logo-img

सरकारी टोली पूजा सामग्री लिएर बडीमालिका प्रस्थान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । 

हरेक वर्ष साउन शुक्ल चतुर्दशीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थ यात्री त्यसतर्फ लागेका हुन् । बडी मालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू  बडीमालिका जाने गर्छन् । 

खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाका समयमा स्थानीय निकायका उच्चपदस्थ व्यक्तिले यहाँ दर्शन तथा पूजाआरधाना गर्दै आएका छन् । बडीमालिकाको दर्शनले धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रही आएको बडीमालिकाका पुजारी भानुभक्त पाध्यायले बताए । 

उनका अनुसार बडीमालिका बरदायी शक्तिस्वरुपा माता भएकाले देश तथा विदेशबाट  पनि एक पटकका लागि मात्र भए पनि यहाँ आउने गरेका छन् । बडी मालिकामा  बाजुरा, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा लैजाने गरिन्छ । 

सरकारी पूजाका लागि बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेतृत्वको टोली आइतबार बडी मालिकामा प्रस्थान गरेको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधिसमेत सहभागी छन् । हरेक वर्ष जिल्लाका चार शक्तिपीठमा पूजा आराधना गर्ने प्रचलन छ ।

जिल्लाका बडीमालिका, बूढीनन्दा, बडालेख, दुनलेख, सुनन्दालगायत शक्तिपीठमा एकैदिन पूजा लाग्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए । 



उनका अनुसार  धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र आन्तरिक पर्यटक बढाउनका लागि आवश्यक पहल गर्न जरुरी रहेको छ । बडीमालिका र बूढीनन्दालाई राज्यले पर्यटकीय क्षेत्रका रूपमा घोषणा गरेर उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना अघि सार्नुपर्छ । 

बडीमालिका र बूढीनन्दाको तीर्थयात्रा सुरु 



बडीमालिकाको तीर्थयात्रा आजदेखि सुरु भएको छ । शक्ति पीठका रूपमा रहेको बडी मालिकामा बाजुरासहित विभिन्न जिल्लाका तीर्थयात्री यात्रामा यात्रामा सहभागी छन् । पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन बडीमालिकासहित अन्य शक्ति पीठमा एकैसाथ पूजा लाग्ने गर्छ । 

बडीमालिकाको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भएकाले अधिकांश श्रद्धालु भक्तजन बडीमालिकाको दर्शन गर्न आउने गरेको त्यहाँका पुजारी नेत्रप्रसाद पाध्यायले बताए । 

निःसन्तानलाई सन्तान दिने र मागेको बार पूरा हुने भएकाले श्रद्धालु भक्तजनको बडी मालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ छ । बडीमालिकाको पूजाका लागि  डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पूजा बाजुरामा आइपुगेको छ । बाजुरा, डोटी, जुम्ला र कालिकोटबाट ल्याइएको सरकारी पूजा सकेपछि अन्य भक्तजनले दर्शन गर्ने प्रचलन रहिआएको छ । 

बूढीनन्दामा पनि यात्रा सुरु 

जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको बूढीनन्दामा आउने भक्तजनको  तीर्थ यात्रा पनि सुरु भएको छ । बडीमालिकासँगै बूढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ । धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बूढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू छन् । 

बडीमालिका र बूढीनन्दा बहिनी भएकाले उनीहरू दुवैको  चतुर्दशीकै दिन पूजा हुने गरेको हो । यस वर्ष पहिलो पटक बूढीनन्दामा पनि सरकारी पूजा हुने भएको छ ।

चार शक्तिपीठमा एकैसाथ पूजा

जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकैसाथ पूजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेका ती चार शक्तिपीठमा आआफ्नै ठाउँमा पूजा आराधना गरेर मेला भर्ने गरिन्छ । 

बडीमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरूको एकैसाथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडीमालिकालगायत अन्य तीर्थयात्रा गर्न नपाइने धार्मिक मान्यता रहिआएको छ । बडीमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा घरमा घटना हुने वा अन्य कुनै क्षति हुने जनविश्वास रहिआएकाले आ-आफ्नै ठाउँमा पूजा मेला गर्ने गरिएको बताइन्छ ।  

  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १४:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया