिल्ला अदालतमा मत गणना हुने तय त्यस अघि नै भइसकेको थियो । 

नजिता को व्यग्र प्रतीक्षामा रहेका मतदाताहरू उत्सुक थिए । तर मंगलबार दिउँसोसम्म मतगणना भने हुन सकेन । जिल्लाका सबै ठाउँबाट मतपेटिका संकलन हुन नसक्दा मत गणना हुन समय लागेको हो । भौगोलिक विकटताका कारण जिल्लाको साइपाल गाउँपालिका केही मतपेटिकाहरू हेलिकोप्टरबाट ल्याउनु पर्‍यो । सबै मतपेटिका संकलन भएपछि मंगलबार साँझबाट मत गणना सुरू भयो । 

एउटा मात्रै प्रतिनिधिसभा सदस्य सिट रहेको बझाङमा चुनावी भिडन्त भने निकै रोचक बन्यो । सात जना प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेपनि पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी र विद्यार्थी संगठनको नेतृत्व गरिसकेका एमालेका युवा नेता ऐन महरबीच कडा प्रतिस्पर्धा रह्यो । 

मत गणना सुरू भएदेखि अन्तिम परिणाम आउँदासम्म हजारको हिसाबमा मतान्तर हुन सकेन । चुनावी अपडेटमा बराबरदेखि एक दुई मतकोसमेत अन्तर हुँदा अन्त्यतिर भने जोशीले अग्रता कायम गरे । अन्ततः जोशी महरको भन्दा ९९८ बढी मतले विजयी भए । जोशी २८ हजार १४३ मतसहित निर्वाचित हुँदा महर भने २७ हजार १४५  मतमा रोकिएका हुन् । 

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको थियो । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङमा यस पटकको निर्वाचनमा ६३ हजार ४ सय ८९ मत मात्र खसेको हो । एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महर र गठबन्धनको साथमा नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य जोशीको कडा प्रतिस्पर्धा हुन पुग्यो  ।

भानुभक्त जोशी 
२०३६ सालमा नेपालगन्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका जोशीले २०४६/४७ सालको आन्दोलनमा पनि विद्यार्थी संगठनबाट अग्रपंक्तिमा रहेर काम गरेका थिए ।  २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडेका जोशी झिनो मतले पराजित भए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा भने उनी प्रतिनिधिसभा निर्वाचित भए । 



त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरेका जोशी २०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भए । त्यो समयमा २ वर्षमा संविधान नबनेपछि २ वर्ष बढाएर ४ वर्ष कार्यकाल थपिएको थियो । ०६८ वैशाखमा मन्त्रिमण्डल पुनर्गठन हुँदा झलनाथ खनालको क्याबिनेटका जोशी वन तथा भू–संरक्षण मन्त्री जोशी थिए । उनले ४ महिना कार्यकाल सम्हालेका थिए । 

ऐन महर
२०५५ सालदेखि औपचारिक रूपमा राजनीतिमा होमिएका ऐन महर नेकपा एमालेमा सशक्त युवाको रूपमा चिनिन्छन् । विद्यार्थीको हकाधिकारका लागि संघर्ष गर्दै आएका महरले विद्यार्थी राजनीति तथा पार्टीको राजनीतिमा सफल नै रहे । 



 २०७६ जेठमा अनेरास्ववियूको सर्वोच्च जिम्मेवारीसमेत सम्हालेका महर हाल एमालेको केन्द्रीय सदस्य छन् । तर, संसदको यात्रामा भने उनलाई सहज भएन । पहिलो पटक प्रतिनिधिसभा सदस्यको लागि चुनवी मैदानमा रहेका महर यसपटकका लागि भने संसद भित्र प्रवेशगर्न असफल भएका छन् ।  

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ०:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया