logo-img

रिले अनशन बस्दासमेत सुनुवाइ नभएको भन्दै यादवले थाले आमरण अनशन

चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव ६ बुँदे मागसहित आमरण अनशनमा बसेका छन् । चुरे अभियानीहरु विगत ३७ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनसन बस्दै आएकोमा कुनैपनि निकायले सुनुवाई नगर्दा संयोजक यादवले शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन् । 

तीनवटै तहमहध्ये कुनै तहको सरकारले अहिलेसम्म आफूहरुको मागप्रति चासो नदेखाउँदा बाध्य भएर आमरण अनशनमा बसेको संयोजक यादवले बताए । यसअघि भूमिहिन तथा सुकुम्वासीहरु जनआवाज आन्दोलन सुरु गर्दै गत फागुन ११ गतेदेखि अनिश्चितकालिन धर्नामा बस्दै आएका छन् । 

यादवले भने, ‘हाम्रो मागप्रति कुनै तहको सरकार गम्भीर छैन । नेपालमा माग सम्बोधन गराउनका लागि कि त मार्नु पर्छ कि त मर्नु पर्छ । हामी कसैले चोट पुर्याउन सक्दैनौँ । त्यसैले आफ्नो माग सम्बोधन गराउनका लागि प्राणको आहुति दिन तयार छु । माग सम्बोधन नभएसम्म मेरो अनशन जारी रहने छ ।’

उनले आमरण अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गर्दै गरिब तथा भूमिहिनको समस्या समाधान गर्न, राजनीतिमा दलित समुदायको पनि समान पहुँच गराउन, चुरेको संरक्षण, विगतमा प्रदेश सरकारसँग भएको सहमतिको कार्यान्वयन, पर्सा जिल्लाका वन अधिकृत सुभाषचन्द्र दासले गरेको अनियमितता छानबिन र कारबाही तथा चुरे संरक्षणको नाममा भएको अनियमितताको छानविन लगायका मागसहित आफू आमरण अनशनमा बसेको बताए । 

चुरे तथा वनजंगल संरक्षण अभियान र मधेस प्रदेश सरकारबिच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने, वैदेशिक रोजगार सम्बन्धी समस्या समाधान गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तर्गत व्यवस्था मिलाउँदै दलितका लागि राजनीतिक आरक्षण सुनिश्चित गर्नुपर्ने लगायतको माग गर्दै चुरे अभियानीहरु आन्दोलन गर्दै आइरहेका छन् । 





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार २०:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया