logo-img

मुख्यमन्त्री शर्माको गुनासो : बैंक तथा वित्तीय संस्था शहरकेन्द्रित मात्र भए

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैंक तथा वित्तीय संस्थाहरू शहर केन्द्रित भएको गुनासो गरेका छन् । नागरिक लगानीकोषको कर्णालीमा स्थापना भएको शाखा उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाहरू निश्चित घराना, भूगोल र सहर केन्द्रित भएका कारण ग्रामीण अर्थतन्त्रको विकासमा चुनौती थपिएको बताए ।

‘हाम्रा प्राकृतिक स्रोतसाधनको परिचालन, स्थानीय उत्पादन वृद्धि गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरू ग्रामीणस्तरसम्म पुग्नुपर्ने थियो । तर त्यसो भएको छैन । लगानी उत्पादन भए पनि उत्पादनभन्दा बाहिर भएका कारण ग्रामीण अर्थतन्त्र खस्किँदो अवस्थामा छ । बैंक तथा वित्तीय संस्थाहरूले हाम्रा लगानीका क्षेत्रहरू चिन्न सकेका छैनन् । नागरिक र राज्यको लगानी सुरक्षित गर्ने र सही ठाउँमा लगानी गरेर उत्पादन वृद्धि गर्नेतिर नागरिक लगानी कोष लाग्नुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री शर्माले प्रदेश सरकारले समृद्धि कर्णाली अभियान थालेर वर्षमा १० हजार बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ आफ्ना नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेकाले त्यसमा पनि कोषको सहयोगको खाँचो रहेको बताए ।  

‘समृद्धिको अभियानमा सबै सरोकारवाला निकायहरू एकबद्ध भएर लागौँ । ग्रामीण उत्पादनहरू वृद्धि गरी बेरोजगारी समस्या समाधान गरी मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुछ । कर्णालीका धेरै प्राकृतिक स्रोत र साधनको सदुपयोग भएको छैन । त्यसतर्फ प्रदेश सरकार लागिरहेको छ,’ उनले भने ।

कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले नागरिक लगानी कोषले सरकारी जागिर, निजी क्षेत्रमा काम गर्ने र विदेशमा रहेकासमेतको बचतलाई प्राथमिकता दिएर आर्थिक जोखिम व्यवस्थापनमा सहयोग गरिरहेको बताए । उनले अब नागरिक लगानी कोषसँग सम्बन्धित कामका लागि कोही कसैले पनि केन्द्रीय राजधानी पुग्नुपर्ने समस्याको समाधान भएको पनि बताए । 





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार ६:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया