logo-img

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन निर्यात बढाउनुपर्छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।  

शुक्रबार नेपाल निर्यात व्यवसायी महासंघसँगको भेटमा उनले स्वदेशी उत्पादनको निर्यात बढाउनका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले तत्परता देखाउनुपर्ने बताए । मन्त्री साउदले नेपालले विभिन्न देशबाट वस्तु आयात गरे पनि त्योअनुसार निर्यात गर्न नसक्दा व्यापार सन्तुलन हुन नसकेको बताए ।

‘उद्योगी व्यवसायीहरूले सामान आयात गर्ने देशहरूसँग व्यापार सन्तुलन के–केमा छ ? नेपालले निर्यात गर्नसक्ने सामानहरू के-के हुन् ? आयात कसरी भइरहेको छ ? सामान आयात गर्ने देशका व्यवसायीहरूलाई पनि नेपालको उत्पादन किन्नुपर्छ भनेर छलफल गर्नु आवश्यक छ । तर नेपालले प्राथमिकताका साथ त्यस्तो हुन सकिरहेको रहेको छैन । अधिकांश ठाउँको व्यापारमा हामी घाटामा छौँ । नेपालको वस्तु बिक्री गर्नको लागि आफ्नो सिस्टम परिचालन गर्न सकेका छैनौँ,’ उनले भने ।

नेपालको उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुने परराष्ट्रमन्त्री साउदको भनाइ छ । उनले नेपालका उद्योगी व्यवसायीहरुले विदेशबाट सामान आयात गर्ने मात्रै नभएर नेपाली उत्पादन पनि विदेश निर्यात गर्न आवश्यक रहेको बताए । मन्त्री साउदले नेपालको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि गर्नको लागि गुणस्तरीय वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्ने बताए । 

‘नेपालको उत्पादन महँगो पनि छ । हाम्रो मुलुक भूपरिवेष्टित अवस्थामा पनि रहेको छ । अन्य सरकारी संस्थाहरू मजबुत हुनुपर्ने हो त्यो पनि मजबुत छैनन् । निर्यात प्रवर्द्धन गर्ने निकायहरू मजबुत हुन सकेका छैन । निजी क्षेत्र आफैं अगाडि बढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयबाट अपेक्षा के हो ? म विभिन्न दूतावासहरूलाई निर्देशन दिनसक्छु । नेपालका उत्पादनहरू गुणस्तरीय छन् । निर्यात हुनसक्छ । त्यो देशमा सम्भावना के छ भन्ने विषयमा नेपालको निर्यात प्रवर्द्धन गर्ने निकायसँग समन्वय गर्न निर्देशन दिनसक्छु ।’ 

मन्त्री साउदले अहिले नेपालले आयात गर्ने अधिकांश देशमा व्यापार घाटा रहेको बताए । उनले निर्यात गर्ने वातावरणमा सरकार र निजी क्षेत्र दुवै लाग्न नसकेको स्वीकार गरे । मन्त्री साउदले निर्यात प्रवर्द्धन गर्ने निकायले मजबुत हुन नसकेको भन्दै निजी क्षेत्र आफैं सक्रिय हुन आवश्यक रहेको बताए । उनले नेपालले निर्यात बढाउनको लागि मुलुकको प्रणाली परिचालन गर्न नसकिएको बताए ।  



‘नेपालबाट जबसम्म नेपाली उत्पादन बेच्न सक्दैनौँ तबसम्म अन्तर्राष्ट्रिय स्तर वृद्धि हुन सक्दैन । यो विषयमा सरकार र निजी क्षेत्र सहकार्य गरौँ । नेपालको उत्पादन निर्यात हुन सक्ने युरोप, अमेरिका, अर्बमा समेत राजदूतहरूको भेला राख्न सक्छौँ । त्यसको लागि निर्यात व्यवसायीहरू अग्रसर हुनुपर्छ । नेपाली उत्पादकहरूले उनीहरूको मागअनुसार गुणस्तर कायम राख्ने र उत्पादन वृद्धि गर्नु पर्ने आवश्यक छ । परराष्ट्र मन्त्रालय गर्नुपर्ने कुराहरू गर्न तयार छ,’ मन्त्री साउदले भने ।

उनले परराष्ट्र मन्त्रालयले नेपाली वस्तु पुरोप, अमेरिका, अरबलगायत देशमा निर्यातको लागि आवश्यक पहल गर्न तयार रहेको बताए । मन्त्री साउदले निर्यात व्यवसायीले विभिन्न दूतावाससँग सहकार्य गरेर नेपाली वस्तु निर्यातको सम्भावनाको विषयमा छलफल अन्तरक्रिया गर्न आवश्यक रहेको पनि बताए ।  



  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १५:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया