logo-img

टुट्दै गएको अर्थतन्त्रलाई धागोले जोड्न सक्छ
‘विद्युत् समस्या नभए निर्यातजन्य वस्तुमा पहिलो नम्बर बन्न सक्छ’

नेपाल नुनदेखि सुनसम्मका लागि आयातमा निर्भर छ । भन्नलाई त नेपाल कृषि प्रधान देश भनिन्छ । विडम्बना कतिसम्म छ भने कृषिप्रधान भनेर चिनिने देशमा चामल, दाल, कोदो, फापर, मकै, खाने तेललगायत अधिकांश दैनिक जीवनयापनका वस्तु आयातमै भर पर्नुपर्ने बाध्यता छन् । 

यसले गर्दा पछिल्लो समय व्यापार घाटा बढ्दो छ । व्यापार घाटा कम गर्न सक्ने केही आयाम नेपालमै छन् । सरकारले कफी, मह, धागो, कपडा, ऊनका उत्पादन, गलैँचा,छालाजन्य वस्तुलगायतका सामग्रीलाई निर्यातजन्य वस्तुमा समेटेर प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । तर पनि यीमध्ये कुनै पनि सामग्रीले आयात प्रतिस्थापन गर्न सकेका छैनन् ।  

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति, कच्चा पदार्थ आयातमा विशेष सहुलियत, उत्पादनशील उद्योगलाई प्राथमिकता दिएर आयातमा कमी ल्याउन सकिने बताउँछन्, उद्योगीहरू । नेपालमा केही त्यस्ता वस्तुहरू छन्, जसले ठूलो मात्रामा विदेशी मुद्रा नेपाल भित्र्याउन सक्छन् । त्यसमध्येको एक हो– धागो (पलिस्टर,  भिस्कोष, मिश्रित धागोलगायत ) ।

धागोले बेला बेला कीर्तिमानी निर्यात गर्छ । हुन त नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल, भटमासको तेल पर्छ। तर, यी तेलहरूका लागि आवश्यक पर्ने कच्चा पदार्थ डलरमा किनेर आयात गर्छौँ । त्यसलाई प्रशोधन गरी भारुमा बिक्री गर्छौँ । यी वस्तुहरूमा नेपालको निर्यात स्वदेशी उत्पादनभन्दा आयातित कच्चापदार्थमा बढी निर्भर रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

यसोगर्दा उद्योगी व्यवसायीलाई केही फाइदा हुन्छ । सीमित मात्रामा मुलुकका लागि कर उठ्ने र केहीले रोजगारी प्राप्त गर्न सक्छन् । तर, कच्चापदार्थ आयातपछि त्यसैलाई निर्यात गर्दा दीर्घकालीन रूपमा फाइदा पुऱ्याउने विज्ञ बताउँछन् । सकभर आफ्नै देशको उत्पादनलाई प्रवर्द्धन गरेर निर्यात गर्न सके नेपाललाई धेरै राम्रो हुन्छ । विदेशबाट ल्याएर भ्यालुएड गर्दा कम देखियो भने डलरमा किनेर भारुमा बेच्नु उचित हुँदैन । तर, धागो जस्तालाई प्रवर्द्धन गर्न सके नेपालले ठूलो रकम भित्र्याउन सक्ने उद्योगीहरूको भनाइ छ ।



कपडा बुन्न आवश्यक कच्चा पदार्थ धागो हो । विश्वमै धागोका प्रमुख स्रोत भनेका रेसम र कपास खेती तथा भेडापालन हुन् । अन्य स्रोत पनि नभएका होइनन्, तर ती नगण्य छन् । नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरूबाट हाल कपडा, सर्टिङ/सुटिङ होजियरी, स्वेटर आदि विभिन्न उत्पादनमा प्रयोग हुने धागोहरू उत्पादन भइरहेका छन् ।

कति निर्यात हुन्छ वार्षिक ?



पछिल्लो समय नेपाली धागोको उच्च माग छ। चालू आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्ममा ९ अर्ब ९४ करोडको धागो निर्यात भएको छ ।  यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १२ अर्ब ८४ करोड रूपैयाँ बराबरको धागो निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

यसैबीच ०७७/७८ मा ८ अर्ब ५२ करोड, ०७६/७७ मा ७ अर्ब २५ करोडको धागो निर्यात हुँदा ०७५/७६ मा ९ अर्ब ७७ करोडको विभिन्न देश निर्यात भएको थियो ।  यसरी भन्सार विभागको तथ्याङ्कलाई केलाउँदा बर्सेनि धागो निर्यात बढ्दो छ । 

नेपालबाट निर्यात हुने धागोको ठूलो हिस्सा भारत रहेको छ । त्यसपश्चात टर्की र दक्षिण कोरिया रहेका छन् । बाँकी जापान, भियतनाम, जर्मनी, बेलायत, फ्रान्स, इटाली, क्यानडा लगायतका देशमा पनि स–सानो हिस्सा जाने नेपाल धागो उत्पादक संघले जनाएको छ । संघका अनुसार धागोको निर्यातमा सीमित देशहरू भए पनि उल्लेखनीय निर्यात भएको सकारात्मक पक्ष हो । नेपाल धागो उत्पादक संघका अनुसार नेपालमा ४ वटा धागो उद्योग सञ्चालनमा छन् ।

संघमा आबद्धमध्ये रिलायन्स, त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्स रहेको छ । १५ अर्ब पूँजीगत लगानी रहेको उद्योगहरूको वार्षिक ७० हजार मेट्रिक टन क्षमता रहे पनि सो उद्योगीहरूले ५० हजार मेट्रिक टन वार्षिक उत्पादन गर्दै आएका छन् ।

उत्पादित धागोमध्ये ७५ प्रतिशत निर्यात हुन्छ भने २५ प्रतिशत नेपालमा खपत हुने गर्छ । स्वदेशमा उत्पादन हुने धागोको २५ प्रतिशत मात्र स्वदेशमा खपत हुने भएका कारण बिक्रीको लागि विदेशमा नै भर पर्नुपर्ने र विदेशमा ठूला–ठूला राष्ट्रका उत्पादहरूसँग प्रतिस्पर्धा गर्नु नेपाली उद्योगको बाध्यता रहेको छ । स्वदेशी खपत बढाउनका लागि मुलुकमा टेक्सटायल, निटिङ र गार्मेन्ट उद्योग एकसाथ फस्टाउने वातावरण बनाउनु पर्छ । अनि मात्र धागो उद्योग फस्टाउने व्यवसायीको भनाइ छ ।

धागो उद्योगमा प्रत्यक्ष ८ हजारले रोजगारी पाइरहेका छन् भने सहायक उद्योगमा समेत गरेर ४०–४५ हजार रोजगारी सिर्जना भएको छ । यसरी धागो उद्योगले केही हदसम्म व्यापार घाटा कम गर्न सहयोग गरेको व्यवसायीको भनाइ छ । 

धागो उत्पादन गर्नसक्ने प्रचुर सम्भावना

विगतमा केही मात्रामा कच्चा पदार्थ नेपालमै उत्पादन हुन्थ्यो । पछिल्लो समय धागो बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयातमा निर्भर छ, नेपाल । नेपाल विचित्रको हावापानीयुक्त मुलुक हो । धागोका लागि आवश्यक कच्चावस्तु तराई र पहाडमा रेसम तथा कपास खेती गरेर अनि हिमाली र पहाडी क्षेत्रमा भेडापालन गरेर जुटाउन सकिन्छ । तर, हामीले धागो उत्पादन गरेर निर्यात गर्न सक्छौँ भन्ने कुरा नै बिर्सिसकेको नेपाल धागो उत्पादक संघका सचिव उत्तम गौतमको भनाइ छ । 

सरकारले नेपाललाई कपासमा आत्मनिर्भर बनाउने उद्देश्यले २०३७ मा स्थापना गरेको ‘कपास विकास समिति’ नै खारेज गरेको छ । जसले गर्दा किसानमा निराशा छाएको छ । धेरै मिहिनेत गर्नु नपर्ने, बाँदर र बँदेल जस्ता जनावरले नोक्सान नगर्ने भएकाले पनि किसानको कपास खेतीमा आकर्षण बढ्दै गएको थियो । तर, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र अक्षम व्यवस्थापनका कारण यो समिति हेर्दाहेर्दै तहसनहस भएको उनको भनाइ छ । यसरी सरकारले धागोमा आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नतर्फ लागि नपरेको उनको गुनासो छ ।

यदि कच्चा पदार्थ उत्पादनमा सरकारले थोरै साथ दिने हो भने ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ । कच्चा वस्तुको उत्पादन र त्यसको प्रशोधनले ठूलो मात्रामा रोजगारी सिर्जना गर्छ । धागोबाट कपडा बन्छ । धागोले शृङ्खलाबद्ध रूपमा रोजगारी सिर्जना गर्छ ।

अब सरकारले धागोको विकास गर्नेतर्फ लाग्नु पर्ने संघको भनाइ छ । त्यसैले रेसम, कपास खेती र भेडापालनतर्फ कदम चाल्नुपर्छ । धागोका लागि पूर्वाधारसँगै श्रम र लगानी आवश्यक छ । ती पूर्वाधारलाई सामाजिक परिचालनका माध्यमबाट व्यावसायिक रूप दिनुपर्छ । उत्तरी भेगहरूमा भेडापालनका कार्यक्रम अगाडि बढाइनुपर्छ । 

पछिल्लो समय हिमाली क्षेत्रमा भेडापालन गर्नेको संख्या कम छ । त्यसैले स्थानीय सरकारले भेडापालनमा निकै जोड दिनुपर्ने उनको भनाइ छ । केन्द्र सरकार र प्रदेश सरकारले होस्टेमा हैंसे गरिदिनुपर्ने सचिव गौतमको सुझाव छ । 

हिमाली क्षेत्रमा भेडा पाल्न प्रोत्साहन गर्दै आकर्षक प्याकेजहरू ल्याइनुपर्छ । यस्तै, उनका अनुसार पहाड र तराईमा कपास तथा रेसम खेतीको पकेट क्षेत्र निर्माण गरिनुपर्छ । यो व्यवसायमा थोरै संख्याले पनि धेरै काम गर्न सक्छ ।

अब सबै क्षेत्र मिलेर ठूलो क्षमताको धागो कारखाना खोल्ने योजना अघि सार्नुपर्छ । आवश्यक कच्चावस्तु उत्पादन गर्न धेरैवटा स्थानीय सरकारले साझेदारी गर्न सक्छन् । कच्चावस्तु उत्पादनमा तालिम, लगानी र भ्रमण महत्त्वपूर्ण कुरा हुन् । व्यापार घाटा न्यून गराउन धागोको स्थान महत्त्वपूर्ण हुन्छ । यो कुरा युवा, वृद्ध र बालक सबैलाई जानकारी हुनुपर्छ । हामीले यिनै कुरा बुझाउन सके धागोमा आत्मनिर्भर हुँदै कपडासमेत निर्यात गर्ने वातावरण बन्नेछ । यसका लागि नागरिक, कर्मचारी र स्थानीय तथा प्रदेश तहका पदाधिकारीबीचको सम्बन्ध र सहकार्य आवश्यक छ ।

निर्यातजन्य वस्तुमा पहिलो नम्बर बन्न सक्छ धागो

नेपालबाट निर्यात गरिने वस्तुमध्ये धागोको ठूलो योगदान छ । नेपालबाट वार्षिक अर्बौँ रुपैयाँको धागो निर्यात गर्दै आएको र सरकारलाई ठूलो महसुल बुझाउँदै आएको धागो उत्पादक संघका सचिव गौतमले बताए । उनका अनुसार २० वर्षदेखि निर्यात गर्दै आएको धागो उद्योगमा बिजुलीको समस्या धेरै छ । यदि विद्युतको समस्या नहुने हो भने हालसम्म निर्यात हुने वस्तुमा धागो पहिलो नम्बरमा हुने उनको तर्क छ ।  

गौतम भन्छन्, ‘सरकारले हामीलाई धेरै सहयोग गर्नुपर्दैन । विद्युतमा मात्र सहयोग गर्ने हो भने हामीलाई ठूलो राहत हुन्छ । अहिले लोडसेडिङको एकदमै ठूलो समस्या छ । महँगो मूल्यमा डिजेल किनेर उद्योग सञ्चालन गर्न बाध्य छौँ ।’

उनी थप्छन्, ‘४ वटा उद्योगलाई बाह्रै महिना २४सैं घण्टा बत्ति निर्यात गर्न रोकेर भए पनि दिनुपर्छ । ४ वटा उद्योगले मात्र १ अर्बभन्दा बढी विद्युत् महसुल बुझाउँदै आएको छ । सरकारले विद्युतमा मात्र सहयोग गर्ने हो भने हाम्रो उत्पादन लागत कम भएर बढीभन्दा बढी निर्यात गर्छ सक्छौँ । यसले देशको अर्थतन्त्रलाई ठूलो योगदान पुग्छ ।’

नेपालमा एकदमै अन्डर इन्भ्वाइस (कम भन्सार मूल्यांकन) भएर धागो आउँछ । ऊनी धागो (एक्रेलिक) करिब कच्चा पदार्थकै मूल्यमा आयात भइरहेको छ । नेपालमा कटन धागो आयातमा भ्याट लाग्दैन । तर, त्यही धागोबाट बनेको कपडामा भ्याट लाग्छ । अर्को कुरा, कटन धागोको नाममा सिन्थेटिक धागो आयात भइरहेको छ  । त्यहाँ पनि राजस्व चुहावट भइरहेको छ । विदेशबाट कटन धागोको नाममा भ्याट छली गरेर सिन्थेटिक धागो भित्रिँदा स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन परेको उनको भनाई छ। यी कुराहरूमा मात्र सरकारले ध्यान दिने हो भने धागो उद्योगबाट देशलाई धेरै फाइदा पुग्ने उनको विश्वास छ । 

गौतम भन्छन्, ‘हामीलाई धेरै केही कुरा चाहिँदैन । माथि उल्लेख गरेका केही कुरामा सहयोग गरे पुग्छ। हाम्रो तर्फबाट गर्नु पर्ने काम हामी पनि गछौँ र गरिरहेका पनि छौँ ।’ 

धागो निर्यात प्रवर्द्धनमा सरकारको चासो कति ? 

सरकारले धागो निर्यात प्रवर्द्धनमा काम गरिरहेको जिकिर गर्छ । धागो निर्यात प्रवर्द्धनका लागि सधैं लागि परिरहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उप–निर्देशक राजेन्द्र सिंह बताउँछन् ।  

उनका अनुसार धागोसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिताका लागि पनि व्यवसायीलाई सहजीकरण गर्नका लागि पहल गरिन्छ । सिंह भन्छन्, ‘धागो उत्पादक संघ पनि छ । उहाँहरूको चाहनाअनुसार नै हामीले इटालीमा व्यापार मेलामा भाग लियौँ । व्यापारसम्बन्धी छलफल भयो । टर्कीमा पनि धागोको प्रमोसनका लागि गयौँ । धागो निर्यात गर्ने व्यवसायीको चाहनाअनुसार नै हामीले काम गरिरहेका छौँ ।’

अब चाँडै बंगलादेशमा पनि धागो निर्यात हुने उनी बताउँछन् । हालै बंगलादेशी सरकारले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न अनुमति दिएको छ । तर, हाल दुवै सरकारबीच एउटा पत्र एक्सचेन्ज हुन बाँकी रहेकोले हालसम्म धागो निर्यात भइसकेको छैन । तर, यो काम पुरा हुनेबित्तिकै पहिलो चरणमा १० हजार किलो धागो निर्यात गर्ने तयारी गरिएको सिंह बताउँछन् । 

बंगलादेशमा नेपाली धागो २०५८ देखि नै निर्यात भएको थिएन । धेरै वर्ष अघिदेखि नेपालले धागो निर्यात खुलाउन आग्रह गरिरहेको थियो । २०७५ चैतमा बल्ल बंगलादेशको राष्ट्रिय राजस्व बोर्डले नेपाली धागो निर्यात अनुमति दिएको थियो । 

त्यही निर्णयअनुसार नेपालले बंगलादेशको बेनापोल भूमि र चटगाउँ बन्दरगाहबाट धागो निर्यात गर्न पाएको थियो । तर ती बन्दरगाहबाट महँगो पर्ने भएकाले उद्योगीहरूले पठाउन सकेका थिएनन् । उनी भन्छन्, ‘ती बन्दरगाहबाट कोलकाता हुँदै पठाउनुपर्ने भएकाले हाम्रो उत्पादन बंगलादेश जान सकेको थिएन । अब सिधै काकडभिट्टा हुँदै पठाउन पाइने भएको छ । लागत सस्तो पर्छ र सहज तरिकाले निर्यात गर्न सक्छौँ ।’  

बंगलादेशले बङ्गलाबन्ध र भारतले फूलबारी चेकपोस्ट खोल्ने निर्णय लिएको छ । तर, हालसम्म निर्यातको लागि अनुमति भने दिएको छैन । अब वार्षिक ३–४ अर्बको धागो बंगलादेश निर्यात हुने उनको विश्लेषण छ । अहिले जति पनि नेपाली धागो निर्यात हुने देशहरू छन्, उनीहरूको प्राथमिकता कपडा उत्पादनमा छ । कपडा धेरै उत्पादन गर्ने देशमा होण्डुरस पनि हो । त्यहाँ धागो निर्यातका लागि पनि सरकारले केही पहल गरेको उनको भनाइ छ । 

‘नेपालको धागो गुणस्तरीय छ । जुनसुकै देशको धागोसँग नेपाली धागोले प्रतिस्पर्धा गर्न सक्छ । यसले गर्दा पनि माग बढिरहेको छ,’ उनी भन्छन्, ‘हामीले धागो निर्यात प्रवर्द्धनका लागि काम गरिरहेका छौँ । तर, अझ धेरै काम गर्नै बाँकी छ ।’

  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १३:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया