logo-img

फरमुल्लाह मन्सुरलाई प्रश्न : स्वर्णिम वाग्लेले कांग्रेस छाड्नुपर्ने परिस्थिति किन आयो ? [संवाद]
तस्बिर : मेघा शाही

नेपाली कांग्रेसका सह–महामन्त्री हुन्, फरमुल्लाह मन्सुर । कांग्रेसको १४औँ महाधिवेशनमा डा.शेखर कोइराला समूहबाट उम्मेदवारी दिएका शेख वकिललाई पराजित गर्दै संस्थापन पक्षबाट निर्वाचित भएका हुन्, मन्सुर । ५० वर्षदेखि निरन्तर कांग्रेस राजनीतिमा रहेका मन्सुरले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत नेताहरुको नजिक रहेर काम गरे । लामो कालखण्डसम्म गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग नजिक रहेर काम गरेका पूर्वमन्त्री मन्सुर कांग्रेसभित्र अहिले संस्थापन पक्षनिकट मानिन्छन् । सह–महामन्त्री मन्सुरसँग फरकधारले गरेको कुराकानी :

नेपालको संविधानको भावना विरुद्ध कांग्रेसकै नेताहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका हुन्छन् । संविधानलाई लिएर कांग्रेसभित्र एकै मुख हुन सकेको देखिँदैन । कांग्रेसभित्र यो संविधान नरुचाउने पनि छन् ?

कांग्रेसका संस्थापक तथा जननेता बिपी कोइरालाले जब बहुदलीय संसदीय व्यवस्था स्थापनाको विचार लिएर अघि बढ्नुभयो । यसैलाई कांग्रेसले मार्गनिर्देशक सिद्धान्त मान्यो । लामो संघर्षपछि संविधानसभाबाट संघीय लोकतन्त्र गणतन्त्र नेपालको संविधान पारित भयो । यसले कांग्रेसको राजनीतिक विचारको जित भएको छ । यो संविधान जारी हुनुभन्दा अघि हामीकहाँ विभिन्न राजनीतिक विचार थिए । एकदलीय कम्युनिष्ट व्यवस्थामा विश्वास राख्ने विभिन्न कम्युनिष्ट पार्टीहरु थिए । त्यही विचारका आधारमा देशको शासन व्यवस्था चल्नुपर्छ भन्ने उनीहरुको मान्यता थियो । अर्कोतिर निर्दलीय व्यवस्था मान्ने राजावादीहरुले त्यही अनुसार शासन व्यवस्था चल्नुपर्छ भन्थे । तर, संघीय लोकतन्त्र गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भयो ।
 
त्यतिबेला कांग्रेसका सभापति सुशील कोइराला मुलुकको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा संविधान जारी भयो । समग्र कांग्रेस पार्टीको निर्णय अनुसार यो संविधान जारी भएको हो र यसको अपनत्व पनि लिएको छ । बिर्सन नहुने कुरा के हो भने कांग्रेसकै कारण यो संविधान जारी हुन सम्भव भएको हो । 

त्यसअघि कांग्रेसले नेतृत्व नलिएकै कारण संविधान आउन नसकेको हो र ?

पहिलो संविधानसभामा चार–चार जना कम्युनिष्ट प्रधानमन्त्री भए । माओवादीबाट पुष्पकमल दाहाल‘प्रचण्ड’ र बाबुराम भट्टराई अनि एमालेबाट माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो । तर, पनि संविधान बनेन । तर, दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो पार्टीको रुपमा निर्वाचित भएर आएपछि मात्र संविधान जारी भयो ।
 
अनि आफ्नै नेतृत्वमा जारी गरेको संविधानलाई लिएर कांग्रेसभित्रको एउटा समूहमा किन असन्तुष्टि ?

कांग्रेस लोकतान्त्रिक पार्टी हो, यसभित्र नबुझ्ने मानिसहरु पनि होलान् । कसैको केही स्वार्थ पनि होला । यही कारणले संविधानलाई लिएर केही टिप्पणी आए होलान् । यो संविधानका महत्वपूर्ण पक्ष छन् । ​संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक निर्वाचन प्रणाली, स्वतन्त्र न्यायालय, पूर्ण प्रेस स्वतन्त्रता आदि पक्षलाई यो संविधानले स्वीकार गरेको छ । यो कुराहरुको अपनत्व कांग्रेसले लिएको हो । यसैले कांग्रेसभित्र यी पक्षलाई लिएर कुनै असहमति वा द्विविधा राख्नुपर्ने ठाउँ छैन । 



तर, द्विविधा त देखिन्छ । कांग्रेसकै जिम्मेवार नेताहरुको सार्वजनिक अभिव्यक्तिमा यो संविधानका केही पक्ष नरुचाएको संकेत पाइन्छ । के भन्नुहुन्छ ?

कसै–कसैले संविधानको अन्तर्य नबुझेका कारण र केहीले कसैको स्वार्थ बोकेको कारणले पनि केही टिप्पणी आएका होलान् । तर, कांग्रेसभित्र ‘५० वर्षभन्दा बढी समयदेखिको संघर्षपछि मात्र हामीले यो संविधान प्राप्त गर्न सफल भएका हौँ’ भनेर बुझ्ने धेरै छन् । स्थापनाकालदेखि नै जनताको सर्वोच्चता भएको लोकतान्त्रिक ब्यवस्था कांग्रेसको जुन लक्ष्य थियो त्यो लक्ष्य यो संविधानबाट पूरा भएको छ । 



संविधानलाई लिएर संघीयता र धर्मनिरपेक्षताको सवालमा बढी बहस भइरहेको छ । जनताको चाहनाभन्दा पनि कसैको स्वार्थका कारण संविधानमा लादिएको एकथरीको तर्क छ । यसैलाई लिएर यो संविधानमाथि पनि प्रहार हुन्छ कि भन्ने तपाईंलाई लाग्छ ? 

पहिले एउटा परिवारको र त्यसमाथि राजाको रुपमा एउटा व्यक्तिकाे नेतृत्वमा काठमाडौं केन्द्रित शासन व्यवस्था थियो । उसको, उसको परिवारको र एउटा जाति तथा वर्गको हालीमुहाली थियो । त्यसले देशको विकास हुन सकेन । आमजनताका आर्थिक, सामाजिक र राजनीतिक विकास भएन । उनीहरुको सम्मान पनि भएन । यसैले संघीयता चाहिएको थियो । हिमाल, पहाड र मधेसका सबै जाति, वर्गका जनताको शासन÷प्रशासनमा पनि पहुँच होस्, यो देशको मालिक हामी हौँ र यसको विकास हामी आफैँ गर्न चाहन्छौँ भन्ने कुरालाई मनन गरेर नै संघीयतालाई यो संविधानले स्वीकार गरेको हो । प्रस्ट हुनुहोस्, कांग्रेसभित्र संघीयताको सवाललाई लिएर कुनै द्विविधा छैन । 

संविधान जारी भएपछि त्यसको कार्यान्वयनमा केपी ओलीजी इमानदार नभएकाले केही द्विविधा भएको होला । तर, जब कांग्रेस र माओवादीको नेतृत्वमा सरकार बन्यो अनि तीन तहको निर्वाचन सम्पन्न भयो, त्यसपछि संविधान कार्यान्वयन भयो । आँखा भएको मान्छेले केही देखेको छैन भन्नु अर्कै कुरा हो । बौद्धिक मान्छेले जानी–जानी बुझ पचाउनु ठीक होइन । 

संघीयताले नै जनतालाई राज्यसँग जोडेको छ । राज्यमा पहुँच बनाउन र आफ्नो पहिचानको सवालमा सम्बोधन हुन नसक्दा हिँसाको स्थिति पनि आयो । तर, अहिले संघीयताकै कारण राष्ट्रियतालाई पनि मजबुत गरेको छ । सम्पूर्ण नेपाली जनतालाई एक सूत्रमा बाँधेको छ । संघीयताको विरुद्घमा जो व्यक्ति र शक्तिहरुले अभिव्यक्ति दिइरहेका छन्, उनीहरु भनेको परिवर्तनलाई स्वीकार गर्न नसक्ने प्रतिगामी तत्व हुन् । 

धर्मनिरपेक्षताको विरुद्धमा हिन्दु राष्ट्रको पक्षमा पनि त आवाज उठिरहेको छ, यसलाई गम्भीर रुपमा लिनुभएको छैन ?
    
हाम्रो संविधानलाई राम्ररी पढ्ने हो भने बुझ्न सकिन्छ कि धर्मनिरपेक्षताको सवालमा नेपाल र अन्य देशहरुले कायम गरेको धर्मनिरपेक्षतामा फरक छ । संविधानमै भनिएको छ कि हाम्रा संस्कार, संस्कृति र परम्पराको रक्षा गर्दै नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ । राज्यले के स्वीकार गर्यो भने यो देशको अब आफ्नो धर्म छैन । यो देशमा बस्ने हिन्दू, मुस्लिम, बौद्घ आदि सबैको यो साझा देश हो । धर्मनिरपेक्षताले कसैको धार्मिक भावनामाथि दुर्भाव राख्ने नियत राखेको छैन । कसैलाई आघात पुर्याउने काम यसले गरेको छैन । कसैको धार्मिक अधिकारमा कुण्ठित गर्ने काम पनि गरेको छैन । कहीँ भोटका कारण कहीँ कुनै स्वार्थका कारण केही तत्वहरुले मात्र धर्मनिरपेक्षताको विरुद्धमा बोलेका छन् ।
 
अर्को प्रसंग, कांग्रेसभित्र गुटगत हानथाप बढेको गुनासो छ । अहिले पनि कांग्रेसभित्रको एउटा गुटले भाग नपुगेको भन्दै मन्त्रीको नामावली पठाएको छैन, मन्त्रीमण्डल पूर्ण हुन सकेको छैन । कांग्रेसभित्र अब गुट–उपगुट संस्थागत भएको हो ?
 
कांग्रेसभित्र मात्र होइन गुट–उपगुटहरु सबै पार्टीमा हुन्छ । कांग्रेसभित्र पहिलेदेखि नै विचारका आधारमा गुट बन्थे । गुटकै कारण कांग्रेस विभाजित पनि भयो । कांग्रेस र प्रजातान्त्रिक कांग्रेसका रुपमा एउटा सिंगोे पार्टी फुट्यो । फेरि एकीकृत पनि भयो । त्यो समयमा कांग्रेसको सभापति गिरिजाप्रसाद कोइराला र प्रजातान्त्रिक कांग्रेसको सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो ।  यो दुईवटै पार्टीलाई मिलाउँदाखेरि एउटा सिद्घान्तको अवलम्बन गरिएको थियो, त्यो भनेको पदहरुको भाग लगाउँदा ६० र ४० को आधार तय गर्ने । तर, पछिसम्म पनि त्यो कुरा जारी रह्यो । पार्टीको विधानभन्दा पनि सबैलाई समेटेर लग्नुपर्ने कारणले यो भागबण्डा एक किसिमले व्यावहारिकजस्तो भइसकेको छ ।

यसलाई भागबण्डाको रुपमा नलिएर ‘एडजस्टमेन्ट’को हिसाबले लिनुपर्छ । यस्तै, एडजसमेन्ट नमिलेर नै एमालेलगायत पार्टी फुटेका हुन् । तर कांग्रेसमा नेताहरु उदार भएका हुन्, भागबण्डाभन्दा पनि ‘एडजस्टमेन्ट’ गरेका हुन् । तर, बाहिर फुडल्याण्डदेखि मिडियामार्फत एक दुई सिट बढी पाइन्छ कि भनेर नेतृत्वलाई दबाब दिने जुन प्रवृत्ति छ, त्यसले कांग्रेसभित्र भागबण्डा हुन्छ भन्ने नकारात्मक प्रभाव परेको छ ।
 
कांग्रेसले बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ । यही सन्दर्भमा नेपाली राजनीतिमा पछिल्लो समय भित्रिएको गठबन्धन प्रवृत्तिले आफ्नो आस्था रहेको दललाई भोट हाल्न नपाइने, अर्को पार्टीको उम्मेदवारलाई जिताउन नेता–कार्यकर्ता नै लाग्नुपर्ने स्थिति छ, यो कस्तो किसिमको भागबण्डाको राजनीति हो ?

यो अभ्यास हामीकहाँ संविधान जारी भएपछि ०७४ देखि सुरु भयो । हामीले जुन प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अंगिकार गरेका छौँ, त्यसले एउटै पार्टीको बहुमतको सरकार बन्ने अवस्था देखिँदैन । निर्वाचनपछि पार्टीहरु मिलेर सरकार बनाउने अवस्था छँदै छ । यसलाई हामीले इन्कार गर्न सक्ने अवस्था छैन । 

अर्को कुरा के भने एक्लाएक्लै चुनाव जित्न सक्ने अवस्था त्यतिबेला एमालेले देखेन । त्यतिबेला जब एमाले र माओवादी मिलेर नेकपा बनाए र सरकारको नेतृत्व लिए । केपी ओलीको शासन गर्ने शैली, आफ्नो पार्टीभित्रका अरुका विचारहरु नसुन्दिने, अरु नेताहरुलाई एडजस्टमेन्ट गर्न नसक्ने र सरकार चलाउँदा पद तथा पैसालाई लिएर उनीहरुबीच झगडा भयो । प्रधानमन्त्रीको आफ्नो कुर्सीमा जब जब ओलीले खतरा देखे त्यतिबेला संसद् विघटन गर्ने काम गरे । थोरै सिट जितेको कांग्रेसलाई माओवादीका प्रचण्ड, एमालेकै नेता माधव नेपालदेखि झलनाथ खनाललगायत नेताले लोकतन्त्र बचाउन आग्रह गरे । 

एकातिर संविधानको उल्लघंन गरेर, संविधान च्यातेर राष्ट्रपतिलाई प्रभावमा लिएर संसद विघटन गरेर लोकतन्त्र समाप्त गर्ने कामहरु जब ओलीजीले गरे त्यसपछि एउटा उदेश्यका लागि गठबन्धन बन्यो । कांग्रेसको नेतृत्वमा सरकार बन्यो । लोकतन्त्रमाथिको खतरा अहिले पनि विद्यमान नै छ । मिलेर जाऊँ भन्ने मनस्थितिकै कारण यो निर्वाचनमा गठबन्धन गरेका हौँ । 

यस किसिमको गठबन्धनले विगतका केही निर्वाचनमा पनि योग्य उम्मेदवारले टिकट पाउन सकेनन् । आफ्नो आस्था राखेको पार्टीलाई भोट पनि दिन नपाउने राजनीतिक संस्कार जुन पछिल्लो समय नेपाली राजनीतिमा झाँगिएको छ । त्यसलाई के भन्नुहुन्छ ?
 
कांग्रेसभित्र अहिले पनि एउटा वर्ग छ, जसले देशलाई हामी के दिन्छौँ भनेर सोच्छन्, आफूले के पाइन्छ भनेर सोच्दैनन् । कुनै बेला यस्तो स्थिति पनि थियो, जुन बेला प्रजातन्त्रका लागि सम्पत्ति जान्छ, परिवार बर्बाद हुन्छ, ज्यान पनि जान सक्छ भन्ने जान्दा जान्दै पनि प्रजातन्त्रका लागि लडेका थिए । तर, अहिले मन्त्रीदेखि वडाअध्यक्षसम्म पाउँछु कि पाउँदिनँ भन्ने सर्त पहिले नै राख्ने प्रचलन बन्यो । यो प्रवृत्ति सबै पार्टीहरुमा देखियो ।  

कांग्रेसभित्र आफ्नै पार्टीलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति देखिएको हो । अन्तर्घातको कुरा त्यही हो । यो अरु पार्टीले कांग्रेसबाटै सिकेका हुन् । गठबन्धन हुँदा पनि जहाँ कांग्रेस एक्लै लडेको छ, त्यहाँ पनि कांग्रेसभित्रैबाट अन्तर्घात भएका छन् । हामीले चुनाव हारेका छौँ । गठबन्धनमा जानुपर्ने कारण एउटा हाम्रो निर्वाचन प्रणाली हो भने अर्को लोकतन्त्रको स्थायित्वको लागि पनि हो । कांग्रेसभित्र जो इमानदार नेता कार्यकर्ता छन् तिनीहरु सबै यसको पक्षमा छन् । जो बाहिर गठबन्धन हुनुहुँदैन भनेर मिडियाबाजी गर्छन्, उनीहरु गठबन्धनले गर्दा आफूले चुनाव लड्न पाउँदैनन्, मेरो मान्छेले लड्न पाउँदैनन् भन्ने सोच राख्नेहरु हुन् । 

विसं ०८४ को आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने ताकत देखाउँछ कि गठबन्धनको नाममा फेरि पनि वैशाखी नै टेक्छ ? 

कांग्रेसको सामथ्र्य, कांग्रेसप्रति नेपाली जनताको अहिलेसम्मको समर्थन र प्रभाव नबुझ्ने मानिसहरुले मात्र अरुको वैैशाखी उपयोग गरेर चुनाव जितेको आरोप लगाउँछन् । वास्तविकता यस्तो होइन । कांग्रेसले बेलाबखत कम सिट जितेको हो, तर कांग्रेसले प्राप्त गरेको भोटको प्रतिशत भने कहिल्यै घटेको छैन । चाहे २३ वा ५७ सिट आएको होस्, कांग्रेसलाई प्राप्त सबै भोट जोड्ने हो भने त्यो आज पनि कम छैन । यसैले कांग्रेसलाई वैशाखी चाहिएको होइन ।
 
त्यतिबेला सबैजसो पार्टी फुटेका थिए, पार्टीहरु सरकार चलाउन असफल भएका थिए । एमाले असफल भएको थियो । माओवादी असफल भएको थियो । मधेसकेन्द्रित दल पनि सरकार चलाउन असफल भएकै हुन् ।  चुनावमा कांग्रेस यदि एक्लै गएको भए फाइदा हुन्थ्यो । कांग्रेसलाई यो कुरा थाहा थियो । तर, कांग्रेसले एउटा अभिभावकको भूमिका निर्वाह गरेको हो । माओवादीलाई एउटा सहारा चाहिएकै हो । कांग्रेसलाई कसैको सहारा चहिएको थिएन, कांग्रेसले अरुलाई सहारा दिनुपर्ने कर्तव्य थियो ।
 
तपाईंहरुले जुनबेला राजनीति सुरु गर्नुभयो, त्यतिबेलाको राजनीति आदर्श र मूल्य, मान्यता अनि सिद्घान्तमा चल्थ्यो । तर, अहिले आएर पैसाले राजनीतिलाई विकृत बनाइरहेको भन्ने गुनासो छ । कांग्रेसभित्र यस्तो विकृति झन् बढी छ भनिन्छ । तपाईंलाई पनि यस्तै लाग्छ ? 
 
कांग्रेसको स्थापना भएपछि ५० वर्षभन्दा बढी समय प्रजातन्त्रका लागि लड्यौँ । ०२८ सालमा म बिपी कोइरालासमक्ष पटनामा कांग्रेसको सदस्य बन्न जाँदा ‘कांग्रेसमा लाग्दा ज्यान पनि जान सक्छ बाबु’ भनेर बिपीले मलाई भन्नुभएको अहिले पनि म सम्झिन्छु । मैले बिपीलाई भनेँ–यो कुरा थाहा पाएरै म कांग्रेसको सदस्य बन्न आएको हो ।’ 

प्रजातन्त्र स्थापनाको लडाइँमा धेरै मान्छेको ज्यान गयो, घरपरिवार बर्बाद भयो । कतिको सम्पत्ति सरकारले जफत गर्यो । कति मानिसहरुले जेलनेल भोगे । तर, जब ०४६ मा बहुदल आयो तब हाम्रै पार्टीका पनि कतिपय मानिसहरु बिग्रिए । आफ्नो बंगला, गाडी, नगद, गरगहना हुनुपर्यो भन्ने ठाने । भ्रष्टाचार गरेर व्यक्तिगत सम्पत्ति जोड्ने पञ्चायतको संस्कार बसिसकेको थियो । समाजमा त्यसको प्रभाव पर्यो । जोसँग पैसा हुन्छ, ऊ समाजमा प्रतिष्ठित बन्न पुग्यो । पहिले जो मान्छे इमानदार, चरित्रवान् छ ऊ समाजमा पुजनीय हुन्थ्यो । अहिले जोसंग जहाँसुकैबाट जसरी भए पनि थुपारेकोको पैसा भएपछि ऊ नै सम्मानित हुने अवस्था छ ।  

यसले समाजमा विकृति ल्याएको छ । यसबाट अक्षुण्ण रहन खोज्नेमाथि प्रहार हुन्छ । विकृतिका यस्ता किराहरु हाम्रो पार्टीमामा पनि छन् । अरु पार्टीमा पनि छन् । तर, जसरी नयाँ समाजको विकास भएको छ, यसले यस्ता विकृर्तिहरुका विरुद्घका आवाज पनि सम्प्रेषण भएको छ । जसरी अहिले आमसञ्चारको विकास भएको छ, त्यसले यस्ता विकृतिको न्यूनीकरण गर्दै जान्छ । 

कांग्रेसलगायत प्रमुख दलहरुमा देखिएको यस्तै विकृतिकै असन्तुष्टिलाई लिएर होला, केही नयाँ दलहरु वैकल्पिक शक्तिको रुपमा उदाएका छन् । पछिल्लो निर्वाचन परिणामले पनि त्यसको संकेत गर्छ । कांग्रेसका कतिपय नेता–कार्यकर्ता पनि नयाँ पार्टीमा गएका छन् । किन होला ?
 
परशुनारायण चौधरीदेखि तुलसी गिरीसम्मका एकसे एक मानिसहरुले कांग्रेस छाडेकै हुन् । पञ्चायतको समयमा जो थाकेका थिए, जो डराएका थिए, जो राजाको प्रलोभनमा लोभिए उनीहरुले कांग्रेस छाडे ।
 
अहिलेको सन्दर्भमा कांग्रेसमा बसेर लाभ नदेखेपछि पनि पार्टी छाडेका छन् । ०६४ मा कांग्रेसको क्षेत्रीय सभापति मधेसी फोरमको केन्द्रीय सदस्य बन्न गए । कति सांसदले मन्त्री पद पाउने भएपछि कांग्रेस छाडे । कसैकसैलाई लोभलालचबाट कसरी मुक्त गर्न सकिन्छ र !

कांग्रेसभित्र आशलाग्दा नेता भनेर चिनिएका स्वर्णिम वाग्लेले कांग्रेस छाड्नुपर्ने परिस्थिति किन आयो ?

स्वर्णिम वाग्लेलाई चिनाउने काम कसले गर्यो त ? उहाँजस्ता पढेलेखेका नेपालीहरु देशभित्र र बाहिर पनि धेरै छन् । कांग्रेसले नै वाग्लेलाई योजना आयोगको पहिले सदस्य र पछि उपाध्यक्ष बनायो । पार्टीको घोषणापत्र लेख्ने जिम्मा वाग्लेलाई कांग्रेसले नै दियो । तर, पनि अवसर पाइन भन्दै उहाँले आरोप लगाउँदै हिँडनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी सभापति हुँदा उहाँलाई जिम्मेवारी दिएको होइन र ? सुशील कोइराला प्रधानमन्त्री हुँदा उहाँले जिम्मेवारी पाएको होइन र ?

जुन व्यक्तिको पहिचान कायम गरायो कांग्रेसले, जुन व्यक्तिलाई अवसर दियो कांग्रेसले त्यही कांग्रेस नेतृत्वलाई उनले सार्वजनिक रुपमा गाली गर्दै हिँडे । वाग्लेले तुरुन्तै त्यो पनि धेरै खोजे । उनले चितवन वा तनहुँको उपनिर्वाचनमा टिकट खोजेका थिए । हामीले चितवनमा त्यहाँका कांग्रेस पूर्वसभापति जितनारायण श्रेष्ठलाई टिकट दियौँ । तनहुँमा वषौंवबर्ष पार्टीमा रहेर दुःख गरेका गोविन्द भट्टराईलाई टिकट दिएका छौँ । उनीहलाई हटाएर वाग्लेलाई कुन कारणले टिकट दिनुपर्ने ? उनले कांग्रेसबाट अरु अवसर पाउन सक्थे होलान् । तर, उनले धैर्य गर्न सकेनन् । लोभ लालचका कारण अर्को पार्टीमा गए । 

कांग्रेसका असन्तुष्ट समूहका लागि अब वैकल्पिक पार्टी पनि बलियो उपस्थितिका साथ आउन थालेका छन् ? कांग्रेसले त्यसलाई चुनौती मानेको छ कि छैन ?

तपाईं त्यसलाई वैकल्पिक शक्ति नभन्नुस् । रवि लामिछानेले नैतिकता, सिद्घान्त र राष्ट्रियताका धेरै कुरा लिएर राजनीतिमा आएका थिए । मिडिया र सामाजिक सञ्जालको भरपुर उपयोग गरे । तर, गृहमन्त्री भएको दुई महिनामै नैतिकता, सिद्घान्त र राष्ट्रियताको कुरा गर्ने लामिछानेको नकाब उत्रियो । 

गुजाराका लागि केही पैसा कमाउन कति नेपालीले यहाँ भारी बोकेर हिँडेका छन्, खाडीका देशमा भारी बोकेर हिँडेका छन् । तर, उनीहरु नेपाली नागरिक नै छन् । त्यो भारी बोक्ने मान्छे ठूलो कि अलि धेरै पैसा कमाउन नेपालको राष्ट्रियता त्यागेर अमेरिकी नागरिकता लिएका लामिछाने ठूला मान्छे हुन् ? नेपालको संविधानले भन्छ कि नेपालको कानुन सबैले जान्नै पर्छ । भारी बोकेर हिँड्ने एउटा नेपालीले पनि नेपालको कानुनको जानकार हुनैपर्छ । लामिछाने आफूलाई विद्वान् पनि मान्ने अनि नेपालको कानुन भने थाहा नपाउने कुरा त मिलेन नि ! 

नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिएपछि फेरि नेपाली नागरिकता लिनका लागि विदेशी नागरिकता त्याग्नुपर्छ भन्ने कुरा उनलाई थाहा थिएन ? थाहा भएरै उनले पछि नेपाली नागरिकता लिएका होलान् । लामिछानेलाई गृह मन्त्रालय नै किन चाहिएको थियो ? किनकि आफू गलत छु भन्ने कुरा उनलाई थाहा थियो । गृहमन्त्रीबाट हटेपछि पनि केपी ओलीले ‘बाबुलाई फेरि गृहमन्त्रालय दिनुपर्यो’ भनेर प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिएकै हो नि ।
 
जुन मान्छेले नेपालको संविधान मान्दैन, जुन मान्छेले पैसासँग नेपालको राष्ट्रियतालाई जोड्छ र जुन कुरामा उसले अरुलाई प्रहार गर्छ, तर स्वयं त्यसमा आफू नै लिप्त छ भने त्यस्तो व्यक्तिले वैकल्पिक बाटो दिन्छ देशलाई ? त्यस्तो व्यक्तिले नेतृत्व गरेको पार्टी नेपालको वैकल्पिक शक्ति हुन्छ ?

रवि लामिछाने नेतृत्वको पार्टीलाई कांग्रेसले वैकल्पिक शक्तिको रुपमा आउने चुनौती देखेको छैन र ? 

कांग्रेसभन्दा राम्रो पार्टी भए पो कांग्रेसले चुनौती देख्ने हो । एक त लामिछानेको पार्टी वैकल्पिक शक्ति हुँदै होइनन् अर्को कुरा कांग्रेसको विकल्पमा आउन सक्ने पार्टी अहिलेसम्म मैले नेपाली राजनीतिमा देखेको छैन । हो, हाम्रो पार्टीमा अनुशासनहीनताको विकृति उत्पन्न भएको छ । तुरुन्तै त्यो पनि आफ्नो क्षमताभन्दा बढी लाभको पद चाहिने, तर जिम्मेवारीको बहन नगर्ने प्रवृत्ति छ । 

कांग्रेसभित्र एउटा पक्षसँग नजिक छ भने अर्को पक्षलाई गाली गर्ने गलत संस्कार छ । गलत मान्छेको महिमामण्डित गर्ने काम अहिले भइरहेको छ । लामिछानेको सन्दर्भमा भएको यही हो । एकपटक हामी काठमाडौंको हनुमान ढोकामा थुनिएका थियौँ । थुनामा गणेशमान सिंह, किशुनजीलगायत नेता पनि हुनुहुन्थ्यो । त्यतिबेला रेडियो नेपालबाट एउटा समाचार आयो । समाचारमा भनिएको थियो–...लब्धप्रतिष्ठित नेता परशुनारायण चौधरीलाई विकास परिषदमा श्री ५ महाराजाधिराज सरकारबाट मनोनीत गरिबक्सिएको छ ।’ समाचार सुनेपछि गणेशमानले किशुनजीलाई प्रश्न गर्नुभयो– यो लब्धप्रतिष्ठित भनेको के हो ?’ किशुनजीले जवाफमा भन्नुभयो– लब्धप्रतिष्ठित भनेको जो प्रतिष्ठित छैन उसलाई प्रतिष्ठित बनाउनका लागि लब्धप्रतिष्ठित भन्ने चलन छ ।’ 

रवि लामिछाने पनि त्यस्तैखाले लब्धप्रतिष्ठित हुन् ।  

  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १८:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया