logo-img

इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन माग

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।  

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकास मात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पछाडि हट्नुपर्ने माग गरेको छ ।  

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अनस्किल्ड मेनपावरले विदेशमा गएर पठाएको रेमिट्यान्सभन्दा बढी रकम विदेश अध्ययनका क्रममा बाहिरिरहेको बताए । नेपालमा इन्जिनियरिङ र प्राविधिक शिक्षा महँगो भएको र विद्यार्थीको ‘जब सेक्युरिटी’ नभएका कारणले विदेशमा गएर पढ्दै कमाउँदै गर्छु भनेर विद्यार्थीहरू बिदेसिने गरेको उनको भनाइ छ । 

उनले भने,‘सबैभन्दा नेपालको वेस्ट माइन्ड आइओई भनेर हामी मान्छौँ । अनस्किल लेबर खाडीमा पठाएर हामीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रेमिट्यान्सलाई हामीले मान्ने गर्छौ । तर, आज त्यो रेमिटेन्सभन्दा बढी खर्बौँ रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थीहरू विदेशमा अध्ययन गर्न बाध्य छन्,।’  

उनले देशमै बसेर पढ्छु भन्ने विद्यार्थीलाई पनि चर्को शुल्क वृद्धिका कारण नेपालमा बस्ने अवस्था नरहेको दाबी गरे । अध्यक्ष शेर्पाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आइओईका पदाधिकारीहरूले संस्थासँग पैसा छैन भन्ने गरे पनि मिटिङ र सेमिनार भने तारे होटलहरूमा आयोजना गर्ने गरेको आरोप लगाए । 

उनले तीन दिनभित्र शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले भने,‘आइओई र त्रिभुवन विश्वविद्यालयले यो चर्को शुल्क वृद्धि फिर्ता गरेन भने आइओई र त्रिविका पदाधिकारीलाई हामी हिसाब गर्छौँ ।’ 



शुल्क वृद्धि तीन दिनभित्र नटुंगिएको खण्डमा नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको प्राङ्गणमा गएर शुल्क वृद्धिको आन्दोलन टुंग्याउने उनको चेतावनी छ ।  



  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १५:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया