logo-img

‘मेडिकलका पाठ्यक्रमभित्रै कला–साहित्य पढाइनु पर्छ’

 ‘मान्छे अस्पतालमा रोग मात्रै लिएर जाँदैन, जीवन बोकेर गएको हुन्छ। भावनात्मक रुपमा धनी चिकित्सक हुनुपर्छ। त्यसैले चिकित्सकलाई साहित्य जरुरी छ।’

यो ‘शून्यको मूल्य’ पुस्तकका लेखक डा. नवराज केसीले ‘चिकित्सकलाई साहित्य किन आवश्यक छ ?’ भन्ने विषयमा भएको कार्यक्रममा दिएको अभिव्यक्ति हो। हाड, छाला र रगत मात्रै पढ्ने र त्यही मात्र सोचिरहने चिकित्सकले साहित्य पढे मात्रै बिरामीसँग भावनात्मक रुपमा जोडिन सक्ने उनको भनाइ थियो। 

उनले साहित्यको आवश्यकता प्रष्ट पार्दै जाजरकोटमा एक शिविरका क्रममा आफूले भोगेको अनुभव सुनाए । ‘एकजना बुढी आमा आउनुभयो। सायद उहाँसँग दुईवटा धोती फरिया मात्रै थिए होला। जसमा एउटाले आफूलाई बेर्नुभएको थियो भने अर्कोमा आफूजत्रै बच्चा, जो कहिल्यै हिँड्न सक्दै,’ उनले भने, ‘उहाँले मलाई चारचोटि भेटिसक्नुभएको रहेछ। भन्नुभयो, तपाईंलाई देख्यो भने डाक्टर भेटेजस्तो लाग्दैन, माइती भेटेजस्तो लाग्छ।’

दृष्य यात्रामा दृष्टि परिसकेपछि कस्तो कार्य गर्यौं त भन्ने थाहा पाइने उल्लेख गर्दै केसीले भने, ‘अस्पतालमा काम गरेको लामो समयपछि बल्ल थाहा भयो, मानिसहरु बिरामी भएर मात्रै अस्पताल नआउँदा रहेछन्। बुढा बा आमाहरु छोराछोरी खोज्दै आउँदा रहेछन्। सानो बच्चाले चिकित्सकमा आफूलाई मनपर्ने मामा, सानिमा पनि देख्दोरहेछ। यो दृष्टि सबै चिकित्सकमा उब्जाउन जरुरी छ। त्यसैले साहित्य हरेक अस्पतालमा जरुरी छ।’

केसीले चिकित्सा पेसामा साहित्यको महत्व थप प्रष्ट पार्दै भने, ‘कसैले मलाई चिकित्सा शास्त्रमा सुधार गर्नुपर्यो भने के गर्छस् भनेर सोध्यो भने सुरुको एक वर्ष विद्यार्थीहरुलाई किताबै छुन दिन्नँ। बिरामीसँग समय बिताऊ भनेर छोडिदिन्छु र बिरामीको अनुहार हेर्न सिकाउँछु।’ 

बिरामीको अनुहार हेरेर रोगको पहिचान हुने, समस्याको पहिचान हुने भन्दै उनले थपे, ‘अनुहारको भावभंगीले नै सिकाउँछ, उसको बिल तिर्ने औकात। जसलाई चिकित्सकले बुझ्न जरुरी छ।’



कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा साहित्यका विभिन्न विधामा हात हालेका डा. भोला रिजालले साहित्य र चिकित्सा सुन्दा फरक सुनिए पनि एकअर्काको परिपूरक रहेको बताए।

उनले भने, ‘एउटाले कला, अध्यात्मको कुरा गर्छ। अर्कोले त्यसको ठीक उल्टो विज्ञानको कुरा गर्छ। तर, दुवै एकअर्काका परिपूरक हुन्, एकविना अर्को अधुरो छ।’ 



रिजालले यदि आफू चिकित्सक नभएको भए साहित्य, कला संगीत र गायनमा परिचय बनाउने बताउँदै भने, ‘म पहिले कलाकार हुँ, अनि बल्ल चिकित्सक ।’

साहित्यिक चेत नभएका चिकित्सक टर्रो हुने भन्दै डा. रिजालले भने, ‘बिरामीको अधिकांश समस्या अनुहारको भावभंगी हेरेरै पहिचान हुने हो, जुन साहित्यिक चेतविना पूरा हुन सक्दैन।’

कार्यक्रममा चिकित्सा र कलाकारिता एकअर्काको परिपूरक भएको यसलाई मेडिकलका पाठ्यक्रममै राख्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार १८:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया