logo-img

शरणार्थी प्रकरणमा दोषी देखिए जुनसुकै तहका व्यक्तिलाई पनि कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तरमा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफ दिँदै उनले प्रमाणको आधारमा दोषी देखिए जुनसुकै तहका पदाधिकारी र व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।  

‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणको आधारमा दोषी देखिए जुनसुकै तहका पदाधिकारी र व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन र बाँकी राख्ने छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाल प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट हस्तक्षेप भएको छैन । हस्तक्षेप गरिने छैन । हस्तक्षेप हुन दिइने पनि छैन ।’ 

यो प्रकरणको निष्पक्ष छानबिन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दोषी नउम्कने र निर्दोष नपर्ने नीतिअन्तर्गत अगाडि बढ्न निर्देशन दिइसकेको बताए ।   

‘भीआईपी, भीआइपीहरू परिराखेका छन्, त्यसकारण यसमा स्वतन्त्र र निष्पक्षरूपले छानबिन भइराखेको कुरा त्यसले प्रमाणित गर्दछ । यस्ता विषयमा सरकारले कुनै आग्रह पूर्वाग्रह नलिई निष्पक्ष, तटस्थ र व्यावसायिक छानबिन गरी अन्तिम निष्कर्ष निकाली अपराधीलाई कानुनको दायरमा ल्याउन जोड गरेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई यसमा दृढतापूर्वक र निष्पक्षताका साथ दोषी नउम्कने, निर्दोष नपर्ने नीतिअन्तर्गत अगाडि बढ्न निर्देशित गरेको छु । मैले जानकारी पाएसम्म प्रहरीले पनि स्वतन्त्र र निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाइराखेको छ ।’ 

प्रधानमन्त्री दाहालले भ्रष्टाचारसँग सम्बन्धित अरू प्रकरणको अनुसन्धान हुने पनि बताए । 



‘भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुनअनुसार अनुसन्धान कारबाही हुने ब्यहोरा प्रष्ट पार्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस्, निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड रहेको छ । जुनसुकै तह र तप्काका भए पनि यो अपराधमा संलग्न कानुनको दायरामा आउने नै छन् । त्यो प्रक्रिया अगाडि पनि बढिसकेको छ,’ प्रधानमन्त्री दाहालले भने ।




  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १४:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया