logo-img

नेपालमा एकचाैथाइ बालबालिकामा पुड्कोपना, यसरी गर्न सकिन्छ निराकरण

नेपालमा पाँच वर्षमुनिका प्रत्येक चारजनामध्ये एकजना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सयजना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो । 

विज्ञहरुका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लीलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्यांकअनुसार नेपालमा प्रत्येक चारजनामध्ये एकजनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए । 

नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए । 

थापाले भने, ‘सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षमुनिका प्रत्येक एक सयजना बालबालिकामध्ये अहिले २५ जनामा अर्थात् प्रत्येक चारजनामध्ये एकजना बालबालिकामा पुड्कोपना छ । 

तथ्यांकले पुड्कोपनामा सुधार भएको देखाउँछ । पुड्कोपना, ख्याउटेपना, कम तौल भनेर भन्छौँ त्योचाहिँ पोषणमा सुधार भयो । पोषण भन्नेबित्तिकै बहुआयामिक विषय हो । खानपान, सरसफाइ, खाद्यान्नको उपलब्धतामा सुधार हुने विषय भित्र पर्छ । घर परिवार सचेत हुँदा पनि पोषणमा सुधार आउँछ ।’



उनले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा  सुधार ल्याउनुपर्ने बताए । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने बताए । 

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाइ, आमाको स्वास्थ्य अवस्था, पोषणलगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताए । 



लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षा पनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेको उनले बताए । सरकारले पुड्कोपना न्यूनीकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ वर्षमुनिका बच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई फर्टिफाइड फ्लोर’ वितरण गर्दै आएको बताए । 

‘बच्चा जन्मिसकेपछि बच्चाको उमेर अनुसारको बच्चालाई खानेकुराको आवश्यकता पर्छ । उमेरअनुसारको खानेकुरा आवश्यकता पर्ने हुँदा त्यो खानेकुरा बच्चालाई तीनपटक, चारपटकजति खानुपर्ने हुन्छ,' उनले भने, बच्चाले खानुपर्ने समयमा खान पाएन, पाए पनि जति मात्रामा चाहिने हो, त्यो मात्रामा लामो समयसम्म खान पाएन भने वा पर्याप्त मात्रामा खानेकुरा पुगेन भने पुड्कोपनाको विकास हुन्छ ।' 

बालबालिकालाई घरमा नै उपलब्ध भएको आहार खुवाउनुपर्ने उनकाे सुझाब छ । 'बालबालिकाको जन्मेदेखि दुई वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्छौं । प्रत्येक आमाले बच्चालाई स्वास्थ्य संस्थामा लिएर आउँदा ग्रोथ मनिटरिङ कार्ड लिएर आउन भन्छौँ,'उनले भने, 'ग्रोथ मनिटरिङ कार्ड हरियो, पहेँलो र रातो हुन्छ । बच्चाको वृद्धि र विकास हुने जुन क्रम छ । कति उचाइ हुनुपर्ने ? कति तौल हुनुपर्ने ? बच्चा बढेको छ कि छैन ? प्रष्टसँग हेर्न सकिन्छ ।' 

ग्रोथ मनिटरिङ कार्ड एउटा टुल भएकाे र यो स्वास्थ्य संस्थामा आएपछि हेरिने उनले बताए । त्यसपछि आवश्यकताअनुसार खानपानको बारेमा परामर्श दिने काम भइरहेको उनकाे भनाइ छ । 'वृद्धि अनुगमनका लागि आमाले बच्चालाई स्वास्थ्य संस्थामा लिएर महिनामा एकपटकका दरले आउनुपर्छ । एकपटक पुड्को भइसकेपछि फेरि कुनै पनि किसिमको खानेकुरा खुवाएर फेरि अग्लो बनाउन सकिँदैन,'उनले भने 'अहिलेसम्म विश्वमा कुनै पनि यस्तो प्रविधि छैन कि एकपटक पुड्कोपना भइसकेपछि फेरि अग्लो बनाउन सकिँदैन । ख्याउटेपना, दुब्लोपनालाई सही खानपान गराएर सुधार गर्न सकिन्छ । पुड्कोपना हुन नदिन सरोकारवालाको भूमिका अग्रणी रहन्छ ।' 

पोषण बहुआयामिक क्षेत्र भएकाले सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ । बालबालिका र महिलामा लगानी गर्नु भनेको एक रुपैयाँ लगानी गरियो भने ३५ रुपैयाँसम्मको प्रतिफल दिन्छ भनेर विभिन्न अध्ययन अनुसन्धानमा देखाएको उनले बताए । 

त्यसैगरी, पोषणविद् विनिता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताइन् । गर्भावस्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने उनले बताइन् । बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्व पुग्नुपर्ने बताउँदै उनले स्थानीयस्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । 

बच्चालाइ पौष्टिक तत्व पर्याप्त दिनुपर्ने भन्दै उनले घरपरिवारको आमा, बुबामा पुड्कोपना छ भने उनीहरूबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्ने बताइन् । पन्तले भनिन्, ‘पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्छ । त्यसका लागि मातृपोषण कार्यक्रम आवश्यक हुन्छ ।' 

बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ ? त्यसलाइ एकदमै ध्यान दिनुपर्ने उनले बताइन् । उनले भनिन्,'बच्चा जन्मिसकेपछि हामीले खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारले पनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो ।’

सरोकारवालाहरुले पोषण बहुआयामिक क्षेत्रसँग जोडिएकाले पोषणमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने औँल्याएका छन् ।

  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १६:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया