logo-img

मदन भण्डारीलाई कसरी सम्झिन्छन् एमाले नेता ?

आज मदन भण्डारी र जीवराज आश्रितको ३० औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ गर्दैछ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताले जननेता भण्डारी र नेता आश्रितको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम छ । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको ३ जेठ २०५० चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो । भण्डारीको निधनबाट नेपाली कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति व्यहोरेको नेताहरू बताउँछन् । 

एमालेले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो । जबजलाई एमालेले नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा लिएको छ ।

सभामुख देवराज घिमिरेले भण्डारीको निधनबाट कम्युनिस्ट आन्दोलन मात्र नभइ मुलुकले नै क्षति बेहोरेको बताए । छोटो समयमा संसद्मा खेलेको भूमिकाको चर्चा गर्दै उनले भण्डारीको अभाव अहिले पनि खट्किएको बताए । ‘भण्डारी अहिले भइदिएको भए मुलुकमा अहिलेको समस्या आउँदैनथ्यो होला’, सभामुख घिमिरेले भने ।

भण्डारी छोटो अवधिमा कम्युनिस्ट आन्दोलनलाई अगाडि लैजान, संसदीय राजनीतिमा जनताको बीचमा गएर पार्टीलाई लोकप्रिय बनाउन र पार्टीले लिएका नीतिलाई व्यवहारमा लागू गर्न सफल नेताका रूपमा सभामुख घिमिरे स्मरण गर्छन् । विचारलाई व्यवहारमा उतारेर सबैलाई सञ्चालन गर्न सक्ने नेताको अभावले गर्दा अहिले राजनीति जसरी विकास हुनुपर्दथ्यो त्यो हुन नसकेको उनको भनाइ छ । 

‘नेता भण्डारी भइदिएको भए अहिले मुलुकमा जे समस्या देखा परेका छन्, यस्तो स्थिति आउँदैनथ्यो भन्ने कुरा सजिलै भन्न सकिन्छ । त्यो कुराको महसुस मैले गरेको छु र अन्यले पनि गर्नुभएको होला’, सभामुख घिमिरेले भने ।  



विश्वभरि कम्युनिस्ट आन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिस्ट आन्दोलन उचाइमा पुर्‍याएका थिए । भण्डारीले समकालीन राजनीतिमा मार्क्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यसअनुरूप लागू गरे ।  

‘भण्डारी आफ्नो समयमा मार्क्सवादलाई कस्तो र कसरी प्रयोग गर्नुपर्दछ भन्ने बारेमा मार्क्सवाद दर्शनलाई जनताको बहुदलीय जनवाद (जबज) परिणत गरेर व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेता हुनुहुन्थ्यो’, सभामुख घिमिरेले भने, ‘मार्क्सवादलाई सिर्जनात्मक ढङ्गबाट देशको परिस्थितिअनुसार कसरी प्रयोग गर्न सक्नुपर्दछ भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्ने र त्यसलाई व्यवहारमा लागू गर्न सक्ने उहाँ सक्षम नेता हो ।’ 
 
एउटै कमिटीमा रहेर काम गरेका सभामुख घिमिरेले भण्डारी स्पष्ट दृष्टिकोण, सरल व्यवहार र आफ्नो कुरालाई तर्कले पुष्टि गर्न सक्ने नेताका रूपमा परिचित रहेको बताए । भण्डारीले पुष्पलालसँग विद्रोह गरेदेखि नै आफूले सङ्गत गरेको घिमिरेले बताए । 



यसैबीच मदन–आश्रित स्मृति दिवसका अवसरमा आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोटेश्वरस्थित मदन बाटिकामा हुने कार्यक्रममा सहभागी हुनेछिन् । भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सङ्कटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज)को नेपालमा आधारस्तम्भ निर्माण गरेका थिए । जुन जबज मार्क्सवादको नेपाली संस्करण थियो । 

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीसँग १५ वर्ष को–अर्डिनेशन केन्द्रको एउटै कमिटीमा रहेर काम गरेको बताए । उनले जबजजस्तो गतिशील विचार निर्माण गरेर भण्डारीले मार्क्सवादलाई नेपालको विशिष्टतामा लागू गरेको उल्लेख गरे ।  

‘भण्डारीले माक्सवार्दलाई नेपालको विशिष्टतामा लागू गर्न जबज सिद्धान्त बनाउनुभएको छ’, पोखरेलले भने, ‘एमालेले अहिले उहाँको विचार जबजलाई मार्गनिर्देशक विचारका रूपमा अँगालेको छ ।’ एमालेको नीति तथा कार्यक्रम जबजकै आधारमा रहेको उनको भनाइ छ । ‘सिद्धान्तलाई सिर्जनशीलतामा लागू गर्ने नेताका रूपमा भण्डारी चिनिनुहुन्छ’, नेता पोखरेलले भने, ‘भण्डारीले कम्युनिस्ट पार्टीका विचारलाई विशिष्टतामा लागू गर्नुभएको छ ।’

एमाले नेता मुकुन्द न्यौपानेले भण्डारी र आश्रितको निधनले कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताए । उनले विलक्षण प्रतिभा, सरल व्यवहार, आफ्नो अडान र दृष्टिकोणलाई तर्कसङ्गतरूपमा राख्न सक्ने कहिल्यै नबिर्सने दूरगामी नेताका रूपमा दुवै जना चिनिएको बताए । 

न्यौपानेले २०३४ सालदेखि भण्डारीसँगै काम गरेको स्मरण गर्दै उनी जनताको भावना बुझ्ने नेताका रूपमा परिचित रहेको बताए । ‘दूरदर्शी क्षमताका साथै जनताको भावना बुझेर उहाँ व्यवहारमा लागू गर्नुहुन्थ्यो’, न्यौपानेले भने, ‘जननेता सबै हुँदैनन्, उहाँमा जननेता हुने गुण थियो ।’

नेता न्यौपानेले मनमोहन अधिकारीले पनि रुचाएको नेता भण्डारी भएको उल्लेख गर्दै अधिकारी र भण्डारीको साङ्गठनिक एकताले नै एमालेले २०४८ सालमा ६९ सिट तथा २०५१ सालको निर्वाचनमा पहिलो पार्टी भएको बताए । उनले जनताको बीचमा गएर सङ्गठन विस्तार गर्ने भण्डारीको कार्यशैलीका कारणले एमाले जनताबीच लोकप्रिय भएको बताए । 

भण्डारीलाई अध्ययनशील, छिटो कुरा बुझ्ने नेताका रूपमा न्यौपाने सम्झन्छन् । उनका अनुसार भण्डारीमा विचारको व्यवस्थापन, सङ्गठन व्यवस्थापन र कार्यशैलीको व्यवस्थापनजस्ता गुण थिए । ‘उहाँ सधैं जनताकहाँ जाने, जनतासँग लिने र जनतालाई नै दिनेजस्ता कुरा गर्नुहुन्थ्यो’, नेता न्यौपानेले भने । भण्डारीले अघि सारेको जबज सिद्धान्तलाई नेपालको माटो सुहाउँदो परिष्कृत गर्न सके मुलुकको विकास गर्न सकिने धारणा उनले राखे । 

विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविकले भण्डारीसँग लिएको अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमार्क्स लिभ्स’ लेखिएको थियो । न्यूजविकका लागि माइकल लिटभिनले मदनको अन्तर्वार्ता लिएका थिए ।   

२७ मे १९९१ मा यो अन्तर्वार्ता छापिएको थियो । अन्तर्वार्ता २०४८ को आम निर्वाचनपछि छापिएको थियो । अमेरिकी पत्रिकाले नेपाली नेतालाई मार्क्ससँग तुलना गरेर अन्तर्वार्ता छापेपछि यसले ठूलो तरंग ल्याएको थियो । 

वि.सं २०४६ मा भएको नेकपा (माले)को चौथो महाधिवेशन र २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई भण्डारी नेकपा (एमाले) को महासचिव बनेका थिए । यस्तै, एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उनी महासचिवमा चुनिएका थिए । भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । रासस

  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १०:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया