logo-img

विद्यालय जान उमेरले छेकेन : ९० वर्षमा १ कक्षा

पिठ्युँमा झोला, एक हातमा लठ्ठि अनि हिँडाइमा रफ्तार हुन्छ दाङको तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा  पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् ।

कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको समय आजकल भने विद्यालयका बालबालिकासँग बित्छ । उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालू शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन् ।

सोही वडाको वीरेन्द्र माध्यमिक भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका हुन् । डाँगी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् । ‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्,’ उनले भने, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।’

घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको वि.सं २०३२ मा निधन भएको थियो । त्यसपछि उनी एकलरूपमा घरमा बस्दै आएका थिए । जेठो छोराको पनि निधन भएपछि अहिले डाँगी नातिसँग बस्दै आएका छन् । 

नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ ।  डाँगीले आफू बाँच्दासम्म पढिरहने बताए । ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने, ‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।’

उनी पढ्नमा पनि त्यति कमजोर छैनन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले डाँगीले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए । ‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ’, उनले भने, ‘यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।’ अंग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको शिक्षक शर्माले बताए ।  



डाँगीजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए । ‘उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ’, प्रअ घर्तीले भने, ‘अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।’ 

विद्यालयले डाँगीलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र विद्यालय पोसाक पनि किनिदिने योजना बनाएको उनले बताए । रासस 



  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार ८:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया