logo-img

काठमाडौं-२९ का वडाध्यक्ष ढकाललाई निलम्बन गर्न माग, सरकारी जग्गा हिनामिना गरेको आरोप

सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गरेको आरोपमा काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सीआइबी, काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो । 

वडाध्यक्ष ढकालमाथि साविक बानेश्वर महादेवस्थान–५ कित्ता नम्बर १४३ को जग्गामध्येकै स्थानीय समुदायको हीतमा प्रयोग हुँदै आएको साबिक धोबीखोलाको सरकारी जग्गालाई नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरेको आरोप लगाइएको छ । धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुनु भ्रष्टाचार भएको भन्दै वडाध्यक्ष ढकाललाई तत्काल निलम्बन गरी छानबिन गर्न आग्रहसमेत गरेको छ । 

पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ओमप्रसाद उप्रेतीले धोबी खोला क्षेत्रको २३ रोपनी सरकारी जग्गा भूमाफियाहरुले बेच्दै हिँडेको भन्दै त्यसको खबरदारी स्वरूप पत्रकार सम्मेलन गर्नुपरेको बताए ।  

‘सरकारको नाममा २३ रोपनी सार्वजनिक जग्गा लालपूर्जा नेपाल सरकारको नाममा रहेको जग्गाहरू थियो । तर त्यो जग्गालाई यहाँ वरपरका हाम्रै साथीहरूले ४ आना जग्गा किन्ने र ४ आना दूषित दर्ता गर्ने कर्मचारीको मिलेमतोमा दर्ता गर्ने कामहरू भए ।  यसलाई बदर गर्नुपर्छ, भूमाफियाको पञ्जाबाट जग्गा मुक्त गर्नुपर्छ भनेर, सरकारको जग्गा सरकारकै नाममा रहनुपर्छ भन्ने यहाँ ठूलो अभियान सुरु भएको हो,’ उप्रेतीले भने, ‘भूमाफियाहरू अहिले जग्गा बाँड्नका लागि सरकार हामी हौँ, तिमीहरू को हौ भन्छन् ? स्थानीय सरकारले संविधान अनुसार चल्नुपर्छ । स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने हो, बेचेर खाने होइन । स्थानीय सरकार तिमीहरू राम्रो काम गर, राम्रो काम गर्नका लागि भोट दिएको हो तर सार्वजनिक जग्गा बेचेर खानका लागि होइन ।’

त्यस्तै, समाजका महासचिव रक्षबहादुर रैका मगरले सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका जनप्रतिनिधिले नै सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नु आपत्तिजनक भएको बताए ।



सार्वजनिक सरोकारको यो विषयलाई प्रतिनिधि सभामा समेत स्थान दिन समाजले आग्रह गरेको छ । २९ नम्बर वडाको आफ्नै भवन नभएकाले आफ्नै वडामा भवन बनाउनु उचित रहे पनि अध्ययनबिना काम गर्नु राम्रो नहुने समाजको बुझाइ छ ।

कित्ता नम्बर ९ मा वडा भवन बनाउन उपयुक्त हुने प्रतिवेदन आइसकेकाले सोही प्रतिवेदन बमोजिम वडा भवन कार्यालय निर्माण गर्न पनि समाजले आग्रह गरेको छ । 



  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार १३:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया