logo-img

सार्वजनिक लेखा समिति सभापतिको दाबी : मनपरी आउने विदेशी आर्थिक सहयोग रोक्छौँ
‘प्रधानमन्त्रीलाई बोलाएर सुझाव दिन्छौँ’

सार्वजनिक लेखा समिति संसदको महत्वपूर्ण विषयगत समितिमध्येमा पर्छ । सदनमा रहेको दलीय उपस्थितिको प्रतिनिधित्व हुनेगरी बढीमा १५ सदस्य रहने यस समितिले गैरराजनीतिक रूपमा काम गर्ने अपेक्षा गरिन्छ ।

राज्यकोषको खर्च संसद्ले चाहेबमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए/नभएको जाँचपड्ताल गर्नु सार्वजनिक लेखा समितिको प्रमुख कर्तव्य हो । तर, पछिल्लो समय समितिको प्रभावकारिता कम देखिएको सांसदहरू नै बताउने गरेका छन् । प्रस्तुत छ, संसदीय समितिको प्रभावकारिता र निर्देशनको कार्यान्वयन सन्दर्भमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसँग गरेको संवादमा आधारित सामग्री :  

बाहिरबाट देखेजस्तो होइन रहेछ

सार्वजनिक लेखा समितिमा मैले २०७० सालमा पनि सदस्य भएर काम गरेको थिएँ । तर, सभापति भएर काम गर्ने अवसर योपटक प्राप्त भयो । मैले बाहिरबाट अनुभूति गरेभन्दा निकै धेरै बोझिलो, निकै धेरै विषयवस्तुको रूपमा र जिम्मेवारीबोध गर्नुपर्ने ठाउँको रूपमा अनुभूति गरेको छु । सार्वजनिक लेखा समितिमा हामी सबै दलको एक तहको साथीहरू नै छौँ । हामी सबै आजका मितिसम्म एकताबद्धरूपमा नतिजा निकाल्ने गरी काम गरिरहेका छौँ । किनभने आजको मितिमा मुलुकमा जुन समस्या देखिएको छ, आर्थिक अनुशासन जसरी कमजोर हुँदै गएको छ । त्यसका लागि राज्यका निम्ति केही सहयोग गरौं भन्ने हिसाबले नै हामी अगाडि बढेका छौं । तर, अब यो चाहिँ कस्तो चिज रहेछ भने बुढापाकाले श्‍लोक भनेजस्तो ‘झन् झन् गर्‍यो, झन् कठिन’ भन्ने रहेछ । तर, पनि हामी प्रयत्न गरिरहेकै छौं । 

दलभन्दा माथि उठ्ने प्रण

सबभन्दा पहिलो कुरा चाहिँ हामी सार्वजनिक लेखा समितिमा आएपछि एउटा सहमति गर्‍याैँ कि हामी यहाँसँग जोडिएको विषयमा दलीय प्रतिनिधि भएपनि कानुन र नियमसँग कहीँ पनि नचुक्ने र एकताबद्ध भएर लाग्ने । यो नै समितिको पहिलो सहमति थियो सार्वजनिक लेखा समितिमा हामीले गरेको । त्यसपछि स्वार्थ नबाझिने गरि उपसमितिको निर्माण गर्‍याैँ । मन्त्रालय नबाझिने गरी नौवटा उपसमितिको निर्माण गर्‍याैँ । 



झण्डै ५/६ वर्षदेखि छलफल नभएका प्रतिवेदनको सन्दर्भमा एउटा प्रतिवेदनमा १ हजार पेज र १ लाख उपदफा होला, त्यसमा हामीले महालेखाको प्रतिवेदनलाई आधार बनाएर लामो समयदेखि रहेको बेरुजूको हल कसरी गर्ने विषयमा गयौँ । ६०औँ प्रतिवेदनलाई आउँदो असार मसान्तसम्ममा संसदमा पेस गर्ने तयारी गरेका छौँ । 



समितिका २० देखि २२ वटा पूर्ण बैठक बस्यो र उपसमितिका दर्जनौं बसेका छन् । समिति र उपसमितिको बैठक नबसेको एउटा पनि दिन हुँदैन । अहिले हामी चाहिँ व्यापक बेरुजू सम्परीक्षणको अवस्थामा छौँ । यो असार मसान्तमा एउटा न एउटा नतिजा दिन्छौं । केही साथीहरूले सार्वजनिक लेखा समितिको बैठक बस्नै छोड्यो भन्छन् । पूर्ण बैठक नियमित गरिरहने हो भने हामी सम्परीक्षणको काम गर्न असमर्थ हुने हुँदा यस्तो भएको हो । बेरुजू छलफलका लागि समय नपुगेका कारण केही समय बैठकहरू थाती राखेकै हो । सबैले एकताबद्ध हुने हो भने नतिजा निकाल्न सकिँदो रहेछ भन्ने कुरालाई समेत हामीले केही हदसम्म प्रमाणित गर्न सकेका छौँ ।

एनसेलको कथा

पछिल्लो समय एनसेलको कुरा सार्वजनिक भएको छ । हामीले सरकार र अख्तियारलाई बोलाएर छलफल गर्‍याैँ । त्यो अहिले कार्यान्वयनमा गएको छ । दोस्रो कुरा टेरामेक्सको  निर्णय गर्‍याैँ । अख्तियारलाई भन्यौँ, अख्तियारले गम्भीरतापूर्वक छलफलको विषय बनायो । हामी चाँडै त्यो मुद्दा अगाडि बढाउँछौँ भन्नुभएको छ । त्यस्तै, लुम्बिनीको रामग्रामलाई तत्कालीन मन्त्रालयले भनौँ अथवा लुम्बिनी विकास कोषले दियो । त्यो विषयमा हामीले तत्काल प्रश्न गर्‍याैँ । समितिले निर्देशन दिएको भोलिपल्ट नै पर्यटन मन्त्रालयले त्यो सबै खारेज गरिदियो । 

समाजकल्याणका बेथिति 

हामीले समाज कल्याण परिषदका बेथितिबारे हामीले छलफल गर्‍याैँ । राज्यका सरकारी निकायमा समेत निजी संस्थाको डोनेसनबाट काम गर्ने, कानुनको ड्राफ्ट डोनेसनबाट बनाउने, कानुनको छलफल, सुरक्षा निकायमा काम गर्ने, राज्यको संस्कृतिसँग सम्बन्धित गम्भीर परिस्थिति थियो । हामीले निर्णय गर्‍याैँ कि अब कुनै पनि संघसंस्थाले राज्यमा लिएर आउने आर्थिक सहयोग पहिलो कुरा राज्यको बजेटरी सिस्टमबाट आउनुपर्दछ । दोस्रो, राज्यको प्राथमिकता क्षेत्रमा खर्च हुनुपर्दछ । तेस्रो, राज्यका संवेदनशील अंगहरूमा राज्यका बजेटरीबाहेक अरू कुनै पनि प्रकारको डोनेसन लिन पाइँदैन भनेर निर्णय गर्‍याैँ । त्यो निर्णय प्रक्रिया गएर राज्यमा ठूलो बदलाव लिन्छ भन्ने आशा गरेका छौं । 

जिम्मेवार ठाउँमा गैरजिम्मेवार कार्य

ऋण उत्पादनशील क्षेत्रमा खर्च गर्नका लागि लिइन्छ, नकि साधारण खर्च गर्नका लागि लिइन्छ । जहाँ वार्षिक साढे तीन सय अर्ब ब्याज तिर्नुपर्ने अवस्थामा मुलुक छ । अब आइन्दा प्रोेजेक्ट लोन बाहेक अन्य ऋण लिन पाइँदैन भनेर अर्थ मन्त्रालयलाई भनेका छौं । हाम्रो एउटा गलत परिपाटी के भयो भने हामीले प्रोजेक्ट निर्माण गर्ने तर त्यसको उपलब्धि नखोज्ने । यदि त्यसो हो भने त हामी सकिन्छौं । त्यसैले अहिले निर्माण भएका ठूला योजनाका लागि आउने बजेटमा व्यावसायिक प्रस्ताव ल्याउन आवश्यक छ । मध्यपहाडी लोकमार्गको उपयोग के हो ? बनिसकेपछि त्यसको उपयोग त गर्ने होला नि । 

यस्तै, ठूला आयोजनाको उत्पादन लिने वातावरण तयार थुप्रै विषयवस्तुमा हामीले मुलुकको संकट र परिस्थितिलाई बदल्नका लागि महत्वपूर्ण निर्णय गरेका छौँ । सार्वजनिक लेखा समितिले गरेका निर्णयहरू सरकारले कति कार्यान्वयन गर्छ त्यतातिर मैले हेरेको छैन ।  हामी अब आर्थिक अनुशासनसँग जोडिएका, वित्तीय जवाफदेहितासँग जोडिएका, जिम्मेवार ठाउँमा बसेर गैरजिम्मेवारपूर्वक भूमिका निर्वाह गरिएको विषयहरू पनि हेर्छौँ । त्यस्ता एक हजार केसको हामी एउटा डकुमेन्ट बनाउँछौँ । त्यो डकुमेन्ट संसदले अनुमोदन गर्ने छ । म रहुँला नरहुँला किनभने सधैंका लागि त म होइन । तर, कुनै दिन एकजना असल शासक आउला नि । त्यो हामीले तयार पारेको प्रतिवेदन कुनै दिन असल शासकले पायो भने सायद यो मुलुक बदल्न सक्छ । त्यसरी हामी अहिले काम गरिरहेका छौं । हामी निरन्तर अभ्यासमा छौं ।  

त्यो प्रतिवेदनको कार्यान्वयन अहिलेको शासकले नै गर्नुपर्दछ । अनिवार्य गर्नुपर्दछ । कुनै पनि पदमा बसेको मान्छेले पदीय जवाफदेहिता पुरा गर्न सक्दैन भने त्यो पदको मान्छे होइन । हाम्रो लोकतन्त्रको सिद्धान्त त्यही हो । त्यसो हुँदा मलाई लाग्छ अहिलेका शासकले यसलाई सजिलै ग्रहण गर्नुपर्दछ । ढिलो चाँडो गर्ला र नगरे पनि भविष्यमा उम्किन नपाउने परिस्थिति हामीले निर्माण गर्न गर्छौँ । हामी अहिले त्यही अभियानमा लागेका छौं ।  

प्रधानमन्त्रीलाई बोलाएर सुझाव दिन्छौं

म आज सार्वजनिक गर्दैछु कि आउँदो आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया त अगाडि बढिसकेको छ । तर, प्रधानमन्त्री, अर्थमन्त्री र सरकारका सचिवहरूलाई बोलाएर हामीले केही डकुमेन्ट तयार गरेका छौं, त्यो उहाँहरूलाई बुझाएर दिन्छौं । यो सीमा नाघेन भने सार्वजनिक लेखा समितिले निर्देशन गर्छ । त्यो सीमा र त्यो विधि ननाघौँ भन्ने हाम्रो मान्यता छ । पछिल्लो समय त जसले जे गर्दा पनि भएको छ ।  

हामी शक्ति सन्तुलनका आधारमा लोकतन्त्रको व्यवस्थापन गर्छौँ । सार्वभौम संसदले पास गरेको कानून र बजेटमाथि कसैले पनि प्रश्न उठाउन पाउँदैन तर त्यही संसदले ल्याएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अलमलमा छ । संसारको कुनै पनि लोकतन्त्र जनप्रतिनिधिलाई र राजनीतिक दललाई कमजोर बनाएर बलियो हुन्छ भन्ने कसैले परिकल्पना गर्दछ भने यो मुलुकलाई कमजोर बनाउने तत्व त्यही हो ।

यो मुलुकलाई प्रक्रियाबाट बाहिर निकाल्न चाहने तत्व पनि त्यही हो । मुलुकमा अराजकता सिर्जना गरिदिने तत्व पनि त्यही हो । राजनीति दल र नेताहरूलाई कमजोर देखाएर आफूलाई महिषासुर बनाउने काम कदापि स्वीकार्य हुँदैन । 

विज्ञको सुझाव लिनुपर्छ

मुलुकमा सुशासन कायम गर्नका लागि मिनी पार्लियामेन्टका सदस्यले पनि मिहिनेत चाहिँ गर्नुपर्दछ । सैद्धान्तिक हिसाबबाट नभइ अध्ययनबाट गरिएका निर्णयहरू परिपक्व हुन्छन् । समितिमा केही विज्ञको व्यवस्था गरिदिने हो भने कानुनी परामर्शको क्षेत्रको आधार तयार गरिदिने हो भने र समितिले अलि बढी मिहिनेत गरिदिने हो भने मलाई लाग्छ समितिले तीन कुरामा टेकेर निर्णय गर्‍यो भने जुनसुकै अंग कार्यान्वयन गर्न बाध्य हुनेछ । तर, समितिले पनि आफ्ना निर्णयको समीक्षा गर्न आवश्यक छ ।

हामी महालेखाको ६० औँ प्रतिवेदनसम्म आइपुग्दा साढे नौ खर्ब बेरुजू देखिन्छ । जुन देशमा १७ खर्बको बजेट बनाउँछौँ । ५ वटा प्रतिवेदनको बेरुजू ९ खर्ब आउँछ । यो असुलउपर गर्नुपर्ने देखिन्छ । कयौँ व्यापारी, उद्यमी तथा करदाताहरूले जबर्जस्ती राज्यलाई कर नतिरेको देखिन्छ ।  

  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार १०:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया