logo-img

अष्ट्रेलियाको ल्याट्रब युनिभर्सिटी र सफ्टवेरिका कलेजबीच क्रेडिट ट्रान्सफर सम्झौता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अष्ट्रेलियाको ल्याट्रब युनिभर्सिटी र सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्सबीच क्रेडिट ट्रान्सफर सम्झौता भएको छ । सोमबार डिल्लीबजारस्थित सफ्टवेरिका कलेजमा ल्याट्रब युनिभर्सिटीद्वारा विद्यार्थीमाझ गरिएको अन्तरक्रियात्मक कार्यक्रमबीच उक्त सम्झौता भएको हो ।

उक्त कार्यक्रममा सफ्टवेरिका कलेजका तर्फबाट अध्यक्ष विज्ञान श्रेष्ठ, कलेज प्रमुख प्रमोद पौडेल र ल्याट्रब युनिभर्सिटीका एसोसियट डिन नवीन चिलामकुर्तीलगायतको उपस्थिति थियो । कार्यक्रममा सफ्टवेरिका कलेजका विद्यार्थीहरूको पनि बाक्लै उपस्थिति थियो ।  

सफ्टवेरिका कलेज र ल्याट्रब युनिभर्सिटीबीच भएको सम्झौताअनुसार सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थी डाटा इथिक्स एण्ड प्राइवेसीलगायत कोर्सका लागि सहजै अष्ट्रेलिया जान पाउनेछन् ।

कलेजका अनुसार सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले एक वर्ष नेपालमा पढिसकेपछि अर्को वर्षको अध्ययन क्रेडिट ट्रान्सफरमार्फत अध्ययनका लागि अष्ट्रेलिया जान सक्ने वातावरण कलेजले सिर्जना गरिदिएको छ ।  

कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सफ्वेरिका कलेजमा अध्ययनरत विद्यार्थीलाई अष्ट्रेलिया पढ्न जानका लागि ऐच्छिक बाटो खुलाइएको बताए । 



‘अन्य कोर्षको दाँजोमा डाटा प्राइवेसीमा सफ्टवेरिका कलेजका विद्यार्थीले अष्ट्रेलिया जान चाहेको खण्डमा धेरै सस्तो पर्नेछ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यस कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीले पहिलो वर्ष यहाँ पढेर अष्ट्रेलिया जान्छु भन्नेलाई यस सम्झौताले सहयोग गर्नेछ । त्यसैगरी स्नातक तह पास गरेर अष्ट्रेलिया पढ्न जान्छु भन्दा पनि यस सम्झौतामार्फत विद्यार्थीले सहजै जान पाउनेछन् ।’

यस्तै, ल्याट्रब युनिभर्सिटीका एसोसियट डिन नवीनले कार्यक्रममा डाटा प्राइवेसीसम्बन्धी जानकारी दिएका थिए । उनले कार्यक्रममा विश्वमा डाटा प्राइभेस्सीको महत्व र अवसरका बारेमा छलफल गरेका थिए । ‘सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीका लागि यो सुवर्ण अवसर हो । विश्वमा डाटा प्राइवेसीको एकदमै महत्व छ । यसमा हामीले मिहिनेतका साथ अगाडि बढ्यौं भने अनगिन्ती अवसर पाइन्छन्,’ उनले भने । यसका साथै उनले इन्टरनेट सुरक्षित नरहेको जनाउँदै अबका युवाले यसमा योगदान पुर्याउनुपर्ने औँल्याए । 



डाटा ट्रान्सफरमार्फत ल्याट्रब युनिभर्सिटीमा गएका विद्यार्थीले २० देखि ५० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्तिका लागि विद्यार्थीले परीक्षामा प्राप्त गरेको अंकलाई मान्यता दिइनेछ । ‘विद्यार्थीले जति मिहिनेत गर्नेछन्, सोही अनुरूप उनीहरूले ल्याट्रब युनिभर्सिटीमा पढ्नका लागि छात्रवृत्ति प्राप्त गर्नेछन । त्यसैले विद्यार्थीले पढाइमा मिहिनेत गर्न अत्यन्त आवश्यक छ,’ अध्यक्ष श्रेष्ठले भने ।  

नेपालमा १० वर्षदेखि उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेजले आइटी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको भन्दै डिन नवीनले सो कलेजको प्रशंसा गरेका थिए । 

  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १८:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया