logo-img

भागेश्वर चिनी मिलको लापरबाही : केमिकलयुक्त पानी नालामा मिसाउँदा ५ सय बिघाको बाली सखाप !
परीक्षण गर्ने ल्याबै छैन नेपालमा

लहलहाउँदो पसाउने बेलाको धान पूरै डढेर सखाप छ, एक–डेढ महिनाअघि रोपेको धान अहिले कतै बाँझै छ भने कतै पात रातो–पहेँलो भएका छन् । खेतमा पाइला राख्न सक्ने अवस्था छैन । ढुङढुङती​ गन्ध आउने, त्यहाँको हिलो कतै लागे पूरै चिलाएर घाउ हुने । यस्तै दर्दनाक अवस्थाबाट गुज्रिरहेको छ कञ्चनपुरको पुनर्वास नगरपालिकाको दोदा नदी किनार क्षेत्र ।  

साउन अन्तिम साता ठूलो पानी पर्यो । पानीले पुनर्वास नगरपालिका डुबानमा पर्नुका साथै सयौं खेतीयोग्य जमिन जलमग्न भयो । लगातारको पानीले तीन दिनसम्म पानी कटान हुन सकेन । त्यसपछि एकाएक धान रातो र पहेँलो भएर डढेको पुनर्वास नगरपालिका–५ का स्थानीय किसान विश्वनाथ भट्टराई बताउँछन् । उनले ३० कट्ठामा धान रोपाइँ गरेका थिए । त्यसमध्यको २२ कट्ठामा लगाएको धान सखाप भएको छ भने पानी नजमेको ८ कट्ठामा धान राम्रो छ । धान त्यस्तो भएदेखि उनी एकपटक पनि खेत फर्किएका छैनन् । 

‘धान भए पो खेत जानु ? धान सबै सखाप छ के हेर्नलाई जानु । सम्झँदा मात्र पनि मन भक्कानिएर आउँछ,’ उनी भन्छन् । उनका अनुसार पानी जमेको ठाउँमा धान मात्रै होइन, घाँसपातदेखि माछा–भ्यागुता समेत मरेको छ । पानी जमेको ठाउँमा उखुबाली समेत नष्ट भएका छन् । पानी जमेको ठाउँमा अझै पनि गन्ध आइरहेको छ । 

धान र उखु बाली नष्ट भएसँगै त्यहाँका किसान चिन्तित छन् । उक्त क्षेत्रमा कुनै पनि किसानले बाली बिमा गरेका छैनन् । अब कसरी जिविकोपार्जन गर्ने भन्ने कुराले सताउन थालेको उनको भनाइ छ । विगतमा त्यहाँ एकदमै राम्रो धान उत्पादन हुन्थ्यो । एक बिघामा २२ क्विन्टलसम्म धान उत्पादन हुने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उनी बताउँछन् । ‘अहिले रोपाइँ गर्दा भएको खर्चसमेत नउठ्ने भयो । अब कसरी परिवार पाल्नु ? के खाएर बाँच्नु?,’ उनले प्रश्न गरे । 



साउन अन्तिम साताको बाढीपछि दोदा नदी किनारमा पर्ने पुनर्वास–५ र ७ मा ठूलो मात्रामा धानबालीमा क्षति पुगेको छ । करिब ५ सय बिघा बढी क्षेत्रफलमा धानबाली नष्ट भएको कृषि शाखाको अनुमान छ  । यो क्षेत्रफल अझ बढ्न सक्ने नगरपालिका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले बताए । ‘क्षतिको विवरणझैं यकिन भइसकेको छैन,’ उनी भन्छन्, ‘अझै पनि किसानहरूले क्षतिको विवरण लिएर नगरपालिकामा आइरहेका छन् । अबको एक हप्ताभित्र कति क्षेत्रफलमा कति किसानको बालीमा क्षति पुग्यो भनेर यकिन हुन्छ ।’



नगरपालिकाको वडा ५ को सिमरी, उद्री र रातोखालीमा मात्रै १५७ बिघामा उखु र ३ सय ८८ बिघामा धान नष्ट भएको विवरण प्राप्त भएको उनी बताउँछन् । यस्तै, वडा ७ मा ९८ बिघामा लगाएको धान नष्ट हुँदा ७५ बिघामा लगाएको उखु सखाप भएको छ । साथै नगरपालिकाको २ र ३ वडाबाट पनि तथ्याङ्क संकलन गर्ने काम भइरहेको उनको भनाइ छ । 

स्थानीयले चिनी मिलका कारण बाली नष्ट भएको बताए पनि अहिले नै यही कारणले यस्तो भएको भनेर भन्न सक्ने अवस्था नरहेको प्रमुख साही बताउँछन् । सुगर मिलका सञ्चालक र किसानलाई बोलाएर पनि यस विषयमा छलफल पनि भएको थियो । ‘बाढीले मात्रै यसरी धान सुक्न नपर्ने हो, पोहोर परार पनि यस्तै बाढी आउँथ्यो, त्यतिबेला त सुकेन,’ उनले भने, ‘किसानले केमिकलकै कारण सुकेको भनिरहेका छन्, तर परीक्षण नगरी त्यतिकै यसले हो भनेर भन्न सकिन्न ।’ सुगर मिलभन्दा माथि धान नसुकेको पनि उनको भनाइ छ । 

हाल नमूना परीक्षणका लागि पानी, माटो र धानको नमुना नार्कमा पठाएको दुई साता भए पनि रिपोर्ट आएको छैन । जसका कारण पत्ता लाग्न नसकेको कृषि शाखा प्रमुख शाहीको भनाइ छ । हालसम्म त्यसको रिपोर्ट नआउँदासमेत उपचारमा समस्या भएको छ । ‘धान सुक्न थालेको ४/५ दिन मै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमका प्राविधिक लगाएतले साउन ३१/३२ गते अनुगमन गर्‍याैँ,’ उनले भने, ‘अनुगमनसँगै परीक्षणका लागि पानी, माटो र धानको नमुना पाएका थियौँ । तर, आजसम्म रिपोर्ट आएको छैन ।’ 

रिपोर्ट आए धानको उपचार गर्न सकिने उनको आकलन छ । ‘बाढीले डुबान भएको क्षेत्रको धेरैजसो धान सुकिसकेको छ, कहीँकतै बाँकी भएको पनि कसरी जोगाउने भन्ने छ,’ उनी भन्छन्, ‘रिपोर्ट आए बा बाँकी रहेको धानलाई बचाउन सक्थ्यौँ ।’ 


 
‘भागेश्वर चिनी मिलको चरम लापरबाही’

घटना भएको एक महिना हुन लाग्दासमेत धान सुक्ने कारण पत्ता लागेको छैन । तर, स्थानीयले भने भागेश्वर चिनी मिलको लापरबाहीका कारण सयौँ बिघामा लगाइएको धानखेती नष्ट भएको बताएका छन् । पुनर्वास नगरपालिका–२ दशरथ वस्तीमा रहेको भागेश्वर सुगर मिल एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिको लापरबाहीका कारण बाली सखाप भएको स्थानीय किसान भट्टराई बताउँछन् । 

‘चिनी मिलको लापरबाहिले यस्तो भएको हो,’ उनले भने, ‘चिनी मिल सफा गर्न एसिड जस्तो केमिकल प्रयोग गरिन्छ । त्यो केमिकलयुक्त फोहोर पानी नालामा छोड्दा बाढीले खेतमा पुर्यायो । र, केमिकलले धान र उखु सखाप पार्‍यो ।’ 

यति धेरै क्षति भएको यो पहिलो घटना हो । तीन वर्षदेखि निरन्तर उत्पादनमा भने ह्रास आइरहेको थियो । ‘बाढीले गर्दा बालीमा क्षति भएको होइन,’ भट्टराईले भने, ‘यति धेरै क्षति भएको पहिलो घटना हो । विगतमा कमै क्षति हुन्थ्यो तर, यसपटक बोटै सखाप भएको छ । मिल स्थापना नहुँदा त यस्तो समस्या कहिले देखा परेको थिएन ।’ 

सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको उनी बताउँछन् । ‘यो ठाउँ त जहिल्यै बाढी लाग्ने र डुबान हुने हो,’ भट्टराईले भने, ‘अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेन, अहिले मात्रै कसरी सुक्यो ?’ सुगर मिलबाटै केमिकल बगेर खेतमा पुगेको र त्यसपछि धान र उखु सुकेको उनको दाबी छ ।

सिमरी र उद्रीका स्थानीयले विगतमा पनि पटकपटक सुगर मिलबाट निस्किने फोहोर तथा खेर गएका वस्तु सिमरी नालामा बगाउन बन्द गरिनुपर्ने माग गर्दै आएका थिए । यसले नालामा फोहोर हुनुका साथै विभिन्न रोगलगायत समस्या निम्त्याउने भएकाले स्थानीय तहमा पटकपटक यस विषयमा आवाज उठाएको भट्टराईले बताए । तर सुगर मिल र नगरपालिकाले बेवास्ता गरेको स्थानीयको गुनासो छ । 

परीक्षण गर्ने ल्याब नै भेटिएन

क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमूना संकलन गरी परीक्षणका लागि काठामाडौं पठाएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमले जनाएको छ । तर, नमूना परीक्षणका लागि त्यो खालको ल्याब नै नभएको मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत तथा प्रवक्ता टीकाराम थापा बताउँछन् ।

‘नेपालमा पानीको अरू क्वालिटी नाप्ने ल्याब मात्रै रहेछ,’ प्रवक्ता थापाले भने, ‘कुन केमिकल छ भन्ने परीक्षण गर्ने ल्याब सरकारी मात्रै होइन, प्राइभेटमा पनि पाएका छैनौँ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा पनि उक्त केमिकलयुक्त पानी परीक्षणको ल्याबै नभएको उनले बताए । ‘नेपालकै सबैभन्दा ठूलो  ल्याब भएको नाष्ट नै हो । नमूना संकलन गरेर हामीले नाष्टमा पठाएका थियौँ । तर, उहाँहरूले हामीसँग यो खालको ल्याब छैन भन्नुभयो । प्राइभेटमा पनि खोजी गरिरहेका छौँ । तर, भेटेका छैनौँ,’ प्रवक्ता थापाले भने, ‘नमूना परीक्षण गर्न नसक्दा पनि समस्या पहिचान गर्न सकेका छैनौँ ।’

अब रिपोर्ट आउनेमा पनि शंका लाग्न थालेको उनी बताउँछन् । ‘जति सक्दो चाँडो परीक्षण गर्नु पाएको भए सही रिपोर्ट आउन सक्थ्यो,’ प्रवक्ता थापाले भने, ‘त्यो पानी धेरै समयसम्म राख्दा रिपोर्ट नै नआउने हो कि भन्ने भएको छ ।’ 

यता मन्त्रालयले रिपोर्ट नआए पनि क्षतिको विवरण संकलन भएपछि किसानलाई क्षतिपूर्ति दिने तयारी गरेको छ । ‘पालिका स्तरमा विपद् व्यवस्थापन समिति छ । त्यो समितिमार्फत तथ्याङ्क संकलन गरेर निर्णय गरेर जिल्ला विपद् व्यवस्थापनसमिति मार्फत प्रदेशमा आउँछ । क्षतिको विवरण हेरेर प्रदेशले केही न केही राहत दिने निर्णय गरेका छौँ,’ थापाले भन, ‘क्षतिको विवरण आएपछि राहत प्रक्रिया अघि बढाउँछौँ ।’

के भन्छ चिनी मिल ? 

भागेश्वर सुगरमिलले भने केमिकलयुक्त फोहोरपानी नालामा नबगाएको दाबी गरेको छ  । धान र उखु बालीमा क्षति पुगेपछि पुनर्वासकी कार्यवाहक मेयर भुलियाकुमारी रानाको अध्यक्षतामा चिनी मिलका प्रशासकीय अधिकृत डम्बर खड्कालगायतका किसानबीच चिनी मिलको केमिकलले पुर्‍याएको क्षतिबारे छलफलका साथै क्षेत्र अनुगमन पनि भएको थियो । तर, उद्योग सञ्चालकले केमिकलयुक्त फोहोरपानी बालीमा क्षति नपुगेको बताएको प्रवक्ता थापा बताए ।   

‘किसानको धान र उखु बालि नष्ट भएपछि भागेश्वर सुगर मिलबाट निस्किएको केमिकल खोला मिसाइएको कारण बाली जलेर नष्ट भयको आशंका आम जनसमुदायबाट आएपछि हामीले उक्त क्षेत्रको अनुगमनका साथै मिल सञ्चालकसँग छलफल पनि गरेका थियौँ,’ उनले भने, ‘तर, उनीहरूले अस्वीकार गरे । अब के कारणले हो भनेर नमूना परीक्षणबिना सम्भव छैन ।’ 

छलफलमा उद्योग सञ्चालकहरूले भनेको कुरा फरकधारसँग राख्दै थापाले भने, ‘हाम्रो उद्योगबाट निस्किएको फोहोरपानी यतै व्यवस्थापन हुन्छ । सिमरी खोलामा पुल निर्माण कार्यले लामो समय पानी थुनिएकाले गन्ध आएको र धानखेती नष्ट भएको होला । अहिले मिल बन्द छ, फोहोरपानी आउने कुरै भएन ।’ 

  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १२:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया