logo-img

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरू बरबादीको सिकार भइरहेको बताइन् । उनले साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढी रहेको बताइन् । 

‘हामीले यो क्षेत्रको विकास सकारात्मक ढंगले गर्नुपर्छ । यस भित्रका विकृतिहरू हामी देखिरहेका छौँ । हाम्रा भर्खरका किशोरकिशोरीहरू ठिक ढंगले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका छन्’, उनले भनिन्, ‘मोबाइल प्रयोग कसरी ठिक ढंगले गर्ने, हाम्रो जीवनमा सकारात्मक ढंगले कसरी लागू गर्ने भन्ने कुराको सही शिक्षा दिन नसक्दा हाम्रा किशोरकिशोरीहरु आज बरबादीको सिकार भइरहेका छन् । सुसाइडको अवस्थामा पुग्नुपर्ने अवस्था भएको छ ।’

सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यस सम्बन्धी शिक्षा दिन आवश्यक रहेको बताइन् । उनले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरू भड्किरहेको बताइन् । उनले नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको बताइन् । उनले डिजिटल शिक्षालाई जनस्तरमा पुर्याउनसके सूचना र प्रविधिसम्बन्धीका धेरै समस्या समाधान हुने बताइन् ।

‘कस्ता साइट कुन उमेर समूहकाले हेर्ने भन्ने कुराको व्यापक शिक्षा हामीसँग छैन । यो सबै कुरा थाहा नपाउँदा यसबाट आउने विकृति लगायतका कुराबाट हाम्रो युवापुस्ता भड्किएको छ । यसको सही सदुपयोग गर्न र हाम्रो युवा पुस्तादेखि सबै हामी गलत प्रवृत्तिको सिकार नबनौँ भनेर राज्यको जिम्मेवारीमा हामी छौँ । यसमा नीति बनाउने बेलामा ढिलो भइसकेको छ, हामीसँग साइबर सुरक्षा नीति छैन । यसको अन्तिम तयारीमा हामी छौँ ।’ 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १३:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया