logo-img

वेस्ट इण्डिज ‘ए’ सँग तेस्रो टी-२० खेल्दै नेपाल, चार खेलाडी परिवर्तनको सम्भावना
तस्बिर : क्यान

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको टी–२० सिरिजको तेस्रो खेल आज हुँदैछ । तेस्रो खेल पनि नेपाली समयअनुसार मध्यान्ह १२ः१५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 

सिरिजमा दुवै टिमले एक–एक खेल जितेका छन् । नेपालले पहिलो खेलमा वेस्ट इण्डिज ‘ए’ लाई ४ विकेटले हराउँदै सिरिजमा अग्रता लिएको थियो । तर, दोस्रो खेलमा नेपाल १० रनले पराजित भयो । 

अहिले सिरिज १–१ को स्थितिमा छ । जारी श्रृंखलाको दुवै खेलमा नेपाली कप्तान रोहितकुमार पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो । वेस्ट इण्डिज ‘ए’ सँगको पहिलो भेटमै नेपाललाई जित दिलाउनेक्रममा उनले ५४ बलमा ६ छक्का र १० चौकासहित ११२ रनको शतकीय इनिङ खेले । 

यस्तै, दोस्रो खेलमा पनि आफ्नो लय कायमै राख्दै रोहित क्यारेबियन टिमसँग अन्तिमसम्म भिडे । यस खेलमा उनले ४८ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७१ रन बनाए । रोहित तेस्रो खेलमा पनि सानदार प्रदर्शन गर्दै नेपाललाई सिरिजमा २–१ ले अघि बढाउन चाहन्छन् । 



पाहुना टिम वेस्ट इण्डिज पनि दोस्रो जित हात पारेर सिरिजमा अग्रता लिने योजनामा छ । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको वेस्ट इण्डिजले दोस्रो टी–२० मा भने नेपाली स्पिनरसामु संघर्ष गर्‍यो । स्टार खेलाडीको बाहुल्य रहेको वेस्ट इण्डिजलाई नेपाली बलरले दोस्रो खेलमा १८ ओभरसम्म पूरै दबाबमा राखे ।

उक्त अवस्थामा पाहुना टिमको स्कोर ७ विकेट गुमाएर ११९ रन थियो । तर, अन्तिम २ ओभरमा नेपाली बलर चुक्दा वेस्ट इण्डिजले ४१ रन जोड्यो । सोही कारण पनि नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न वञ्चित भयो । तेस्रो खेल जित्ने हो भने नेपालले डेथ ओभरमा पनि उत्कृष्ट बलिङ गर्न आवश्यक छ । 



प्लेइङ–११ मा चार परिवर्तनको सम्भावना

नेपालले बुधबार प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले आज लोकेश बम, अनिलकुमार साह, आरिफ शेख र आकाश चन्दको स्थानमा आसिफ शेख, सन्दीप जोरा, करण केसी र अविनाश बोहरालाई मौका दिने सम्भावना रहेको हो । 

वेस्ट इण्डिज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्न सक्छ । उसले तेस्रो खेलमा जोनसन चार्ल्स र ओसेन थोमसलाई विश्राम दिएर मार्क दयाल र फेबियन एलेनलाई मौका दिने सम्भावना रहेको हो । यी दुई खेलाडीले अघिल्लो दुई खेलमा मौका पाएका थिएनन् । 

वेस्ट इण्डिजको सम्भावित प्लेइङ–११ : एलिक एथेनाजे (उपकप्तान), आन्द्रे फ्लेचर (विकेटकिपर), मार्क दयाल, रोस्टन चेस (कप्तान), केसी कार्टी, फेबियन एलेन, कीमो पल, हेडन वाल्स, गुडाकेश मोती, म्याथ्यू बोर्ड र ओबेद म्याककोय । 

नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल । 

  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार ७:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया