logo-img

मुख्यमन्त्रीको फोनपछि मधेश सरकारबाट बाहिरिँदै एमाले
एमाले मधेस प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव

नेकपा एमाले मधेस प्रदेश सरकारकाबाट बाहिरिने भएको छ । जसका लागि एमालेबाट प्रदेश सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउँदै छन् ।    

गत १५ फागुनमा नेकपा एमाले सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ जना मन्त्री सरकारबाट बाहिरिए पनि मधेस प्रदेशमा भने एमाले सरकारमै सहभागी थियो ।  

एमाले मधेस प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिन लागेको जानकारी दिए । उनले सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरूलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिन लागेको बताए ।  

केन्द्रमा एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउन चाहे पनि बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने आशामा उनी मौन बसेका थिए । तर, त्यहाँ सोमबार उम्मेदवारी दर्ताको क्रममा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले समेत उम्मेदवारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले सरकार छोड्न निर्देशन दिएका छन् । 

मधेस सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए । 

भौतिक पूर्वाधारमन्त्री यादवले मुख्यमन्त्री यादवसँगै गत २९ पुसमा शपथ लिएका थिए । अन्य मन्त्रीहरू २० माघमा सरकारमा सहभागी भएका थिए । २९ पुसमा सरकारमा सहभागी भएको एमालेले साढे २ महिनापछि सरकार छाड्न लागेको हो ।



केन्द्र सरकारमा पनि गएको १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसहित ७ दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए । 

त्यतिबेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएपनि प्रधानमन्त्रीले नेपाली कांग्रेससहितको ८ दलीय मोर्चा बनाएर राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरेको थियो । योसँगै एमाले सरकारबाट बाहिरिएको थियो ।



  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १४:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया