logo-img

मुस्ताङमा बाढीले १० घरसहित प्रहरी चौकी र पुल बगायो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।  

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो । 

बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन  विद्युतका पोल बगाएको बताएको बताए । 

‘कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन’, उनले भने, ‘बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । वस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।’ मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ । 

प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध भएको छ ।  

विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । 



मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।  




  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ७:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया